डिजिटल कारोबारले व्यक्तिको आर्थिक हैसियत देखाउँछ, बिनाधितो ऋण पाउने दिन आउँछः गभर्नर



काठमाडौं । कारोबारको दुनियाँमा विद्युतीय भुक्तानी र त्यसमा पनि क्यूआर कोडबाट हुने भुक्तानीको महत्व निकै बढेर गएको छ । नगद बोक्नुपर्ने झण्झट पनि नहुने र पैसा नछोइकनै कारोबार गर्न सकिने भएकाले यसको पहुँच र बिस्तार बढाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

गत वर्षको पुस १० गते मैले नक्सालको तरकारी बजारमा यसको उद्घाटन गरेको थिएँ । त्यसयता सायदै नगद बोक्नु परेको छ । मैले अधिकांश स्थानमा क्यूआर कोडबाटै भुक्तानी गर्न थालिसकेको छु ।

क्यूआर कोडबाट भुक्तानी गर्न निकै सजिलो छ । पैसा छुनु पनि पर्दैन भने बैंकसम्म पनि पुग्नु पर्दैन । बैंकमा पुगुञ्जेलसम्म र बैंकबाट रकम झिक्दासम्म समय लाग्छ भने जनशक्तिको प्रयोग पनि बढी हुन्छ ।

तर क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ब्याज पनि बढी आउँछ । पैसा बैंकिङ प्रणालीमै रहन्छ । ब्याज आम्दानी पनि बढी हुने र कारोबार गर्न पनि सजिलो हुन्छ । यसको सेटलमेन्ट पनि सजिलो हुन्छ । र, समग्रमा व्यक्ति र संस्था सबैलाई फाइदा पुग्छ ।

त्यतिमात्रै होइन । विद्युतीय कारोबारले आफ्नो हैसियत पनि देखाउँछ । भोलिका दिनमा बिनाधितो ऋण पनि पाइने अवस्था हुनसक्छ । आफैं बैंकसँग परिचित हुन पनि यसले सहयोग पुग्छ ।

संसारभरी नै सबै व्यक्तिलाई वित्तीय प्रणालीमा समाहित गर्ने र सेवा उपलब्ध गराउने राष्ट्र बैंकको नीति छ । आजका दिनमा हामीहरु डिजिटल बैंकिङमा समाहित भएनौं भने गाह्रो हुन्छ ।

त्यसका लागि मोबाइल निकै उपयोगी साधन पनि बनेको छ । मनोरञ्जनका लागि मात्रै नभइ कारोबारका लागि पनि मोबाइलको प्रयोग अत्यन्तै उपयोगी भएको छ । यसका कारणले धेरै फाइदा पनि भएकाले राष्ट्र बैंकले पनि यसैमा जोडबल गरिरहेको छ । राष्ट्र बैंकले हाल २८ वटा पीएसपी र १० वटा पीएसओलाई अनुमति दिइसकेको छ ।

विद्युतीय कारोबार जति बढ्छ त्यति नै यो प्रणाली सुदृढ हुँदै जान्छ । सबैले आफ्नो ठाउँबाट सक्रियरुपमा काम गर्ने हो भने छिट्टै हामीले सोचेको क्यासलेस सोसाइटी बन्न सक्छ । आजका दिनमा हामीले इको सिस्टम बनाउनु पर्ने आवश्यकता छ । यसका लागि यसको प्रयोग तरकारी पसलदेखि डिपार्टमेन्टल स्टोरसम्म पनि हुनु आवश्यक भइसकेको छ ।


क्लिकमान्डु