नेपाल टेलिकमको वित्तीय अवस्थामा सुधार, खुद मुनाफा ५०%ले वृद्धि



काठमाडौं । कोरोना संकटले टेलिकम क्षेत्रको आम्दानीमा ह्रास ल्याइरहेको बेला मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको पछिल्लो वित्तीय विवरण भने आशा लाग्दो आएको छ ।

नेपाल टेलिकमले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिकको वित्तीय विवरणमा अधिकांस सूचकांकहरु सकारात्मक देखिएका छन् ।

यस अवधिमा नेपाल टेलिकमको खुद मुनाफा ४९.९० प्रतिशतले वृद्धि हुँदै २ अर्व २५ करोड ९९ लाख ४ हजार पुगेको छ । गत आवको प्रथम त्रैमासिक अवधिमा यस्तो मुनाफा १ अर्व ५१ करोड ७७ लाख ६९ हजार रहेको थियो । यस वर्ष ७४ करोड २१ लाख ३४ हजारलले वृद्धि गरेको हो ।

योसँगै नेपाल टेलिकमको अन्तिम लेखापरीक्षण पश्चात्को कुल आयमा वृद्धि भएको छ । यसवर्ष ८४ करोड ७८ लाख ७१ हजार अर्थात् ८.३९ प्रतिशत ले वृद्धि गर्दै १० अर्व ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको यस्तो आय १० अर्व १० करोड ४४ लाख ७५ हजार थियो ।

त्यस्तै, गत आर्थिक वर्षको प्रथम त्रैमासिक कम्पनीको सञ्चालन आय ८ अर्व ६२ करोड ८४ लाख ३४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधिमा ९ अर्व ६७ करोड ७३ लाख ३८ हजारमा पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२.१६ प्रतिशतले अर्थात् १ अर्व ४ करोड ८९ लाख ४ हजारले वृद्धि भएको हो ।

कम्पनीको इबीआइटीडीए गत आवको प्रथम त्रैमासिकअवधि ३ अर्व ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आवको सोहि अवधिमा ८४ करोड ४९ लाख ५७ हजार अर्थात २१.२८ प्रतिशतले वृद्धि भई ४ अर्व ८१ करोड ५४ लाख ४८ हजार पुगेको छ ।

पछिल्लो समय फोरजी, थ्रिजी र टुजीको विस्तारले मोवाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिमा वृद्धि हुँदा आम्दानीमा सुधार आएको टेलिकमले जनाएको छ ।

कम्पनीको एफटीटीएचको बिस्तार पनि बढ्दो छ । यसले गर्दा इन्टरनेट सेवा तथा टेलिफोन, आइपीटीभीका ग्राहकहरु बृद्दि हुन गई उक्त फिक्स्ड नेटवर्कको आयमा समेत सकारात्मक प्रभाव परेको हो ।

कोभिड १९ को महामारीलाई लक्षित गरी उपलब्ध गराइएका डेटा प्याकेजले पनि कम्पनीको सेवामा ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ ।

विश्वव्यापी रुपमा लगाइएको कोरोना खोप र अन्तर्राष्ट्रिय यात्रा सहज भएसँगै अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोसल नेटवर्किङ, इन्टरनेटमा आधारित मनोरञ्जन आदिमा भएको वृद्धिको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा सुधार आएको जनाएको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा भ्वाइसमा ७ प्रतिशत, डेटामा १५ प्रतिशत र एसएमएसमा ३३५ प्रतिशतले वृद्धि भएको टेलिकमको भनाइ छ ।

यति हुदाहुँदै पनि ओटीटीको प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेको जनाएको छ ।


क्लिकमान्डु