बैंकलाई ब्रोकर लाइसेन्स दिने र ब्रोकर पब्लिकमा जाने नियमावली फिर्ता



काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७८ धितोपत्र बोर्डलाई नै फिर्ता गरेको छ ।

उक्त नियमावलीको मस्यौदामा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, आधिकारीक प्रतिनिधि राख्ने, धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीलाई पब्लिकमा लैजाने विषय समावेश गरिएको थियो । उक्त मस्यौदा समावेश रहेको नियमावली अर्थमन्त्रालयले फिर्ता पठाएको हो ।

उक्त नियमावली समय सापेक्ष नभएको र त्यसमा भएका मस्यौदाले पुँजी बजारलाई विकास र बिस्तार गर्न नसक्ने, नियमावलीको मस्यौदामा केही स्वार्थ देखिएको भन्दै फिर्ता पठाइएको अर्थ स्रोतको भनाइ छ ।

बोर्डले साउनमा मन्त्रालयमा पठाएको उक्त मस्यौदा करिब १ महिनाअघि धितोपत्र बोर्डमा नै फिर्ता भएको हो ।

मन्त्रालयमा पुगेको उक्त नियमावली पास भएर आएपछि कार्यान्वयनमा लैजान बोर्ड तयारीमा लागेको थियो । तर मन्त्रालयबाट उक्त विनियमावली पास नभएपनि पुनः त्यसलाई संशोधन गरेर समय सापेक्ष र स्वार्थ नबाझिने खालको बनाउनुपर्ने भएको छ ।

मस्यौदामा ब्रोकर कम्पनी ३ देखि ५ वर्षभित्र पब्लिकमा जानुपर्ने व्यवस्था गरेको रहेको थियो । अहिले कुनै पनि कम्पनी पब्लिकमा गएपछि आइपीओ जारी गर्छन् भन्ने मान्यता लगानीकर्तामा छ ।

तर ब्रोकरहरुलाई त्यो बाध्यकारी व्यवस्था भने गरिएको छैन । कुनै ब्रोकरले आइपीओ निष्कासन गर्न चाहेको खण्डमा पाउने छ । तर बाध्यकारी भने गरिएको छैन ।

ब्रोकर पब्लिकमा जानुपर्ने भएपछि कम्पनीको चुक्ता पुँजी न्यूनतम पुँजी १० करोड र १ अर्ब राख्ने प्रस्ताव रहेको थियो ।

जसमा ब्रोकरको काम गर्ने र डिलरका काम गर्नेका लागि छुट्टाछुट्टै पुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । करिब २१ अर्ब कारोबार भएको बजारमा अहिलेको पुँजीले ब्रोकर चल्ने नसक्ने भन्दै पुँजी बढाउने तयारी भएको हो ।

बोर्डका एक अधिकारीका अनुसार यसअघिका अध्यक्षले बनाएको उक्त विनियमावली अबको दिनमा धेरै प्रभावकारी नदेखिने भएका कारण पनि त्यसलाई थप संशोधन आवश्यक ठानिएको हो ।

यो नीतिगत व्यवस्था भएका कारण उक्त नियमावलीमा केही कुरा अपुग देखिएको छ । समावेश भएका विषयपनि केही स्वार्थ अनुसार आएको देखिएको छ ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने, प्रदेशमा ब्रोकर लाइसेन्स दिने लगायतका विषयमा अब नयाँ ढंगले सोच्न आवश्यक रहेको छ, सोही अनुसार नयाँ नेतृत्वले नै उक्त नियमावली बनाउने छ ।

अहिले बजार अनलाइनमैत्री भयो भनेर बस्नुभन्दा पनि ब्रोकरलाई स्थानीय तहमा लैजाने हो भने बजार बिस्तारमा सहयोग पुग्ने बोर्डको तर्क छ ।


क्लिकमान्डु