काठमाडौंमा अनलाइन सपिङ, किन लाग्छ सामान डेलिभर हुन हप्तादिन ?



काठमाडौं । काठमाडौं पेप्सीकोलाका निरज पौडेलले छोरीका लागि ई–कमर्श प्लेटफर्म दराजबाट ‘स्टडी टेबल’ अर्डर गरे ।

अनलाइनबाट रकम भुक्तानी गरेपछि डेलिभर हुने समय ३ देखि ७ दिन लाग्ने मोबाइलमा म्यासेज आयो ।

उनले सोचेका थिए अनलाइन भनेपछि अर्को दिन नै सामान आउँछ । तर, उनले सामान पाउन ५ दिन कुर्नु पर्यो ।

‘अनलाइन त भन्ने मात्र रहेछ,’ उनी भन्छन्, ‘छोरीले अति गरेर छिटो आउने भनेको त एक हप्ता लाउँदो रहेछ ।’

दराजमात्र होइन काठमाडौंका अधिकांश अनलाइन सपिङले सामान डेलिभर गर्न हप्तादिनसम्म लगाउँछन् ।

इबिजनेस एसोसियसन नेपालका संस्थापक सागरदेव भट्टले यो सामान्य नियम भएको बताए ।

‘अनलाइनबाट अर्डर गरेको सामान डेलिभर हुन ५÷७ दिन लाग्नु स्वभाविकै हो,’ उनले भने, ‘अनलाइन सपिङमा केही निश्चित सीमा भएकाले समय लाग्छ ।’

कुनै पनि सामान अर्डर भएपछि त्यसलाई सोर्सिङ गर्ने, ल्याउने, परीक्षण गर्ने, ट्यागिङ गरेरमात्र पठाउने व्यवस्था मिलाउनु पर्ने भएकाले समय लाग्ने भट्टको भनाइ छ ।

‘हाम्रोमा भने अर्डर गर्दा बित्तिकै आउनु पर्छ भन्ने छ,’ उनले भने, ‘यो सोच बिस्तारै परिवर्तन हुन्छ ।’

अनलाइन सपिङ भनेको योजनाअनुसार गर्नुपर्ने बताए । यदि कसैलाई कुनै सामान आजको भालि चाहिएको छ भने अनलाइन अर्डर गरेर हुँदैन । अनलाइन सपिङ भनेको योजनाबद्ध गर्नुपर्ने भएकाले घरमा सामान चाहिएको ३÷४ दिनअघिनै अर्डर गर्नुपर्ने उनको भनाइ छ ।

कति समय लाग्छ भन्ने विषय अनलाइन सपिङको मोडलमा पनि भर पर्ने उनको भनाइ छ । कसैले दुई दिनमै डेलिभर गर्न सक्छन् भने कसैले हप्ता दिन पनि लगाउन सक्छन् । यो सामानको प्रकार र उपलब्धतामा पनि भरपर्छ ।

जस्तो कि खाने र तत्काल प्रयोग गर्ने सामान तुरुन्तै डेलिभरी गरिरहेका हुन्छन् । त्यसबाहेक कपडा, अन्य सामानहरु भने केही दिनको अन्तरालमा मात्र डेलिभरी हुने संसारभरको नियम रहेको भट्टले बताए ।

संसारकै सबैभन्दा धेरै इकमर्श सञ्चालन भएको अमेरिकामा पनि अनलाइन डेलिभरी हुन ४ देखि ५ दिन लाग्ने गरेको उनले उदाहरण दिए ।
‘दराज जस्ता अनलाइनले लाखौं सामान आफैं किनेर गोदाममा राखेका हुँदैनन्,’ उनले भने, ‘अर्डरपछि सामान किनेर ल्याउने र वितरण गर्ने हो ।’
कतिपयले भने ग्राहकलाई २४ घण्टाभित्र डेलिभर गर्ने भने पनि दुईतीन दिन लगाएको पाइन्छ । ग्यापु मार्केट प्लेसले २४ घण्टाभित्र सामान डेलिभरी हुने दाबी गर्छ । सामान उपलब्ध छ भने २४ घण्टाभित्र र सामान उपलब्ध नभएको अवस्था दुईतीन दिन लाग्ने कम्पनीको भनाइ छ ।

औपचारिक रुपमा दर्ता नभए पनि इबिजनेस एसोसियसनमा ४० कम्पनीहरु आवद्ध छन् । दराज, सस्तोडिल, भोज, पठाओ, फुडमाण्डु, खल्ती, युजी केकसहित अधिकांश कम्पनी यसमा आवद्ध छन् ।

ती कम्पनीमा हजारौं जनशक्तिले डेलिभरीको काम गरिरहेका छन् । काठमाडौं उपत्यकाभित्र मात्रै ३ हजारभन्दा धेरै डिलिभरी गर्ने स्टाफ छन् ।


क्लिकमान्डु