काठमाडौँ महानगरले लुम्बिनीमा बनायो ४ करोड ३० लाखमा बज्रयान बिहार



लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा काठमाडौँ महानगरले बनाएको मौलिक नेपाली बज्रयान विहार निर्माण सम्पन्न भएको छ । नवनिर्मित विहारको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।


राष्ट्रपति भण्डारीले नेपालमा जन्मिएका गौतम बुद्धको आदर्श र प्रेरणा सबै नेपालीका लागि गर्वको विषय रहेको उल्लेख गरिन् । ‘गौतम बुद्धले लामो तपस्याबाट प्राप्त गरेको ज्ञानबाट विश्वमा शान्तिको सन्देश फैलिएको छ । हामीले पनि बुद्ध दर्शनको मर्म र भावनाअनुसार चल्न सक्नुपर्छ । यसले देशको चिनारीलाई गरिमामय बनाउँछ ।’

लुम्बिनीको विकासका लागि निर्माण भएको गुरुयोजना कार्यान्वयनमा नआएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि पैसाको कमी नभएको बताइन् । विकासका बाधाका रुपमा आन्तरिक कारण देखिने र ती कारणका बारे आन्तरिक रुपमै समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रुपमा निर्माण थालिएको तर आर्थिक अभावमा काम रोकिएको विहार देख्यौँ । त्यो अपूरो काम गर्न हामीले आर्थिक सहयोग ग¥यौँ । शाक्यले भने, ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ । तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौँ महानगरपालिकाले सहयोग गरेको हो ।‘

महानगरले जस्तै संघ र प्रदेश सरकारले पनि नेपालका मौलिकता प्रवर्धन हुने सांस्कृतिक भौतिक संरचनाको निर्माण र पुननिर्माणमा लगानी बढाउँदै जाने अपेक्षा रहेको उनको भनाई छ । परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउनु कुरा हरेक नेपालीको कर्तव्य भएको उल्लेख गर्दै कर्तव्य पालना विर्सिएको हो कि जस्तो भएको बताए । काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेपछि विहारले पूर्णता पाएको बज्राचार्यको भनाइ थियो ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि विदेशीबाट कुनै पनि प्रकारको सहयोग लिएका छैनौँ । काठमाडौँ महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ दिएको छ । विहारको भौतिक विकासका केही काम बाँकी छन् ।

बज्राचार्यकाअनुसार नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार ३ सय ७२ बर्ष अघिको बौद्धकलासहितको विहार निर्माणको निरन्तरता हो । नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष माणिकरत्न शाक्यका अनुसार विहार निर्माण गर्न अहिलेसम्ममा करीब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ ।


क्लिकमान्डु