१८ हजार ३०० करोड भारु बराबरको आइपीओ बिक्री गर्दै पेटिएम



एजेन्सी । भारतको सार्वजनिक निष्कासनको इतिहासमै सबैभन्दा ठूला साधारण सेयर सोमबारदेखि बिक्री हुन लागेको छ । ठूलो साधारण सेयर बिक्री गर्न लागेको कम्पनीको नाम हो पेटिएम ।

सो कम्पनीले १८ हजार ३०० करोड भारु बराबरको आइपीओ बिक्री गर्ने भएको छ । पेटिएम जहाँ क्यूआर कोडको बोर्ड राखिएको छ, त्यहाँ समेत आइपीओको सूचना राखिएको छ । गाँउ, शहर जताततै पेटिएमकै चर्चा छ ।

चियापसलदेखि सुपरमार्केटमा समेत आइपीओको चर्चा भइरहेको छ । यसअघि कुनै पनि कम्पनीको आइपीओको त्यति धेरै चर्चा भएको थिएन ।

किनकी असाध्यै सानो तहबाट उठेको एउटा कम्पनी हुनुको नाताले पनि सो कम्पनीप्रति आम लगानीकर्ताको विशेष आकर्षण रहेको छ ।

सेयर बजारमा सूचीकृत भएपछि सो कम्पनीको सेयर खरिद गर्न सकिनेछ । आइपीओबाट नै मानिसहरुले सो कम्पनीमा लगानी गर्न सक्नेछन् ।
विजय शेखर शर्माले ११ वर्ष पहिले सो कम्पनी स्थापना गरेका थियो ।

शर्मा अलीगढको विजयगढा गाँउमा जन्मिएका हुन् । उनी पढाईमा यत्ति धेरै तेज थिए कि १४ वर्षको उमेरमा नै उनले १२ कक्षा उत्तीर्ण गरेका थिए ।

सन् १९९४ मा उनले दिल्लीको कलेज अफ इन्जिनियरिङमा भर्ना भएका थिए । उनलाई त्यतिबेला थाहा भयो कि इन्जिनियरिङको पढाइ त अग्रेजीमा हुन्छ । किनकी, उनी अंग्रेजीमा अलिक कमजोर थिए ।

कक्षामा पहिलो बेञ्चमा बस्ने शर्मा क्रमशः अन्तिम बेञ्चतिर बस्न थाले । तर, उनले हार मानेनन् इन्जिनियरिङको डिग्री हासिल गरे ।

विद्यार्थी रहेको बेला नै उनले पहिलो कम्पनी स्थापना गरे । चार जना साथी मिलेर स्थापना गरेको कम्पनीले इन्टरनेटमा कन्टेन्ट खोज्ने काम गर्न थाल्यो । एक वर्ष कम्पनी चलाएर उनीहरुले नाफा समेत कमाएर कम्पनी बिक्री गरिदिए । वान ९७ को नामबाट परिचित सो कम्पनीले इन्टरनेटमा कन्टेटको खोजी गर्दथ्यो ।

उनले सन् २००९ मा कम्पनीको सञ्चालक समितिको बैठकमा पैसा बिनै नै कारोबार गर्न सकिने प्रणालीको विकास गर्ने प्रस्ताव राखेका थिए ।
उनको प्रस्तावलाई धेरैले स्वीकार गरेका थिएनन् । उनले त्यसका लागि आफनो नाममा रहेको २० लाख डलर बराबरको सेयर समेत टेबलमा राखेर सञ्चालक समिति सदस्यलाई मञ्जुर गराएका थिए ।

त्यही दिनदेखि नै उनको कम्पनी पेटिएम अर्थात् मोबाइलबाटै भुक्तानी गर्न सकिने इकोसिष्टम सहितको प्रणाली बन्न पुग्यो ।

२० लाख डलरका साथ शुरु भएको कम्पनी २०१४ मा मात्रै पेटिएम वालेटको नाममा सार्वजनिक भयो । सन् २०१२ मा नै पेटिएम पेमेन्ट गेटवे सार्वजनिक भएको थियो । सन् २०१५ मा बिल पेमेन्ट, मुभी टिकट, क्यूआर कोड सेवा शुरु भयो ।

सन् २०१६ मा नोटबन्दी भएपछि उनको कम्पनीले एकाएक २५० प्रतिशत बढी ग्रोथ गर्न सफल भयो ।

सन् २०१७ मा पेटिएम पेमेन्ट बैंक सार्वजनिक भयो । त्यसका प्रयोगकर्तामा मात्रै २० करोड नाघे । सन् २०१८ मा जापानबाट सेवा शुरु गरे ।

सन् २०१९ को लकडाउनमा सो कम्पनी १ बिलियन डलर बराबरको कम्पनी बन्न पुग्यो भने सन् २०२१ मा भारतको सबैभन्दा ठूला आइपीओ बिक्री गर्ने कम्पनी बन्न पुगेको छ ।

पेटिएमको भेल्यू मात्रै १.१ लाख करोड भारु बराबर रहेको छ । यसका प्रयोगकर्ता ३५ करोड बराबर छन् । कम्पनीले १ हजार ८०२ करोड भारु बराबरको रेभेन्यू कमाउने गरेको छ ।

मर्चेन्ट मात्रै २.२ करोड बराबर रहेको छ । त्यसका ग्राहकले हरेक महिना १.४ अर्ब भारु बराबरको कारोबार गर्ने गरेका छन् ।

पेटिएमममा चिनियाँ कम्पनी अलिबाबाको ७.१ प्रतिशत सेयर छ भने सोही कम्पनीकाे माऊ कम्पनी आन्टको २९.७ प्रतिशत सेयर छ ।

वर्कसायरको आथवेको २.७, विजय शेखर शर्माको १४.६, सेफ पाटर्नसको १८.५, सफ्ट बैंकको १९.६ र अन्यको ७.४ प्रतिशत सेयर हिस्सा रहेको छ ।

शुरुवाती दिनमा घाटाको व्यापार गरिरहेको कम्पनीले पछिल्ला ३ वर्षदेखि भने लगातार घाटा कम गर्दै गइरहेको छ । सन् २०१९ मा ७ हजार ७३० करोड खर्च भएको थियो भने कूल कमाई ३ हजार २३२ करोड भारु थियो । घाटाको हिस्सामा ४ हजार २१७ करोड बराबर थियो ।

सन् २०२० मा ६ हजार २२६ करोड भारु खर्च भएको थियो भने रेभेन्यू ३ हजार २८१ करोड मात्रै भयो भने घाटा २ हजार ९४२ करोड भारु भयो ।

सन् २०२१ मा ४ हजार ५०३ करोड बराबरको खर्च भएको छ । रेभेन्यू भने २ हजार ८०२ करोड बराबर रहेको छ , घाटा भने १ हजार ७०१ करोडमा झरेको छ । प्रश्न अब कम्पनीले कहिले मुनाफा कमाउँछ भन्ने मात्रै रहेको छ ।

आइपीओ बिक्री गरेपछि कम्पनीको मूल्य मात्रै २० विलियन डलर बराबरको हुनेछ । कम्पनीले आइपीओबाट आउने पैसा पेमेन्ट इकोसिष्टमलाई मजबूत बनाउनका लागि खर्च गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु