निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको टेवा, कुल व्यवसायमा ३९% हिस्सा



काठमाडौं । निर्जीवन बीमा व्यवसायलाई मोटर बीमाले ठूलो टेवा पुर्याएको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेका कारण निर्जीवन बीमा व्यवसायलाई मोटर बीमाले धान्दै आएको छ ।

सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि मोटर बीमा गरिन्छ ।

सरकारले मोटर बीमाका साथै तेस्रो पक्ष बीमा समेत अनिवार्य गरेको छ ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासको तथ्यांकलाई हेर्दा मोटर बीमाको व्यवसाय धेरै देखिन्छ । यहि तथ्यांकलाई आधार मानेर हेर्ने हो भने पनि मोटर बीमाले नै समग्र निर्जीवन बीमा व्यवसाय धानेको देखिन्छ ।

हाल निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, लघु तथा अन्य विविध बीमालेख बिक्री गर्दै आएका छन् ।

सरकारले नै मोटर बीमालाई अनिवार्य गरेका कारण बीमा कम्पनीहरुको पाेर्टफोलियोमा मोटर बीमाको हिस्सा बढी देखिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

‘नेपालमा बीमा भन्ने बित्तिकै पहिलेदेखि नै मोटर बीमा भनेर बुझिन्छ । मोटर बीमानै बढी छ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘यो अनिवार्य पनि छ ।’

तर, सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरुको आकर्षण बढ्न नसकेको उनको भनाइ छ ।

तथ्यांक हेर्दा कृषि तथा बाली बीमा फस्ट्याउन नसकेको उनी स्वीकर गर्छन् । कृषि बीमामा कृषि प्राविधिकको अभावको कारणले सो बीमा लयमा जान नसकेको पौडेलल बताउँछन् ।

कृषि तथा बाली बीमाका लागि चाहिने कृषि प्राविधिकहरुको सृजना गर्नका लागि कृषि मन्त्रालयसँग समेत समन्वय गरिसकेको उनले बताए ।

साथै, उनले कृषि तथा बाली बीमाको ज्ञान बढाउनका लागि स्थानीय तहमा गएर समेत सचेतनाका कार्यक्रम समेत चलाउँदै आएको उनले बताए ।

मुख्य व्यवसायको क्षेत्र भने मोटर बीमानै देखिन्छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले मोटर बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क उठाएका छन् ।

सरकारले किसानलाई बीमाको दायरामा ल्याउने लक्ष्यका साथ अनुदानको व्यवस्था गर्दै अघि सारेको कृषि तथा बाली बीमामा भने कम्पनीहरुको आकर्षण कम देखिन्छ । यस अवधिमा कुल बीमा व्यवसायमा कृषि तथा बाली बीमाको हिस्सा ३.९१ प्रतिशत मात्रै छ ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा ९ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले यस अवधिमा ७ लाख २२ हजार ६३२ वटा कुल बीमालेख जारी गरी सो बराबरको व्यवसाय गरेका हुन् ।

कम्पनीहरुले मोटर बीमाबाट ३ अर्ब ७४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ४ लाख ६१ हजार ६६४ वटा कुल बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसयामा मोटर बीमाको हिस्सा ३९.४० प्रतिशत छ ।

मोटर बीमापछि कुल बीमामा सम्पत्ति बीमाको हिस्सा धेरै छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २०.७९ प्रतिशत छ ।

यस अवधिमा कम्पनीहरुले एक अर्ब ९ करोड ७४ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् । एक लाख ३२ हजार २०८ वटा सम्पत्ति बीमालेख जारी गरी कम्पनीहरुले सो रकम संकलन गरेका हुन् ।

सम्पत्ति बीमापछि निर्जीवन बीमा व्यवसायमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा धेरै छ । यस अवधिमा कुल बीमा व्यवसायमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १२ प्रतिशत छ ।

यस्तै, यस अवधिमा निर्जीवन बीमाको कुल व्यवसायमा विविध बीमाको हिस्सा ९.५३, सामुन्द्रिक बीमाको हिस्सा ७.८६ प्रतिशत, हवाई बीमाको हिस्सा ६.०४ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ३.९६ प्रतिशत र लघु बीमाको हिस्सा ०ं४३ प्रतिशत छ ।

सात लाख २२ हजार बीमालेख जारी, मोटर बीमालेखको हिस्सा ६३.८९%

चालु आवको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल ७ लाख ७७ हजार ६३२ वटा कुल बीमालेख जारी गरेका छन् ।

कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, लघु तथा अन्य विविध बीमालेख जारी गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै मोटर बीमाका बीमालेख जारी भएका छन् । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले ४ लाख ६१ हजार ६६४ वटा बीमालेख जारी गरेका छन् । कुल बीमालेखमा मोटर बीमाको हिस्सा ६८.८९ प्रतिशत हो ।

यस्तै, कुल जारी बीमालेखमा सम्पत्ति बीमालेखको हिस्सा १८.३० प्रतिशत हुन आउँछ । यस अवधिमा कम्पनीहरुमा एक लाख ३२ हजार २०८ वटा सम्पत्ति बीमालेख जारी भएका छन् ।

यस्तै, यस अवधिमा हवाई बीमालेखको संख्या थोरै छ । कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको अवधिमा २७ वटा मात्रै हवाई बीमालेख बिक्री गरेका छन् ।

४२ हजार ७५५ वटा सामुन्द्रिक बीमालेख, ७ हजार ३५४ वटा इन्जिनियर तथा ठेग्गा जोखिम बीमालेख, २८ हजार २८० वटा कृषि तथा बाली बीमालेख जारी भएका छन् ।

२ अर्ब ५ करोड खुद दाबी भुक्तानी
यस अवधिमा कम्पनीहरुले दुई अर्ब ५ करोड ८० लाख ९० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका छन् ।

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले सबैभन्दा धेरै दावी भुक्तानी एक अर्ब २९ करोड ९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेका छन् ।

तथ्यांकअनुसार सबैभन्दा कम दाबी भुक्तानी हवाई बीमामा भएको देखिन्छ । यस अवधिमा कम्पनीहरुले हवाई बीमामा ३५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन् ।


बिजया बास्कोटा