तिहारमा करिब साढे २१ लाखको माला खपत, १५ करोड बढीको कारोबार



काठमाडौं । यो वर्षको तिहारमा करिब साढे २१ लाख माला खपत भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यो वर्षको तिहारमा अनुमानभन्दा बढी माला खपत भएको जनाएको छ ।

यो वर्षको तिहारमा २१ लाख ३५ हजार मालाको खपत भएको एशोसिएसनले जनाएको छ । अघिल्लो बर्षको तिहारमा कोभिडका कारण करिब १६ लाख मालाको मात्रै कारोबार भएको थियो । यस बर्षको तिहारमा सयपत्री, मखमली र गोदवरी सहित करिब १८ लाख ६५ लाख मालाको खपत हुने अनुमान गरिएको थियो । तर, यस वर्ष करिब २१ लाख ३५ लाख मालाको कारोबार भएको तत्थ्याङ्क प्राप्त भएको एशोसिएसनका अध्यक्ष मीन बहादुर तामाङ्ले जानकारी दिए ।

उनका अनुसार तिहारमा करिब १८ लाख १५ हजार सयपत्री तथा ३ लाख ५ हजार मखमली र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । एशोसिएसनका अनुसार यो वर्षको तिहारमा सयपत्री फूलको प्रति माला करिब ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म र मखमली फूलको प्रति माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बजारमा कारोबार भएको छ । एशोसिएसनले यसअघि यस वर्षको तिहार पर्वको लागि आवश्यक हुने सयपत्री फूलको माला मौसम प्रतिकुलताका कारण उत्पादनमा कमी आएकाले करिब बजार हिस्साको ८५ प्रतिशत मात्रै आन्तरिक उत्पादनले परिपुर्ति गर्ने र बाँकी १५ प्रतिशत आयात गरी पुरा गरिनु पर्ने अनुमान गरिएको थियो ।

तर, गैर पुष्प व्यवसायीहरुबाट समन्वय बिना नै तिहार सुरु हुनु १५, २० दिन अगावै ठूलो मात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेको पाइएको छ । जसका कारण बजार मागभन्दा अधिक आपुर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको छ । उक्त माला सस्तो भई दिँदा नेपाली उत्पादनले बजार नपाई करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पुष्प उत्पादक व्यवसायीहरुको गुनासो रहेको एशोसिएसनको भनाई छ । ‘

आयातित फूलको कारण नेपाली उत्पादनले बजार नपाउदा हतोत्साही भई यसमा लागेको पुष्प व्यवसायीहरु पलायन हुने हो की भन्ने चिन्ता समेत बढ्न गएको छ,’ अध्यक्ष तामाङले भने । मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ भने केहि मात्रामा निर्यात समेत हुने गरेको छ । यस वर्षको तिहारमा पनि करिब एक लाखभन्दा बढि मखमली फूलको माला विभिन्न मुलुकमा निर्यात भएकोे छ ।

१५ करोडको कारोबार

यो वर्षको तिहारमा १५ करोड बढीको मालाको कारोबार भएको छ । एशोसिएसनको तथ्याङ्क अनुसार यो तिहारमा १५ करोड २० लाख ७५ हजार रुपैयाँ बराबरको माला आन्तरिक बजारमा बिक्री तथा निर्यात भएको छ ।

यस वर्षको तिहारमा आन्तरिक बजारमा १२ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार सयपत्री माला बिक्री भएको छ । त्यसैगरी, १ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ५ हजार मखमली माला आन्तरिक बजारमा बिक्री भएको छ भने ५२ लाख ५० हजार रुपैयाँ बराबरको १५ हजार गोदावरी माला आन्तरिक बजारमा बिक्री भएको छ । साथै, सोही अवधिमा नेपालबाट ३० लाख रुपैयाँ बराबरको १ लाख मखमली निर्यात भएको एशोसिएसनले जनाएको छ ।

यो वर्षको तिहारका लागि आवश्यक सयपत्री फूलको बजार मागलाई परिपुर्ति गर्न सातै प्रदेश अन्तर्गत रहेको करिब ३२ जिल्लामा व्यवसायीक सयसत्री फूलको उत्पादन भएको थियो । प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डाकी प्रदेश, सुदुर पश्चिमाञ्चल प्रदेश अन्तर्गतका तराई तथा केहि मध्य पहाडी जिल्लाहरूमा केहि समय अगाडी आएको अविरल बर्षात र बाडीका कारण सयपत्री फूल खेतीमा असर परेको थियो ।

कोरोना कहर र मौसम प्रतिकुलतासंग जुधि उत्पादन गरेको नेपाली सयपत्री फूलले आयातित सयपत्री फूलसंग प्रतिस्पर्धा गर्नु परेको छ । जसमा ८० प्रतिशतसम्म अनुदान प्राप्त भारतिय सयपत्री फूलसंग नीजि लगानीमा उत्पादन गरेको नेपाली सयपत्री फूलले उत्पादन लागत उठाउनै समस्य भएको एशोसिएसनले उल्लेख गरेको छ । यस प्रकारको समस्य समधानका लागि सरकारका सम्बन्धित निकायहरूले आगामी दिनमा उचित कदम चाल्न जरुरी रहेको अध्यक्ष तामाङ भनाइ छ ।


क्लिकमान्डु