१६ दिनपछि नागढुङ्गाको सुरुङ खन्न थालियो



काठमाडौं । ट्रकको ठक्करबाट कामदारले ज्यान गुमाएपछि बन्द भएको नागढुंगाको सुरुङ खान्ने काम शुक्रबारबाट फेरि शुरु भएको छ ।

आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार दुर्घटनापछि नागढुंगा–नौबीसे सुरुङमार्गको काम ठप्प भएकोमा कात्तिक २६ गतेदेखि सुरुङ खन्न थालिएको हो ।

आयोजनामा सिफ्ट चेञ्ज हुने समयमा कामदमरहरु सुरुङबाट बाहिर निस्कने बेला गत कात्तिक ११ गते माटो फ्याकेर फर्कदै गरेको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट धादिङको धुनेबेंसी–९ का २८ वर्षिय ओमकृष्ण पाण्डेको उपचारका लागि अस्पताल लाने क्रममा ज्यान गएको थियो ।

त्यस दिनदेखि रोकिएको काम शुक्रबारदेखि शुरु भएको निर्देशक शाक्यले जानकारी दिए ।

‘सेफ्टी अडिटको काम सकिएको छ । काम शुक्रबार बाट पूर्णरुपमा शुरु भएको छ,’ शाक्यले भने ।

निर्देशक शाक्यका अनुसार सुरुङ खान्ने काम ठप्प भएपनि बाहिरको काम तिहार लगत्तै काम शुरु भएको छ ।

‘फुलफ्लेजमा काम हुन भने केही समय लाग्न सक्छ । तर, हाल सबै कामदार घरबाट फर्केर काम गर्न थालिसकेका छन्,’ निर्देशक शाक्यले भने, ‘सुरुङ खन्ने काम ४ वटा सिफ्टमा हुन्छ । एउटा सिफ्टमा २० जनाका दरले दिनमा ८० जनाले सुरुङ खन्ने काम गरिरहेका छन् ।’

निर्देशक शाक्यले भने अनुसार शुरुमा सेफ्टी चेक गर्ने काम गरिन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सबै काम गर्ने गरी काम शुरु गरिएको हो ।

‘जबसम्म कन्ट्रयाक्टरले यस्तो घटना फेरि दोहारिन भनेर सम्झौता नगरेसम्म अन्तर्राष्ट्रिय मापदण्डले काम गर्न दिदैन,’ शाक्यले भने, ‘कन्ट्रयाक्टरले साइट सबै यसरी सुधार गर्छु भन्ने सम्झौतासहितको पेपर दिएपछि काम शुरु गरिएको हो ।’

दुर्घटनामा परी ज्यान गुमाएका कामदरका घरपरिवारलाई क्षतिपूर्तिसमेत दिएको शाक्यले बताए । यस घटना भए पश्चात सुरुङ खन्ने काम ठप्प हुँदा दैनिक १२ मिटर सुरुङ खन्ने गरिएकोमा यस अवधिमा झण्डै १९२ मिटरको काम ठप्प भएको शाक्यको भनाइ छ ।

जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको नागढुंगा–नौबिसे सुरुङमार्ग नेपालका लागि सुरुङमार्गको युगमा प्रवेश गर्ने ठूलो परियोजना हो ।

यसका लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी आयोजनाले काम गर्दै आएको छ ।


क्लिकमान्डु