संस्थागत सफलताका लागि यसरी गर्न सकिन्छ प्रभावकारी व्यवस्थापन



सफल, सक्षम र जीवन्त संस्थाका लागि कुशल व्यवस्थापन नेतृत्वदायी तत्व भएकाले यसको महत्व बढ्दै गएको देखिन्छ । यो आफैमा स्वभाविक पनि हो ।

शुरुमा आर्थिक तथा व्यापारिक क्षेत्रमा मात्रै सीमित व्यवस्थापन अब सार्वजनिक, निजी तथा गैरसरकारी हरेक क्षेत्रमा पनि प्राथमिकताको विषय बन्दै गएको छ ।

यसले गर्दा व्यवस्थापनको क्षेत्र बिस्तारित पनि हुँदैछ । रणनीतिक व्यवस्थापनले खासगरी संस्थागत, व्यवसाय तथा व्यवसायिकता र यसको कुशल सञ्चालन रणनीतिलाई आधारभूत र अनिवार्य तत्वको माग गर्छ ।

यी विषयको सन्तुलित संयोजनबाटै कुशल व्यवस्थापन सम्भव छ भन्ने बृहत्तर मान्यता छ । पारिस्थितिक मूल्यांकन, संस्थाको रणनीति निर्माण तथा कार्यान्वयन र मूल्यांकन व्यवस्थापन चक्रका केही आधारभूत तत्वहरु भए पनि अहिलेको व्यवस्थापन केवल यी सैद्दान्तिक आधारले मात्र चल्न सक्दैन ।

रणनीतिक व्यवस्स्थापन एक चलायमान र गतिशील संस्थागत कर्म भएकाले यसका लागि कुनै एक प्राज्ञिक शुत्र र दर्शनले मात्र पूर्ण हुँदैन । न त एक मात्र विशिष्ट सीप पर्याप्त हुन्छ ।

व्यवसायिक क्षेत्रको ज्ञानसँगै सामाजिक बुझाइको दायरा, त्यसलाई सम्बोधन गर्ने सीप र उसको चालयमान निर्णय क्षमता जस्ता व्यवहारिक पक्षहरु पनि व्यवस्थापनको सफलतासँग जोडिन्छन् ।

पछिल्लो समयमा विभिन्न विषयको अध्ययन र व्यवस्थापनलाई समेत पूर्णता र अपूर्णतासँग दाँजेर हेर्न थालिएको छ ।

नेपालको सन्दर्भ
नेपालमा पनि पछिल्ला दिनहरुमा संस्थागत सफलताका लागि व्यवस्थापन प्राथमिताको सवाल बनेको छ । सरकारी, गैरसरकारी र निजी सबै क्षेत्रमा यसले महत्व पाउनुका साथै यसको चर्चा र मूल्यांकन पनि हुन थालेको छ ।

सरकारी क्षेत्रको कुरा गर्दा कुलमान घिसिंङको नेतृत्वमा भएको १८ घण्टाको लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको विद्युत् प्राधिकरणले आर्जन गरेको नाफालाई सफल व्यवस्थापनसँग जोडेर हेरिन्छ ।

त्यसैगरी तिलगंगा आँखा अस्पतालको सफलतालाई सन्दुक रुइतको कुशल व्यवस्थापनले श्रेय पाउँछ । सफल व्यवस्थापनका अरु पनि धेरै यस्ता उदाहरण छन् जो प्राविधिक रुपमा व्यवस्थापन विषय अध्ययन गरेरभन्दा पनि व्यवस्थापन सीप प्रर्दशन गर्दै आफूलाई बजारको आवश्यकता अनुसार प्रस्तुत गरेर संस्थागत सफलता हासिल गरेका होलान् ।

तर यी दुइवटा उदाहरण आम मानिसले बुझ्ने र चर्चामा आएकाले यहाँ उल्लेख गरिएको छ ।

नेपालमा व्यवस्थापनमा अब्बल मानिने निजी क्षेत्रको कुरा गर्दा बैंकिंङ क्षेत्रनै अग्रस्थानमा आउँछ । नेपालमा बैंक तथा वित्तीय क्षेत्रले देखाएको पारदर्शिता, व्यवसायिक सफलता, विकास र उत्तरदायित्व अन्य क्षेत्रका लागि पनि सिक्नलायक छ ।

