४ महिनामा डेढ लाख घरजग्गा कारोबार, साढे २ अर्ब छुट



काठमाडौं । कोभिडले गर्दा घरजग्गा कारोबारमा उछाल आएको छ । सामान्य अवस्थाको तुलनामा कोभिडको समयमा ४० प्रतिशतभन्दा बढीले घरजग्गा कारोबार बढेको व्यवसायीले बताएका छन् ।

कोरोनाको समयमा घरजग्गा कारोबार फस्टाउँदै आएकोमा हालसम्म पनि कायमै छ । सामान्य अवस्थामा मासिक ४ अर्बसम्म राजस्व संकलन गर्दैै आएको विभागले अहिले मासिक ७ अर्बभन्दा बढी राजस्व संकलन गर्दै आएका छन् । साथै, मासिक ६० हजारभन्दा बढी घरजग्गा किनबेच हुँदै आएको छ ।

चालु आर्थिक वर्षदेखि कात्तिक मसान्तसम्ममा देशभरका १२६ वटा मालपोत कार्यालयबाट ६ लाख ९६ हजार ८ सय ४३ वटा सेवा प्रवाह भएको छ । देशभरका मालपोत कार्यालयबाट आफ्नो क्षेत्राधिकरभित्र रहेको सम्पूर्ण सेवा प्रवाह गर्दा ४ महिनाको अवधिमा ७ लाखको सेवा प्रवाह हो ।

देशभरबाट करिब ७ लाख घरजग्गाको सेवा प्रवाह हुँदा २ लाख ५४ हजार ८ सय १७ घरजग्गा किनबेच भएको छ ।

चालु आवको पहिलो महिनामा ७५ हजार ४सय १७ वटा, भदौमा ७० हजार ९० वटा, असोजमा ५९ हजार २ सय २७ वटा र कात्तिकमा ५० हजार ८३ घरजग्गाको लिखित पारित भएको छ । असोज र कात्तिकमा चाडपर्वका कारण कारोबार कम भएको विभागको भनाइ छ । यदि उक्त समयमा चाडपर्व नहुने हो भने दुई महिनामा धेरै कारोबार हुने विभागको दाबी छ ।

२९ अर्ब राजश्व संकलन
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा विभागले २९ अर्ब २२ करोड ९९ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त संकलित राजस्व हालसम्मकै उच्च हो ।

विभागले यसअघि ४ महिनामा सो रकम बराबरको राजस्व हालसम्म संकलन गरेको थिएन ।

आर्थिक वर्ष २०७६/७७ मा विभागले २८ अर्ब मात्रै राजस्व संकलन गरेको थियो । तर, कोभिडको समयमा घरजग्गा कारोबारमा व्यापार चम्किएसँगै गत वर्ष ५७ अर्ब बढी राजस्व संकलन गरेको थियो ।
सामान्य अवस्थामा वार्षिक २८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेभन्दा बढी ४ महिनामै संकलन गर्नु सकारात्मक पक्ष रहेको विभागले जनाएको छ । साथै, विभागको कार्य अनलाइनमार्फत् सहज र छिटो सेवा प्रवाह हुँदा बढी कारोबार भई बढी राजस्व संकलन भएको विभागको भनाइ छ ।

करिब साढे १२ अर्ब उपत्यकाबाट मात्रै राजस्व संकलन
विभागले चार महिनाको अवधिमा २९ अर्ब २३ करोड राजस्व संकलन गर्दा उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट मात्रै करिब साढे १२ अर्ब राजस्व संकलन गरेको छ ।

उपत्यकाका लगनखेल ललितपुर, डिल्लिबजार, कलंकी, भक्तपुर, चावहिल, साँखु, मनमैजु र टोखाबाट ४ महिनाको अवधिमा १२ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

जसमा उपत्यकाका मालपोत कार्यालयबाट साउन महिनामा ३ अर्ब २८ करोड १ लाख, भदौमा ३ अर्ब ६२ करोड ७४ लाख, असोजमा ३ अर्ब १७ करोड ४१ लाख रुपैयाँ र कात्तिकमा २ अर्ब ३५ करोड ४७ लाख गरी १२ अर्ब बढी राजस्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

करिब साढे दुई अर्ब छुट
विभागले ४ महिनाको अवधिमा करिब साढे २ अर्ब राजश्व छुट दिएको छ । विभागले ‘प्रदेश आर्थिक ऐन २०७८’ अन्तर्गत कर छुटको व्यवस्थाले विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको छ ।

सरकारले जनआन्दोलन पहिलो, दोस्रो, जनयुद्ध र मधेश आन्दोलनमा सहादत प्राप्त गरेकका सहिदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा मातापितको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा सबै प्रकारको दस्तुर र शुल्क पूर्णरुपमा छुट दिने व्यवस्था छ ।

त्यस्तै, अपाङ्गता भएका व्यक्ति, दलित एवं पिछडिएका तथा अल्पसंङ्ख्यक, सीमान्तकृत, जाति भनी स्थानीय तहबाट भएको सिफरिस वा आधिकारिक प्रमाणका आधारमा तिनिहरूको नामा स्वामित्व प्राप्त गरिने घरजग्गा रजिष्ट्रशन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था छ ।

साथै, महिला, ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारका स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा लगाइएको रेजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत र एकल महिलाको हकमा ३५ प्रतिशत छुटको व्यवस्था छ ।

त्यसैगरी, गाउँपालिका क्षेत्रभित्रको जग्गामा महिलाको नाममा जुनसुकै स्वामित्व प्राप्त हुने गरी लिखत पारित भएकमा ३५ प्रतिशत र रसुवा, धादिङ, सिन्धुपाल्चोक र दोलखाका सिमित गाविसमा महिलाको नाममा जग्गा पास गरेमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

उक्त विभिन्न क्षेत्रका मानिसको हकमा घरजग्गा लिखत पारित भएमा २५ प्रतिशतदेखि ५० प्रतिशसम्म छुटको व्यवस्था छ । जसले गर्दा विभागको ४ महिनाको अवधिमा देशभरको मालपोत कार्यालयबाट २ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ राजस्व छुट भएको छ ।

देशभरका मालपोत कार्यालयबाट साउनमा ६९ करोड २४ लाख, भदौमा ६६ करोड ५६ लाख, असोजमा ६१ करोड ४८ लाख , कात्तिकमा ४६ करोड ६८ लाख रुपैयाँ राजस्व छुट दिएको विभागको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु