होङ्शीमा बिजुली पुग्दा २ अर्ब विदेशीनबाट बच्यो, सबै उद्योगमा पुगे ३० अर्ब बच्ने



काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणले होङ्शी सिमेन्ट बिजुली पुर्याएको छ । बिद्युत् नपुग्दा डिजल खपत गर्दै आएको उद्योगमा अब बिजुलीको खपत हुनेछ । जसका कारण २ अर्ब व्यापारघाटा कम हुने भएको छ ।

नेपाल बिद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत् होङ्शी सिमेन्टमा बिजुली पुर्याएको हो ।

होङ्शीले ३० मेगावाट बिद्युत् खपत गर्नेछ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट बिद्युत आवश्यक छ ।

प्राधिकरणले बिजुली पुर्याउन नसक्दा उद्योगले दिनमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको थियो । यसरी हेर्दा होङ्शीमा पुगेको बिजुलीले करिब २ अर्ब रुपैयाँ व्यापारघाटा कम गर्न मद्दत गर्नेछ ।

प्राधिकरणले बिजुली उत्पादन बढी भएको भन्दै भारततर्फ निकासी गर्न खोजेको छ । जबकी उद्योगहरुले मागअनुसारनै बिजुली नपाएको अवस्था छ ।

माग अनुसारको बिजुली नपाएका कारण उद्योगमा डिजलको खपत अत्यधिक छ । बुटवल भैरहवा तथा नवलपरासी क्षेत्रका उद्योगले मात्र अहिले २ सय मेगावाट बिजुली खपत गर्न सक्ने स्थिती छ ।

बुटवल–भैरहवा क्षेत्रमा पनि प्रसारण लाइनको अभावमा प्राधिकरणले माग अनुसारको बिजुली दिन सकेको छैन । यस्तै अवस्था बिराटनगर क्षेत्रका उद्योगीको पनि छ ।

प्राधिकरणले माग अनुसारको बिजुली दिएमा उद्योगमा नै करिब ५ सय मेगावाट बिद्युत् खतप हुने स्थिती छ । जसमा साढे २ सय मेगावाट बिजुली उद्योगहरुले डिजेल चलाएर निकालेका छन् ।

प्राधिकरणले माग अनुसारको बिजुली दिएमा ३० अर्बजति व्यापारघाटा घटाउन मद्दत पुग्नेछ ।

प्रसारण लाइन बन्न नसक्दा उद्योगमा बिजुली पुगेको छैन । होङ्शी सिमेन्टपनि सञ्चालनमा आएको ४ वर्षपछि मात्र प्राधिकरणले बिजुली पुर्याउन सफल भएको हो ।

उद्योगी पशुपति मुरारका प्राधिकरणले सहजरुपमा गुणस्तरको बिजुली दिन सकेमा उद्योगहरुले डिजेल चलाउनु नपर्ने यसको फाइदा अर्थतन्त्रमा हुने बताउँछन् ।

‘पहिलेभन्दा बिद्युत् आपूर्ति प्रणालीमा सुधार भने भएको छ, प्राधिकरणले अझै सुधार गरेमा उद्योगहरु थप क्षमतामा चल्ने र यसले डिजेल आयात रोकिने तथा उत्पादन बढ्ने हुन्छ,’ मुरारकाले भने ।

खास गरी ठूला स्टील उद्योगलाई प्राधिकरणले अझैपनि माग अनुसारको बिजुली दिन सकेको छैन ।

सरकारले पछिल्लो समय स्पञ्च आइरनबाट बिलेट बनाउन प्रोत्साहन गर्ने नीति लिएको छ । यसको लागि उद्योगको लागि विजुली बढी चाहिन्छ । बिलेट आयात गरेर डण्डी बनाएका कतिपय उद्योगले बिलेट उत्पादन गर्नको लागि विजुलीलाई प्रमुख समस्याको रुपमा राखेका छन् ।

डण्डी र सिमेन्ट उत्पादनमा प्रमुख लगानी रहेको औद्योगिक घराना सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने अहिले साढे २ सय मेगावाट बिजुली उद्योगहरुले डिजेल चलाएर निकालेको बताउँछन् ।

‘उद्योगीले ५ सय मेगावाट जति बिजुलीको माग गरेपनि तत्काल खपत हुन सक्ने साढे २ सय मेगावाट हो,’ न्यौपानले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले डिजेलबाट बिजुली उत्पादन गर्न नपर्ने अवस्था सिर्जना गरेमा ३० अर्बजति व्यापारघाटा कम हुने विश्लेषण न्यौपानेको छ ।

अहिले उद्योगहरुले साढे ७ लाख लिटर डिजल दैनिकरुपमा उद्योग सञ्चालन गर्नका लागि खपत गर्दै आएका छन् ।

उद्योगी न्यौपाने आफ्नो सुनवलमा रहेको लक्ष्मी र सर्वोत्तम सिमेन्टका लागि मात्रै ६० मेगावाट माग गरेपनि सो अनुसार बिजुली नपाएको बताए ।

‘सिमेन्ट र स्टील उत्पादन गर्ने उद्योगले माग अनुसार बिजुली पाएका छैनन्, मागअनुसार गुणस्तरको बिजुली दिएमा हाम्रो उत्पादन बढ्ने थियो र डिजेल आयातको लागि विदेश जाने पैसा रोकिने थियो,’ न्यौपानेले थपे ।

उद्योगीहरुले १ लिटर डिजेलबाट ४ युनिट विजुली उत्पादन गर्छन् ।


क्लिकमान्डु