एकल अंकमा ब्याजदर राख्न सहमति जुटेन, १०.०५% मा बैंकले निक्षेप उठाउने



काठमाडौं । वाणिज्य बैंकहरुबीच एकल अंकमा ब्याजदर राख्न सहमति जुट्न नसकेपछि १०.०५ प्रतिशत ब्याजदरमा निक्षेपको ब्याजदर उठाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार औसतमा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १०.०५ प्रतिशत ब्याजदरसम्म एकवर्षे मुद्दती निक्षेपको ब्याजदर उठाउन पाउने थिए । राष्ट्र बैंकको आशय एकवर्षे मुद्दति निक्षेप दोहोरो अंकमा नपुगोस भन्ने आशय थियो ।


नेपाल बैकर्स संघको बैठक बसेर ब्याजदरको बारेमा निर्णय गर्नुपर्ने केही बैंकरले बताएपनि समय अभावको कारण बैठक बसेन । बैकर्स संघको भाइबर ग्रुपमा ब्याजदर के गर्ने भन्ने विषयमा लामो समय नै छलफल भयो ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले १०.०५ प्रतिशत ब्याजदरमा निक्षेप उठाएर लागत मात्र बढ्ने र निक्षेप नआउने भएको हुँदा अहिलेको ब्याजदर नै कायम गर्नुपर्ने धारणा भाइबर ग्रुपमा राखेका थिए । सिनियर बैंकर बज्राचार्यले राखेको धारणमा माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालाले बज्रचार्यको कुरामा सहमति जनाएका थिए ।

एनआईसी एशिया बैंकका सीइओ रोशन न्यौपाने जुन दर राखेपनि सहमतिमा राख्नुपर्ने धारणा राखेका थिए । ब्याजदरलाई दोहोरो अंकमा पुर्याउन नहुँने धारणा बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालको पनि थियो ।

तर,बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायले एकल अंकमा नराख्ने र राष्ट्र बैंकले बढाउन सक्ने दिएको अधिकार अनुसार नै ब्याजदर बढाउनुपर्ने धारणा राखे ।

ब्याजदर बढाउन नहुँने धारणा राखेका बैंकरहरुले १०.०५ प्रतिशत ब्याजदर दिएर निक्षेप नबढ्ने खाली लागतमात्र बढ्ने हुँदा यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । ‘स्वतन्त्र रुपमा धेरै ब्याजदर बढाउन नपाइने भएपछि लागतमात्र बढाउनको लागि दोहोरो अंकमा ब्याजदर पुर्याउन हुन्न भन्ने हाम्रो धारणा थियो,यो विषय नमानेपछि ब्याजदर १०.०५ प्रतिशत पुग्ने भयो,’एक बैंकका सीइओले भने ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरुले मुद्दति निक्षेपमा मंसिर महिनामा १०.०५ प्रतिशतमात्र ब्याजदर लिन पाउछन् । बैंकहरुले मंगलबार पत्रिकामा ब्याजदरको बारेमा सूचना प्रकाशित गर्नुपर्छ । क्लिकमाण्डूले सम्पर्क गरेका आधा दर्जनभन्दा बढी बैंकका सीइओले एकवर्ष मुद्दति निक्षेपको १०.०५ प्रतिशत तथा बचतको ५.०५ प्रतिशत ब्याजदर राखेर सूचना प्रकाशित गर्ने गरेको जानकारी दिए ।

संघमा सहमति नभएपछि सीइओहरुले एक आपसमा कुरा गरेर १०.०५ प्रतिशत ब्याजदरमा व्यक्तिगत तर्फको एकवर्षको मुद्दति निक्षेपमा ब्याजदर लिने निर्णय भएको एक सीइओले बताए ।


क्लिकमान्डु