बैंकहरुले नियामकीय निर्देशनमा लुपहोल्स खोज्दा समस्या निम्तिन्छ



काठमाडौं । कोरोना महामारीले आक्रान्त भएको असहज परिस्थितीमा बैंकरहरुले अर्थतन्त्रका लागि महत्वपूर्ण सेवा गर्नु भएको छ ।

बैंकमार्फत् बैंकिङ क्षेत्रमा चुस्त, सबल र सिर्जनात्मक सेवा प्रदान गर्नमा भूमिका निर्वाह गर्नु भयो । बैंकिङ क्षेत्रमा अध्ययन अनुुसन्धान गरी त्यसका आधारमा सेवाको गुणस्तरमा सुधार गर्ने, बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्ने लक्ष्यसहित नेपाल बैंकर्स संघले धेरै काम गरेको छ । साथै, बैंकिङ क्षेत्रका विविध विषयमा पनि अध्ययन अनुसन्धान गरिरहेको छ ।

बैंकिङ क्षेत्रको निक्षेप, कर्जा, ग्राहक संख्या शाखा सञ्जाल अपेक्षाअनुसारनै रहेको अवस्था छ । आर्थिक वर्षको शुरुमै कर्जाको वृद्धिदर केही बढी रहँदा तरलतामा चाप परेको छ । आयात बढ्दा वैदेशिक मुद्रा सञ्चितीमा पनि चाप परेको छ ।

कोरोना महामारीको समयमा जुनप्रकारले रिकभरी भएको छ, यसबीच बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीका मागका विषयमा केही बोल्न सक्नुभएन । जसको असर बजारमा प्रशस्त मात्रामा क्रेडिट आएको छ ।

छोटो अवधिमै ३२ प्रतिशतको ग्रोथ देखिएको छ । त्यसको परिणामस्वरुप बैंकिङ क्षेत्रमा चाप परेको छ । मैले शुरुमै घाँटी हेरेर हाड निलौ है भनेर अनुरोध गरेको थिएँ ।

तर आफ्ना सेवाग्रहीको व्यवसाय र त्यो व्यवसायलाई प्रमोशन गर्नतर्फ लाग्नुभयो । यसबीचमा अपेक्षाकृत विप्रेषण आप्रवाह भएन । साथै, समयमै सरकारी खर्चपनि भएन । अलि ढिला शुरु भयो ।

यस अवधिमा हामीले नै रि–पेमेन्ट ६ महिनापछि गरे हुन्छ भनेर सुविधा दियौं । सेवाग्राहीले पनि त्यो सुविधालाई हेरेर बस्नु भयो । फलस्वरुप अहिले तरलतामा चाप परेको छ ।

अब संयमित भएर अर्थतन्त्रलाई चाहिने कर्जा र त्यहीअनुसार आफ्नो ब्याजदर समायोजन गर्दै वित्तीय प्रणालीलाई स्टेबल बनाउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

खुला अर्थतन्त्रमा संस्थाहरुको स्वस्थ प्रतिष्पर्धा होस् र सेवाग्राहीले सस्तो र सुलभरुपमा सेवा पाउने छन् भन्ने अपेक्षा छ । बैंकिङ सेवामा मध्यस्थता शुल्क कमभन्दा कम, सर्वसुलभ वित्तीय सेवा प्रवाहको अपेक्षा गरिएको छ । कमभन्दा कम मध्यस्थता शुल्क र वित्तीय कार्यकुशलतामा अभिवृद्धी भई उत्पादन वृद्धि हुने, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन बैंकिङ क्षेत्रको अहम् भूमिका रहन्छ ।

केही संस्थाहरु आफ्नो उद्देश्यबाट बिचलन भएजस्तो पनि देखिएको छ । प्रतिष्पर्धाबाटै मूल्य तय होस् र त्यसको लाभ सबैले लिन सकुन, निक्षेप र कर्जाको ब्याजदरलाई योग्य बनाउन सकेमा त्यसको लाभ सबैले लिन सक्ने अवस्था रहन्छ । यस्ता बिषयमा बैंकको उच्च व्यवस्थापनले सोच्नुपर्ने आवश्यकता देखिन्छ ।

