पैसा बुझाएर धितोपत्र बोर्ड र नेप्सेमा आउने व्यक्तिबाट सेयर बजारको विकास हुँदैन



पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) हो । बजारको विकास बिस्तारका लागि बोर्डले काम गरिरहेको छ । जुन बोर्डको काम पनि हो ।

हाल सेबोन अध्यक्षविहीन अवस्थामा छ । सरकारले अध्यक्ष नियुक्तीका लागि प्रक्रिया अगाडि बढाएको छ । यस्तो अवस्थामा बोर्डको अध्यक्षमा को आउँला भन्ने चर्चा पनि शुरु भइसकेको छ ।

बोर्डको नेतृत्वमा पूँजी बजारको विकास र बिस्तार गर्न सक्ने तथा बजारबारे बुझेको, वित्तीय व्यवस्थाको विषयमा जानकार रहेको व्यक्ति आवश्यक पर्छ । त्यस्तो व्यक्तिले मात्रै बजारको विकास र बिस्तारका लागि बोर्डमा बसेर काम गर्न सक्छ ।

अहिले धितोपत्र बोर्डमा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती हुन लागेको छ । जहाँ राजनीतिक दलका नेताहरुले नेतृत्व चयन गरेर पठाउनेछन् । त्यसरी जाँदा कहाँ कति खर्च गरेर जाने हुन् भन्ने निकै चर्चाको विषय बनेको छ ।

अहिले बोर्डको अध्यक्ष बन्नका लागि ४/५ करोडको कुरा हुने गरेको छ । पैसा खुवाएर कोही नेतृत्वमा जान्छ भने त्यो पैसा उठाउन लाग्छन् ।

बोर्ड वा नेप्सेमा जाने यस्ता नेतृत्वले बोर्डको, नेप्सेको र समग्र पुँजी बजारको विषयमा राम्रो काम गर्दैनन् र गर्न पनि सक्दैनन् ।

अहिले लगानीकर्तालाई चाहिएको नेतृत्व भनेको बजारलाई बुझेको, पुँजी बजारलाई जाने बुझेको, लगानीकर्ताको हितमा काम गर्न सक्नेनै हो ।

नेप्से वा बोर्डमा जो आएपनि त्यो ठाँउ महत्वलाई बुझेको व्यक्ति आउनु पर्छ । त्यसका लागि नेतृत्वमा क्षमता, दक्षता, अनुभव चाहिन्छ । आर्थिक प्रलोभनमा परेर आउने व्यक्तिले कुनै काम गर्न सक्दैन ।

अहिले लगानीकर्ताले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आउने नेतृत्वको लगानीकर्ताको मनोभावना बुझ्ने खालका होस् भन्ने चाहेका छन् । लगानीकर्ताले लामो समयदेखि विभिन्न माग राख्दै आएका छन् ।

लगानीकर्ताले राखेका जायज मागलाई सम्बोधन गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । लगानीकर्तालाई कुनै समस्या परेको छ भने त्यो समस्या समाधान गर्न पहल कदमी लिने नेतृत्व हामीले खोजिरहेका छौं ।

डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नरको संयोजकत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले पुँजी बजारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा गर्नुपर्ने काम भनेर ५२ वटा बुँदामा समेटेको थियो ।

त्यसमा अझै पनि करिब १ दर्जन काम हुन सकेको छैन । त्यो काम पूरा हुने हो भने पुँजी बजार बिस्तार हुन कसैले रोक्न सक्दैन । बजारमा देखिएका ९९ प्रतिशत समस्या त्यो काम गरेपछि समाधान हुने मलाई विश्वास छ ।

सेयर लगानीकर्ताले लामो समयदेखि ब्रोकर कमिसन घटाउने, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनुपर्ने, मार्जिन लेन्डिङ कार्यान्वयन गर्नका लागि माग गरिरहेका छन् । त्यो काम हुन सकेको छैन । त्यो काम गर्न सक्ने क्षमता भएको व्यक्ति धितोपत्र बोर्डमा आश्यक छ ।

धितोपत्र बजारमा समय समयमा विभिन्न समस्या आउने गरेको छ । त्यो समस्या तत्कालै समाधान गर्न सक्ने नेतृत्व आम लगानीकर्ताहरुले खोजिरहेका छन् ।

लगानीकर्ताले आफ्नो जायज माग सम्बोधन गर्नका लागि आन्दोलन गर्नुपर्ने, अनसन बस्नुपर्ने बाध्यता छ । अब आउने नेतृत्व त्यस्तो हु्नुभएन । बजारको विकासलाई होइन, बजारमा भएका विकृती विसंगतिलाई रोक्ने खालको चाहिन्छ ।

सूचीकृत कम्पनीले संस्थागत सुशासन कायम गर्न सकेको छ की छैन ? समयमै साधारणसभा गरेको छ कि छैन ? कम्पनी लगानीकर्ताप्रति कत्तिको उत्तरदायी छ ? कारोबार हुँदा कर्नरिङ भएको छ की छैन ? यस्तो हेर्ने र कमजोरी देखिएको खण्डका कारबाही गर्ने क्षमता भएको व्यक्ति बोर्डमा चाहिन्छ ।

