कुमारी बैंकबाट नक्कली लालपूर्जा बनाइ ऋण निकाल्नेविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान शुरु



काठमाडौं । नक्कली लालपूर्जा बनाएर कुमारी बैंकमा जग्गा धितो राखेर ऋण लिएको आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध बैंकिङ कसुर अन्तर्गत अनुसन्धान शुरु भएको छ ।

गायक योगेश्वर अमात्यको बारा विश्रामपुरस्थित विरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिने ५ जनालाई प्रहरीले बैंकिङ कसुर अन्तर्गत अनुसन्धान शुरु गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता श्यामकुमार महतोका अनुसार पक्राउ गरेका राजेश चौरासिया, शेषकुमार महर्जन, कुसन प्रधान, मुक्तिलाल गौतम र बैंकका पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुरलाई बैंकिङ कसुर अन्तर्गत अनुसन्धान शुरु गरिएको हो । उनीहरुलाई थप ४ दिन अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

ब्यूरोले यसअघि लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो । उक्त कसुरमा अनुसन्धान गरिरहेको समयमै बैंकिङ कसुरअन्तर्गत पनि अनुसन्धान शुरु भएको छ । उक्त प्रकरणमा घटनाले केही नयाँ मोड लिने हो की भन्ने आशंका पनि देखिएको ब्यूरोका अर्का एक अधिकारीले बताए ।

ब्यूरोका ती अधिकारीका अनुसार अहिले बैंकका कर्मचारी सोनु ठाकुर पक्राउ गरेका छन् । ती अधिकारीका अनुसार ठाकुर मात्रै नभएर अन्य माथिल्लो तहका कर्मचारीको पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्नता देखिएको छ ।

ठूलो ऋणको विषय भएका कारण कुनै न कुनै रुपमा माथिल्लो तहको संलग्नता देखिने तर ऋण प्रवाहमा सबैको मनसाय कस्तो छ भन्ने विषय अहिले अनुसन्धानको पेचिलो विषय बनेको छ । त्यस विषयमा ब्यूरोले झनै मिहीन ढंगले अनुसन्धान गर्नुपर्ने आवश्यकता ठहर गरेको छ ।

‘अनुसन्धान गहन हुँदै जाँदा बैंकिङ कसुर अन्तर्गतपनि अनुसन्धान गर्दा जाँदा झन राम्रो हुने देखिएका कारण यसतर्फ अनुसन्धान अघि बढेको हो,’ ती अधिकारीले भने, ‘बैंकसँग जोडिएको विषय हो, बैंकको पाटो हेरिएन भने त्यसले अनुसन्धान थप मजबुत नहुने हो की भन्ने लागेर ब्यूरो यसतर्फ लागेको हो ।’

अहिले लिखत सम्बन्धी अनुसन्धान जारी रहेको र बैंकिङ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो ।

सीआईबीले कात्तिक ११ गते ४ जना र राजेश चौरसियालाई कात्तिक २१ गते पक्राउ गरेको थियो ।

स्रोतका ब्यूरोले अनुसार बयानका क्रममा बैंकको उच्च नेतृत्वको पनि संलग्नता रहेको आशंकामा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणी तिमल्सिनालाई बोलाएर कागज गराएको छ ।

अनुसन्धानका लागि आवश्यकताका आधारमा अन्य व्यक्तिलाई पनि बोलाउने क्रममा छन् । अहिलेसम्म अभियुक्तहरुसँग पनि लिएको बयानको क्रममा कीर्ते भएको स्वीकारेका छन् ।

प्रहरीका अनुसार शेषकुमार महर्जन र मुक्तिलाल गौतमले कुसन प्रधानसँग पैसा लिनुपर्ने थियो । त्यो लिन खोज्दा कुसनले उक्त जग्गाको लालपुर्जा दिएका थिए । आफ्नो जग्गा बैंकमा राखेर अरुले नै १९ करोड रुपैयाँ लिएको अमात्यले भदौमा मात्रै थाहा पाएको प्रारम्भिक बयानबाट पत्ता लागेको छ ।

यो विषयमा नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान शुरु गरेको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार राष्ट्र बैंकले स्थलगत निरीक्षण शुरु गरिसकेको छ ।

घटनाको निरीक्षणका लागि गएको समूहले अझैं अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि प्रतिवेदनको आधारमा घट्नाक्रमलाई हेरेर बाफियाअनुसार कारबाही गर्ने हो वा होइन, बैंकिङ कसुर आकर्षिक हुने हो की भन्ने थाहा हुने छ ।


क्लिकमान्डु