नियामकको भूमिका सहजकर्ताको भूमिकामा नै सीमित होस् भन्ने हाम्रो चाहना हो । खुला बजार अर्थतन्त्रको लाभ लिनुपर्ने हो । तर त्यो लाभ प्राप्त गर्नु भन्दा अस्वस्थ प्रतिष्पर्धाको लडाइकाबीच बाध्यात्मक कदमहरु अपरिहार्य बन्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाले अल्पकालमा धेरै नाफाको अपेक्षा गर्नुभन्दा दीर्घकालीनरुपमा सबल बन्ने सोच राख्नुपर्छ । नियामकीय निर्देशनमा लुपहोल्सको गलत व्याख्या गर्ने र सरोकारवालाहरुको अपेक्षालाई नजरअन्दाज गर्दा संस्थाका साथै समग्र वित्तीय प्रणालीमा जोखिम थपिन सक्छ ।

बैंकिङ कार्य व्यवसायीक कार्य भएपनि यो कार्य अन्य वस्तु तथा सेवाको व्यवसायभन्दा विशेष किसिमले फरक छ । एउटै मात्र संस्थामा समस्या देखिएमा त्यसको असर समग्र वित्तीय प्रणालीमा पर्न जान्छ ।

बैंकहरुले आफ्नो व्यवसाय बिस्तार गर्दा अर्थ प्रणालीमा ध्यान दिनुपर्ने छ । आफ्नो स्रोत, निक्षेपको संरचनाको आधारमा कर्जा प्रवाह गर्न अरुले सम्झाउनु पर्ने र तरलतामा थोरै तलमाथि हुँदा उपलब्ध औजारमार्फत् व्यवस्थापन गर्नुभन्दा पनि अत्तालिने प्रवृति हामीहरुमा देखिने गरेको छ ।

यस्ता विषय बैंकको उत्ता व्यवस्थापनलाई थाहा छैन भन्ने मलाई लाग्दैन । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि उत्तिकै वा अझ बढी अपेक्षा गर्नु पनि उचित हुँदैन । घुमाई फिराइ विविध प्रकारका शुल्क लिन बाध्यात्मक अवस्था सृजना गर्नु न्यायोचित होइन ।

निर्धारित जोखिम तय गरी कर्जा प्रवाह भएको अवस्थामा जोखिममा हुने खास परिवर्तन नभएको अवस्थामा प्रिमियम नै वृद्धि गर्नु उचित हुँदैन । यस्ता प्रशस्त गुनासाहरु हाम्रोमा आउने गरेका छन् ।

हामी अन्तरयामी होइनौं । लाखौ सेवाग्राही रहेका छन् । कसलाई के गरिरहनु भएको छ ? हाम्रो अनुरोध के हो भने कसैलाई पनि अन्याय नहोस् भन्ने छ । हामी उदार वातावरणमा रहेका छौं । बैंकिङ क्षेत्रमा हाम्रो समग्र अर्थतन्त्र केही न केही चूनौतीमा गुज्रिरहेको छ ।

कोरोना महामारीको समयमा बैंकिङ क्षेत्रमा पनि सुपरभिजन नभएको अवस्थामा हामीले संस्थागत सुशासनमा कमजोरी देखेका छौं । अहिले प्रविधिको प्रयोग बढिरहेको छ । यसमा पनि धेरै खालका चूनौतीहरु छन् ।

कर्जा प्रवाह उत्पादनशिल र रोजगारी सृजना हुनुपर्ने क्षेत्रमा हुनपर्ने हो । त्यो कर्जाले अर्थतन्त्रको वृद्धिमा सहयोग पुर्याउनुपर्ने हो । बैंकिङ क्षेत्रको वृद्धिदर अर्थतन्त्रको वृद्धिदरसँग एकखालको तादम्यता मेल खाने खालको हुनुपर्ने हो । यो विषय हाम्रा लागि चूनौतीपूर्ण छ । यो सबैका बीचमा हामीसँग बैंकर्स संघ छ । आगामी दिनमा यसले गर्ने काम प्रभावकारी रुपमा गर्ने अपेक्षा रहेको छ ।

अहिलेसम्म राष्ट्र बैंक सरोकारवालाको सुझाव लिएर अघि बढेको छ । र, आगामी दिनमा पनि सृजनात्मक सुझाव पाउने अपेक्षा छ । सधै एकै खालको परिस्थिती हुँदैन । यसअघि संघबाट धेरै सुझाव पाएका थियौ । अब पनि त्यही अपेक्षा राख्दछु ।

(गभर्नर अधिकारीले मंगलबार बैंकर्स संघको कार्यक्रममा दिएको मन्तव्यको अंश)


क्लिकमान्डु