हिमालयनको निक्षेप साढे १४ अर्बले बढ्दा एनआइसी एशियाको घट्यो



काठमाडौं । कात्तिक महिनामा ब्याजदर युद्धमा होमिएका बैंकहरुमध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकलाई भएको छ । हिमालयन बैंकले संस्थागततर्फ सबैभन्दा धेरै ब्याजदर दिएको थियो ।

जसका कारण कात्तिक महिनामा मात्रै हिमालयन बैंकले १४ अर्ब ६० करोड रुपैयाँले निक्षेप संकलन गरेको छ ।

यता निक्षेपमा व्यक्तिगततर्फ सबैभन्दा बढी ब्याजदर दिएको एनआईसी एशिया बैंकको निक्षेप कात्तिक महिनामा १३ अर्ब ८९ करोडले घटेको छ । विदेशी मुद्रामा रहेका निक्षेप घटेको कारण एनआईसी एशिया बैंकको निक्षेप घटेको देखिएको हो ।

कात्तिक महिनामा वाणिज्य बैंकबाट ३५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप बाहिरिँदा ३६ अर्ब १२ करोड रुपैयाँ कर्जाको माग बढेको छ । कात्तिकमा वाणिज्य बैंकबाट ३५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप बाहिरिँदा ४२ खर्ब ३३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

यस्तै कर्जाको माग ३६ अर्ब १२ करोड रुपैयाँले बढ्दा कर्जा बिस्तार ४० अर्ब ३४ करोड रुपैयाँ छ ।

बैंकमा कर्जाको माग निकै बढ्ने र निक्षेप घट्न थालेपछि बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । कात्तिक मसान्तसम्म बैंकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.१५ प्रतिशत पुगिसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा २०७९ असार मसान्तसम्म ९० प्रतिशतको सीमा कायम गर्नुपर्नेमा सीडी रेसियो अहिलेनै ९० प्रतिशतको सीमा पार गरिसकेको छ ।

सीडी रेसियो बढनुको अर्थ बैंकमा लगानीयोग्य रकम घट्नु हो ।

बैंकर्स संघका अनुसार कात्तिक महिनामा बैंकमा कर्जाको माग जुनरुपमा बढेको छ सोही अनुपातमा निक्षेप संघलन पनि घटिरहेको छ ।

यो महिना सबैभन्दा बढी एनआइसी एशिया बैंकमा निक्षेप १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । त्यसपछि बढी निक्षेप घट्नेमा एनआईसी एशिया पछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक छ । बैंकको निक्षेप १० अर्ब ३४ करोड रुपैयाँले घटेको छ ।

त्यस्तै प्रभु बैंकको ७ अर्ब ४६ करोड, सिटिजन्स बैंकको ६ अर्ब ९ करोड, नेपाल बैंकको ३ अर्ब ९९ करोड रुपैयाँले निक्षेप घटेको छ । यस्तै सनराइज बैंकको ३ अर्ब ७१ करोड, कुमारी बैंकको ३ अर्ब ५१ करोड, कृषि विकास बैंकको २ अर्ब ७० करोड, सिभिल बैंकको २ अर्ब ३८ करोड, सेञ्चुरी बैंकको २ अर्ब ५ करोड, सानिमा बैंकको २ अर्ब ६० करोड, एनसीसी बैंकको १ अर्ब ६७ करोड, नेपाल बंगलादेश बैंकको १ अर्ब २१ करोड रुपैयाँ निक्षेप घटेको छ । यस्तै बैंक अफ काठमाण्डूबाट ७४ करोड, मेगा बैंकको ५० करोड, ग्लोबल आइएमई बैंकको ३३ करोड, नबिल बैंकको ६१ करोड रुपैयाँ निक्षेप घटेको छ ।

संघका अनुसार संस्थागततर्फ हिमालयन बैंकपछि लक्ष्मी बैंकले ४ अर्ब ५७ करोड, माच्छापुच्छे« बैंकले २ अर्ब २० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ६९ करोड, एनएमबी बैंकको ४ अर्ब ८७ करोड, नेपाल एसबीआई बैंकको ३ अर्ब २१ करोड, सिद्धार्थ बैंकको ४१ करोड, स्टयान्डर्ड चार्टर्ड बैंकको ११ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।

एक महिनाको अवधिमा ९ वटा बैंकको कर्जा प्रवाह घटेको छ ।

कात्तिक महिनामा बैंक अफ काठमाण्डूको कर्जा प्रवाह १५ करोड, सेञ्चुरी बैंकको ६९ करोड, सिटिजन्स बैंकको ८१ करोड, एभरेष्ट बैंकको ६९ करोड, मेगा बैंकको ४९ करोड, नबिल बैंकको ९२ करोड, एनसीसी बैंकको ४६ करोड, एनआइसी एशिया बैंकको १ अर्ब २१ करोड र राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५६ करोड रुपैयाँले कर्जा प्रवाहमा कमी आएको छ ।

कात्तिकमा बढी कर्जा प्रवाह गर्ने बैंकमा हिमालयन बैंक रहेको छ । बैंकले ६ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल बैंकले ४ अर्ब ७७ करोड, लक्ष्मी बैंकले ४ अर्ब ४३ करोड, ग्लोबल आइएमई बैंकले ३ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ७० करोड, सानिमा बैंकले २ अर्ब २१ करोड, सनराइन बैंकले ४ अर्ब २ करोड, स्टयान्डर्ड चार्टर्डले २ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु