सेबोन अध्यक्षका दाबेदारहरु को कुन पार्टी निकट ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलमा आबद्ध १२ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमध्ये सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) तथा राप्रपा नेपाल र नेकपा एमाले समर्थिक एक दर्जन व्यक्तिले आवेदन दिएका छन् ।

अर्थमन्त्रालयका अनुसार आवेदन दिनेमा सहकारी बोर्डको सहकारी विकास कोष (लगानी तथा असुली) महाशाख तथा सञ्चार विभागका अधिकृत अनिल पौडेल, नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका छन् ।

त्यस्तै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वमहाप्रबन्धक सिताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाई, सेयर बजारका जानकार डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र हेमन्त बस्यालले आवेदन दिएका छन् ।

आवेदन दिनेमा विभिन्न राजनीतिक दलका नेता निकट व्यक्ति छन् । धितोपत्र बोर्ड र नेप्सेको लागि सत्ता साझेदार नेपाली काँग्रेस र माओवादीले बाँडफाँट गरेका छन् । अहिलेसम्म बोर्ड काँग्रेस र नेप्से माओवादीको भागमा परेको छ ।

अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) लाई नियुक्तिका लागि कतैपनि भाग परेको छैन । यसका लागि पार्टी अध्यक्ष माधव कुमार नेपालले मेहनत गरेको खण्डमा बोर्डमा अध्यक्ष पाउने सम्भावना रहेको जानकारहरुको भनाइ छ ।

अध्यक्ष नेपालले चाहेको खण्डमा आइक्यानका पूर्वअध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण प्रसाद आचार्यको सम्भावना पनि छ । आचार्य बोर्डका पूर्वसञ्चालक पनि हो ।

बोर्डमा आवेदन दिनेमा अम्बिका शर्मा लामिछाने नेपाली काँग्रेस निकट हुन् । उनी प्रभु बैंकको पूर्वसञ्चालक समेत हुन् । शर्मालाई अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको श्रीमति आरजु राणा देउवा र प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचनको साथ रहेको बताइन्छ ।

त्यस्तै अनिल पौडेल पनि नेपाली काँग्रेस निकट व्यक्ति हुन् । उनलाई काँग्रेस नेता रामचन्द्र पौडेलको साथ रहेको बताइन्छ ।

काँग्रेसका अर्का उमेद्वार बोर्डका कार्यकारी निर्देशन निरज गिरी पनि हुन् । स्रोतका अनुसार उनलाई अध्यक्ष बनाउन नेप्सेका निवर्तमान सीइओ चन्द्रसिंह साउँद लागि परेका छन् ।

डा.जीवन अमगाई गोरखाका हुन् । उनी जनता समावदावी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका नातेदार हुन् ।

उनी नाताले भट्टराईको ज्वाँई हुन् । अमगाईले केही वर्ष पहिला बोर्डमा अस्थायी अधिकृतको रुपमा काम गरेका थिए । उनले करिब ३ वर्ष बोर्डमा अस्थायी अधिकृतको रुपमा काम गरेका थिए । त्यसपछि बोर्ड छोडेर अध्ययनका सिलसिलामा जापान पुगेका थिए ।

माओवादी केन्द्रबाट नेपालगञ्जका रमेश हमालले आवेदन दिएका छन् । उनी प्रचण्ड निकट व्यक्ति मानिन्छन् । बोर्डका उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी पनि माओवादी निकट व्यक्ति हुन् । उनी पनि माओवादी अध्यक्ष प्रचण्डका नातेदार हुन् । यता बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाई पनि माओवादी निकट दाबेदार हुन् । उनी पूर्वसभामुख कृष्ण बहादुर महरा निकट मानिन्छन् । चापागाईलाई आइएमई समूहका अध्यक्ष चन्द्र ढकालको समेत साथ, सहयोग रहेको चर्चा छ ।

त्यस्तै बोर्डमा आवेदन दिनेमा सिताराम थपलिया नेपाली काँग्रेसका नेता डा.रामशरण महतको जोडबलमा नेप्सेका महाप्रबन्धक बन्न सफल भएका थिए । तर पछिल्लो समयमा डा. महतसँग उनको सम्बन्ध भने राम्रो छैन ।

बोर्ड अध्यक्षका लागि अघिल्लो पटक पनि आवेदन दिएका डा. केशव श्रेष्ठले पनि यसपटक पनि आवेदन दिएका छन् । उनी नेकपा एमाले निकट व्यक्ति हुन् । पार्टी फरक परेका कारण उनको सम्भावना न्यून प्रायः रहेको बताइन्छ । आवेदन दिनेमध्ये नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट आध्यात्मिक र स्वतन्त्र व्यक्तिका रुपमा चिनिन्छन् ।

अर्थमन्त्रालयले कात्तिक ११ गते बोर्डको अध्यक्ष नियुक्तिका लागि भन्दै १५ दिन अवधिभित्र शिलबन्दी आवेदन दिन माग गरेको थियो । २५ गतेसम्म १२ जनाको आवेदन परेको छ ।

धितोपत्र बोर्डको यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीइओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि पदमुक्त भइसकेका छन् । उक्त प्रकरणपछि साउँदले राजीनामा दिएका छन् भने ढुंगानालाई सरकारले नै बर्खास्त गरेको छ ।

सरकारले निलम्बन गरेपछि ढुंगाना आफू निर्दोष रहेको दाबी गर्दै सर्वोच्च अदालत रिट दर्ता गरेका छन् । अदालतमा पछिल्लो समय देखिएको यो समस्याका कारण उक्त मुद्दामा बहस हुन सकेको छैन ।

ढुंगानाको मुद्दा किनारा नलाग्दै सरकारले अर्को अध्यक्ष नियुक्तिको प्रकृया अगाडि बढाएको छ । बोर्डमा आउने नयाँ नेतृत्वले करिब २ वर्ष मात्रै काम गर्न पाउनेछन् ।

बोर्डमा अध्यक्ष बन्नका लागि अहिले ८ करोडको चर्चा निकै चलेको छ । आवेदन दिनेमध्ये एक इच्छुकको अनुसार अहिले १५ करोड रुपैयाँको चर्चा रहेको र उक्त रकम तयार पार्न सक्नेव्यक्ति जो भएपनि बोर्डको अध्यक्ष बन्ने पक्का जस्तै छ ।

ती आवेदकले भने ‘मैले पनि २ करोडसम्म दिने सोच बनाएको हो तर ८ करोड त दिन सकिँदैन । ८ करोड बुझाएर बोर्डमा गएर इमान्दार भएर काम गर्न सकिँदैन ।’


क्लिकमान्डु