बैंकबाट ऋण लिन निक्षेप खोजिदिनु पर्ने, जलविद्युत् उत्पादकले प्रतिबद्धताअनुसार पाएनन् ऋण



काठमाडौं । बैंकबाट ऋण लिनका लागि निक्षेप खोजिदिनुपर्ने बाध्यता व्यवसायीलाई पर्न थालेका छन् ।

ठूला व्यवसायीलाई ऋण लिन कुनै समस्या नभएपनि साना तथा मझौला व्यवसायी ऋण लिनको लागि समस्या हुन थालेको छ ।

बैंकहरुमा अहिले ऋण दिने पैसाको अभाव छ । राष्ट्र बैंकको निर्देशनले नयाँ निक्षेप तान्ने अवस्था छैन ।

अत्यधिक आयातका कारण विदेशी सञ्चिती घट्दै गएको छ । रेमिट्यान्स नबढेको तथा आयातको माग बढी भएको हुँदा बैंकमा तरलता सहज हुने स्थिती छैन ।

बैंकबाट ऋण लिनका लागि शाखा प्रबन्धकले निक्षेप खोज्नुपर्ने सो भएमा ऋण पास छिटो हुने बताए राखेको एक व्यवसायीले बताए ।

‘एउटा परियोजनाका लागि ऋण प्रस्ताव पेश गर्दा शाखा प्रबन्धकबाट निक्षेप खोज्न सहयोग गर्ने प्रस्ताव आयो, निक्षेप खोजिदएमा ऋण पास हुने अन्यथा ऋण नै नपाउन नसक्ने कुरा गरे,’ ती व्यवसायीले भने ।

ऋण दिने रकमको अभाव भएपछि अहिले बैंकहरुले कार्यरत सबै कर्मचारीलाई निक्षेप बढाउनका लागि टार्गेट दिएका छन् ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बैंकहरु अहिले ऋण दिन नसक्ने स्थितीमा पुगेको बताउँछन् ।

‘बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा कटेको स्थिती छ, यस्तो अवस्थामा ऋण माग्ने ग्राहकसँग डिपोजिटको डिमाण्ड गरेको हुनसक्छ,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

अहिले ऋणका लागि ठूला व्यवसायीलाई भने अझै समस्या आएको छैन । ठूला व्यवसायीले स्वीकृत गराएको ओभरड्राफ्टको लिमिट पूर्णरुपमा अहिले चलाएको हुँदा समस्या देखिएको छैन । तर, आगामी महिनादेखि यस्तै अवस्था रहेमा ठूला व्यवसायीले समेत ऋण पाउन नसक्ने बैंकरहरु बताउँछन् ।

ठूला व्यवसायीले मात्र ऋण पाएपछि गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ठूला व्यवसायीलाई दिने ऋण रोकेर साना व्यवसायीलाई दिन भनेका थिए ।

२७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर अर्थमन्त्री शर्माले अहिलेको अवस्थामा साना तथा मझौला खाले ऋणलाई प्राथमिकता दिन भनेका थिए । अर्थमन्त्रीले साना तथा मझौलालाई ऋण दिन भनेपनि ऋण दिने नै अवस्था नरहेको बैंकरहरु बताउँछन् ।

अहिले जलविद्युत् आयोजनाले स्वीकृत गरेको ऋण पाउन नसक्ने स्थिती देखिएको छ । यस्तै पुरानो स्वीकृत भएको ऋण प्रवाह गर्नका लागि बैंकरले ढिला गर्न थालेका छन् ।

‘पहिला स्वीकृत भएको ऋण समेत अहिले नपाउने स्थिती आएको छ, काम भएको रकमको भुक्तानी दिन समेत नसक्ने स्थिती आउने सम्भावना छ,’ एक जलविद्युत् प्रवद्र्धकले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुसँग ४२ खर्ब २५ अर्ब निक्षेप छ । यस्तै कर्जा ४० अर्ब ३० अर्ब छ । सीडी रेसियो ८९.९५ प्रतिशत छ । बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोबार ४.९७ प्रतिशतमा भएको छ ।


क्लिकमान्डु