यसअघि बोर्डले ५१ वटा कम्पनीको नाम निकाल्यो । त्यसपछि चुप बस्यो । बोर्डले नाम सार्वजनिक गरेका कम्पनी खराबनै हो भने किन कारबाही गर्न नसकेको ? खराब कम्पनी थिए र कारबाही गरेको हो भने लगानीकर्ता फस्ने नै थिएनन् ।

होइन भने नाम मात्रै किन सार्वजनिक गरेर बसेको ? यस्तो विषयमा हेर्ने काम बोर्डको हो । त्यो हेर्न आउने व्यक्ति पैसा बुझाएर आएपछि कसरी हेर्छन त्यो सबै लगानीकर्ताको चासो छ ।

अहिले त बोर्ड, नेप्सेमा नै सेयर बजार बढेको समयमा त्यसलाई अंकुश लगाउन अघि सर्ने बजार घटेको समयमा कानमा तेल हालेर बस्ने नेतृत्व लगानीकर्ताका लागि चाहिएको छैन । बोर्ड, नेप्सेमा आउनेले आफ्नो दायित्व के हो भनेर बुझ्ने खालको नेतृत्व आवश्यक छ ।

लगानीकर्ताको चाहना बुझ्ने नेतृत्व भनेको दक्ष, अनुभवी, वित्तीय क्षेत्रमा ज्ञान हासिल गरेको हुनैपर्छ । आर्थिक लाभको आधारमा आएकाले त्यो काम गर्न सक्दैनन् । यस्तो नियामक निकायमा आउने व्यक्ति उच्च नैतिक चरित्रको भएको हुनुपर्छ ।

अहिले कुनै निकायबाट रिटायर्ड भएको र त्यो मान्छे कतै काम नलाग्ने भएपछि आर्थिक प्रलोभनमा परेर नियुक्ती गर्ने प्रचलन रहेको छ । अहिले बोर्ड र नेप्सेलाई काँग्रेस र माओवादीका नाममा भाग लगाइएको छ । नियामक निकायलाई सरकार, राजनीतिक दलका नेताहरुले भागबन्डा गर्नु हुँदैन । यो भनेको लगानीकर्ताको सम्पत्ति भागबन्डा गरेजस्तै हो ।

बोर्ड वा नेप्सेमा आउनुभन्दा पहिलेनै भाग लगाएर आउने हो भने त्यस्तो नेतृत्वले कसरी काम गर्ला यसबाट लगानीकर्ताले के अपेक्षा गर्ने भन्ने अहिले सबैको चासोको विषय बनेको छ । किनभने त्यहाँ लाखौ लगानीकर्ताको लगानी भएको छ । आफूले लगानी गरेको क्षेत्रलाई नियमन गर्न आउने व्यक्ति कस्तो आउने हो ? उसले लिने नीति कस्तो हुने हो ? आफ्नो सम्पत्ति डुब्ने पो हो की ? भन्ने चिन्ता सबैमा छ ।

अहिले दैनिक जसो कुनै न कुनै कम्पनीको सेयरमा कर्नरिङ, इन्साइडर टे«डिङ भइरहेको छ । त्यो विषयमा नियामक निकायमा बस्नेले कुनै चासो दिएको छैन । अहिले सेयर लगानीकर्ताहरु अभिभावकबिहीन भएका छन् । लगानीकर्ताले सच्चा इमान्दार अभिभावक खोजिरहेका छन् ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ता करोडपति मात्रै हुँदैनन् । दैनिक मजदुरी गर्नेदेखि करोडपतिसम्म पनि सेयर बजारमा छन् । ती सबै लगानीकर्ताको सम्पत्तिको सुरक्षा आवश्यक छ । त्यसका लागि भागबन्डामा परेको भन्दा पनि दक्ष व्यक्ति ल्याउनुपर्छ । पैसामा बिक्ने खालको व्यक्ति ल्याउने हो भने पूँजी बजारको समस्या समाधान गर्न सक्दैन ।

सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा पनि लिने गरिन्छ । नेपाली पूँजी बजारमा गैर आवासीय नेपाली भित्र्याउने भनेर धेरै वर्षदेखि कुरा मात्रै भएको छ । यो काम अब कार्यान्वयनमा जान आवश्यक छ ।

अहिले बुक बिल्डिङको कुरा आइरहेको छ । साना लगानीकर्ताको हातबाट सेयर बजार फुत्किनु भएन । आइपीओमा मात्रै आवेदन दिने लगानीकर्ता भनेको सामान्य खालका हुन्छन, उनीहरुले पनि सेयरमा लगानी गर्न पाउनुपर्छ । यो सबै काम गर्नका लागि सरकारले लोभमा फसेरभन्दा पनि क्षमता भएको उच्च नैतिकवान भएको व्यक्ति ल्याउनुपर्छ ।

जसले लगानीकर्ताको लगानी सुरक्षित गर्ने व्यक्ति उच्च नैतिकवान भएको हुुनुपर्छ । यसका लागि विज्ञ पनि चाहिन्छ । जसले बजारमैत्री ऐन कानून निर्माण गरोस । यति भयो भने सेयर बजार आफ्नै लयमा जानेछ ।

(पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन्)


क्लिकमान्डु