बीमा कम्पनीले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने, समितिले जारी गर्यो यस्तो निर्देशिका



काठमाडौं । नेपालमा बीमा व्यवसाय गर्न बीमा समितिबाट ईजाजत पत्र प्राप्त बीमा कम्पनीले शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने भएको छ ।

बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई एक पत्रमार्फत् यस्तो निर्देशन दिएको हो ।

अबदेखि कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा गर्न अस्वीकार गरेको खण्डमा मात्रै विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न पाउने छन् ।

समितिले कम्पनीहरुलाई आफूले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने हालको व्यवस्था कायम राख्दै त्यसबाहेक बाँकी हुन आउने पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दिएको हो ।

बीमा ऐन, २०४९ को दफा २८ ले बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बीमा समितिले तोकेबमोजिम गराउनु पर्नेछ भन्ने व्यवस्था छ ।

बीमा नियमावली २०४९ को नियम ६ को उपदफा (१) मा बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिम पुनर्बीमा गराउन सक्नेछ भन्ने व्यवस्था रहेको तथा सोही दफाको उपदफा (२) उपनियम (१) बमोजिम गरी पुनर्बीमा व्यवसायको किसिम तथा अन्य व्यवस्था समितिले तोकिए बमोजिम हुनेछ भन्ने उल्लेख छ ।

सो निर्देशिका बमोजिम स्वदेशी पुनर्बीमकले कुनै पुनर्बीमा गर्न अस्वीकार गरेको खण्डमा मात्रै त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा पुनर्बीमा निर्देशिका, २०७८ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी पुनर्बीमा कम्पनीसँग गर्न पाउने छन् ।

विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने समितिद्वारा जारी निर्देशनमा उल्लेख छ ।

हाल सन्चालनमा रहेका आठ जीवन बीमा कम्पनी बाहेक अन्य सबै बीमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत व्यवसाय दिँदै आएका छन् ।

नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि गरि दुई वटा पुनर्बीमा कम्पनी संचालनमा छन् । हिमालयन रिले भर्खरै सन्चालनको अनुमति पाएको कम्पनी हो ।


क्लिकमान्डु