बैंकिङ क्षेत्रमा भएको यो तीव्र विकासले व्यवस्थापन नेतृत्वका अगाडि धेरै चुनौतीहरु पनि थपिदै गएका छन् ।

विस १९९४ बाट शुरु भएको नेपालको आधुनिक बैंकिंङ क्षेत्र विस २०४० पछि निजी क्षेत्रले पनि लगानी गर्न पाउने नयाँ व्यवस्था भएपछि नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्ता निजी क्षेत्रका बैंकहरु नेपाली बजारमा प्रवेश गरे ।

यी बैंकहरुबाट भित्रिएको व्यवस्थापन नेपालमा हस्तान्तरण भएको दुई तीन दशकमै यो परिपक्क ढंगले नेपालीकरण भयो ।

अहिले बैंकिंङ क्षेत्र व्यापक, प्रतिस्पर्धात्मक र अर्थतन्त्रको महत्वपूर्ण खम्बा बनेको छ । सेवा र पहुँच बढेको छ, निक्षेप बढेको छ, कर्जा प्रवाह बढेको छ । यो सँगै व्यवस्थापकीय सिकाई, अनुभव र चुनौती बढेको छ । यी आयामलाई सम्हाल्नका लागि कुशल, बहुआयामिक र सक्षम व्यवस्थापन नेतृत्वको खाँचो बढेको छ ।

बदलिएको व्यवस्थापन रुप
बैंक लगायत निजी क्षेत्रका सफल व्यवस्थापक चार्टर्ड एकाउन्टेन्ट वा व्यवसाय प्रशासन अध्ययन गरेका व्यक्तिहरु छन् । उनीहरुलाई मानक बनाएर यी विषयले विश्वविद्यालयमा राम्रै बजार पनि पाएका छन् । अहिले यस प्रतिको अध्ययनमा आकर्षण पनि बढेको छ । चार्टर्ड एकाउन्टेन्ट पनि धेरै संख्यामा उत्पादन हुन थालेका छन् ।

यसले गर्दा व्यवस्थापनको प्राविधिक र रणनीतिक पाटोमा सीपयुक्त मानिने चार्टर्ड एकाउन्टेन्ट पढेकाहरु बैंक तथा वित्तिय संस्थामा जुनियर व्यवस्थापन तहमा पनि काम गर्न तयार देखिन्छन् । चार्टर्ड एकाउन्टेन्ट व्यवसायीक कर्म जोडिएको कोर्स हो । यो विषय पढेकामा प्राज्ञिक क्षेत्रको ज्ञान सीमित हुने भएकाले उनीहरु एमबिए जस्ता विषय अध्ययन गर्न थालेका छन् । यो राम्रो पक्ष हो ।

तर सीमित व्यक्तिहरु मात्र चार्टर्ड एकाउन्टेन्ट र एमबिए वा इएमबिए जस्ता कोर्ष गरिरहेका छन् । यसबाट उनीहरुले आफूलाई सक्षम बनाइरहेका छन् । उता एमबिए गरेका जनशक्तिमा प्राज्ञिक ज्ञानको दायरा फराकिलो भए पनि प्रोफेसनल कोर्षमा सीमित गर्ने भएकाले उनीहरुमा चार्टर्ड एकाउन्टेन्टको तुलनामा प्रोफेसनल कोर्षको अध्ययन न्यून हुन्छ ।

चार्टर्ड एकाउन्टेन्टको बढ्दो बजार प्रवेशसँगै उनीहरुको थप अध्ययनले गर्दा एमबिए वा इएमबिए मात्र गरेकाको प्रतिस्पर्धात्मक क्षमता न्यून हुन सक्छ । तर पछिल्लो समयले यो संकेत गरेको छ कि अब व्यवस्थापन न त एमबिए जस्ता प्राज्ञिक अध्ययनले मात्र पूर्ण हुन्छ न त चार्टर्ड एकाउन्टेन्ट जस्तो प्रोफसनल कोर्षले मात्र पूर्ण हुन्छ ।

