ऊर्जाविज्ञ अमृतमान नकर्मीले भने- बिजुली खपत बढाउन प्राधिकरणले मार्केटिङ गर्नुपर्यो



काठमाडौं । उर्जाविज्ञले नेपाल विद्युत् प्राधिकरणले मार्केटिङ गर्न नसक्दा आन्तरिकरुपमा बिजुलीको खपत बढ्न नसकेको टिप्पणी गरेका छन् ।

नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि अध्ययन गर्दै आएका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्यक्ष संस्थानका प्रा. डा. अमृतमान नकर्मीले बिजुली खेर गएको भन्ने मात्रै चर्चा भएको तर खपतको कार्ययोजना ल्याउन नसकेकामा आपत्ति जनाए ।

उनले प्राधिकरणले आफनो सामानको मार्केटिङ गर्न नसकेको बताए ।

‘देशभर नै विद्युतीकरण भएको छैन । दक्षिण एशियामा नेपालको प्रतिव्यक्ति ऊर्जा खपतको अवस्था असाध्यै न्यून छ । तर पनि बिजुली खेर गएको भनेर राइलो गरिएको छ,’ उनले भने ।

उनले प्राधिकरणले प्रभावकारी कार्ययोजना बनाएर अनुदान नै दिन परे पनि तयार भएर बिजुलीको खपत बढाउन लाग्नुपर्ने बताए ।

उनले नर्वेको प्रतिव्यक्ति बिजुली खपत २४ हजार किलोवाट घण्टा रहेको तथ्यांक पेश गरे । भारतमा समेत प्रतिव्यक्ति खपत १००० किलोवाट घण्टा रहेको छ । चीनमा प्रतिव्यक्ति खपत ५००० किलोवाट घण्टा रहेको छ । नेपालको बल्लबल्ल ३०० किलोवाट घण्टा पुग्न लागेको बेलामा नै बिजुली खेर गयो भन्नुको तुक नभएको उनले बताए ।

नेपालका लागि नै सन् २०५० सम्म सबै क्षेत्रलाई पूर्णरुपमा विद्युतीकरण गर्ने हो भने ५० हजार मेगावाट बराबरको बिजुली चाहिने उनले बताए । प्रसारण प्रणालीको विकास र बिस्तार हुने हो भने तत्काल नै ५ देखि ७ हजार मेगावाट बिजुली देशभित्रै खपत हुनसक्ने नकर्मीको भनाइ छ ।

उनले नेपालको उद्योग क्षेत्रमा के कसरी बिजुलीको खपत बढाउन सकिन्छ भनेर प्राधिकरणले नै गराएको अध्ययनको कार्यान्वयन नभएकामा आपत्ति जनाए ।

‘प्राधिकरण आफैले प्रस्ताव गर्यो । हामीले माग्दै गएका पनि थिएनौं । अध्ययनका लागि समझदारी पनि गर्यौ । तर त्यसको बारेमा कुनै सोधखोज हालसम्म भएको छैन ।’

उनले सहरी क्षेत्रमा तत्काल विद्युतीय चुल्होको प्रयोग गर्ने गरी प्रबर्द्धनात्मक कार्यक्रम ल्याउन समेत आग्रह गरे ।

‘लौ नखपत गरिदेऊ भनेको भरमा बिजुलीको खपत बढ्दैन । त्यसका लागि उपभोक्ताले विश्वास गर्नुपर्छ । विश्वास गर्ने वातावरण बनाउनु जरुरी छ,’ उनले भने ।

एक सिलिण्डर एलपी ग्यासको १५७५ रुपैयाँ पर्छ । तर इन्डक्सन चुल्होमा खाना पकाउँदा मासिक ९०० रुपैयाँको हाराहारी मात्रै पर्ने भएकाले त्यसका बारेमा नागरिकलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको उनको भनाइ छ ।

नकर्मीले नेपालको वार्षिकरुपमा बढ्ने कूल ग्राहस्थ उत्पादन (जिडीपी)को तुलनामा १४० प्रतिशत बढी मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भइरहेको र त्यसले प्रकृतिलाई समेत खराब पारिरहेको बताए ।


क्लिकमान्डु