अब बजारको माग बमोजिमको प्रतिस्पर्धात्मक व्यवस्थापनका लागि चार्टर्ड एकाउन्टेन्ट पढेका र एमबिए जस्ता विश्वविद्यालयस्तरका कोर्ष पढेका सबै व्यवस्थापकका लागि अतिरिक्त अध्ययन आवश्यक छ ।

खासगरी आफ्नो कामको सिसिलामा बारम्बार प्रयोगमा आउँने डिजिटल प्रविधिको ज्ञान, प्रस्तुति कला, संचार सीप, जनसम्पर्क कला, ग्राहक सम्बन्ध रणनीति र कला तथा व्यक्तित्व विकास जस्ता सीप व्यवस्थापकका अनिवार्य सीपको रुपमा स्थापित हुन थाले ।

हिजोको दिनमा यी सीपमा सीमित दक्षताले पनि पुग्थ्यो । तर आज प्रविधिको विकास, प्रविधिमा आधारित माध्यमबाट आम मानिससँगको सम्पर्क, सञ्चार जस्ता गतिविधिले यी सीपहरुको आवश्यकतालाई अनिवार्य बनाइदिएको छ । यहि कुरालाई मध्यनजर गर्दै संसारभरका विभिन्न विश्वविद्यालय देखि तालिम संस्थाले व्यवस्थापनका नयाँ नयाँ तालिम तथा विशिष्ट सीप विकासका कोर्षहरु पनि शुरु गरेका छन् ।

जसलाई आफ्नो आवश्यकता र इच्छा अनुसार छनौट गरी अनलाइन माध्यमबाट पनि अध्ययन गर्न सकिन्छ । यस प्रकारको अध्ययन आजका व्यवस्थापकको आवश्यकता पनि हो ।

अहिले जुन तरिकाले समाजको परिर्वतन, प्रविधि माथिको निर्भरता र आम मानिसको चेतले समाज र बजारलाई प्रभावित गरेको छ, त्यसलाई सम्बोधन गर्न एउटा क्षेत्रको मात्र अध्ययनले सम्भव छैन । यसो भन्नुको अर्थ उनीहरुको पढाइ क्षमता माथिको प्रश्न होइन बरु समय र समाजको आवश्यकता र मागले व्यवस्थापनको परम्परागत अभ्यासमा आएको नयाँ आयाम हो ।

बढ्दो वित्तीय साक्षरता, बैंंकिंग पहुँच, सेवामा प्रतिस्पर्धा, शिक्षा र जनचेतना, प्रविधिमा भएको तीव्र विकास र परिवर्तनले बैंकिङ क्षेत्रको व्यवस्थापन प्राविधिक दायरामा मात्र सीमित रहन सक्दैन ।

खासगरी परिवर्तित सामाजिक गतिविधि, सामाजिक चेत, सामाजिक अन्तरक्रिया जस्ता सवालले बैंकिंग व्यवस्थापनमा सामाजिक सवाल पनि अन्योन्याश्रित बन्न थालेका छन् । त्यसैले अबको व्यवस्थापन समाज विज्ञान, प्रविधि, सामाजिक विविधता र गतिशीलतासँग जोडिनु पर्ने अनिवार्यता बढेको छ । त्यसका लागि विविध अध्ययन र सीप विकासको आवश्यकता बढेको हो ।

खासगरी बढ्दै गएको प्रतिस्पर्धा, आर्थिक सामाजिक क्षेत्रमा आएको बदलाव, नियमक निकायले तोकेको मापदण्डको बढ्दो दायरा, परिवर्तित व्यवसायिक ढाँचा, बढ्दो जनअपेक्षा, ग्राहकको छनौट र मागको सम्बोधन गर्न बहुविषय अध्ययन र सीप आवश्यक भएको हो । यस किसिमले व्यवस्थापनलाई अघि बढाउन व्यवस्थापन क्षेत्रका व्यक्ति र संस्था सबैले यसलाई प्राथमिकतामा राख्न आवश्यक छ । (लेखक सुवेदी नविल बैंकमा कार्यरत छन्)


क्लिकमान्डु