फ्लाइओभरको निर्माण यसैवर्ष शुरु हुने, कुन-कुन स्थानमा बन्दैछन् ?



काठमाडौं । फ्लाइओभरको निर्माण यो वर्ष शुरु हुने भएको छ । सरकारले उपत्यकामा निर्माण गर्ने भनेको फ्लाइओभर ११ वर्षदेखि केबल घोषणामा मात्रै सीमित भएको थियो ।

दर्जन बढी फ्लाइओभर निर्माण गर्ने भनिएको भएपनि अहिलेसम्म नेपालमा फ्लाइओभर निर्माण भएको छैन ।

त्यसको एक दशकसम्म आईपुग्दा केही फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । योसँगै घोषणा भएको एक दशकपछि उपत्यकामा यो वर्षदेखि फ्लाइओभरको काम शुरु हुने भएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको फ्लाइओभर अन्र्तराष्ट्रिय मापदण्डअनुसार नै बन्नेछ ।

उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थमन्त्रालयले चालु आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसी बताए ।

सडक विभाग अन्र्तगत योजना तथा मूल्याङ्कन महाशाखाका उपमहानिर्देशक शिवप्रसाद नेपालका अनुसार यसअघिका फ्लाइओभर निर्माण गर्ने घोषणा जे जस्तो भएपनि यो वर्षदेखि निर्माण कार्यले गति लिने दाबी गर्छन् ।

सडक विभाग अन्र्तगतका कोटेश्वर–कलंकी खण्डमध्ये ग्वार्को, सातदोबाटो र एकान्तकुनामा निर्माण हुने फ्लाइओभरको विस्तृत अध्ययन प्रतिवेदनको लागि टेण्डर आव्हान गर्ने चरणमा पूरा भइसकेको छ ।

उपत्यकाको सडक आठ लेनमा विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने गरी डिजाइन भएको विभागका उपमहानिर्देशक नेपालले बताए ।

चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अण्डरपास’ हो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।

दुई वटाको निर्माण यो वर्ष शुरु हुँदै
अहिले काठमाडौं उपत्यका चक्रपथको ग्वार्को चोकको दुईतहमा चौबाटो निर्माणको ठेक्का आह्वान भई मूल्याङ्कनको चरणमा रहेको नेपालले बताए । ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने विभागले जनाएको छ ।

बालकुमारीतर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिनेछ । माथि चढ्न लागि बालकुमारीतर्फ २८० मिटर लम्बाइको र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको र्याम हुने नेपालले जानकारी दिए ।

सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट गाडी जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्ने नेपालले बताए ।

अर्को चन्द्रागिरि नगरपालिकाको बलम्बुमा बन्न लागेको फ्लाईओभर नेपालकै पहिलो फ्लाइओभर हुनेछ । त्रिभुवन राजपथ भएर आउने सवारी आवतजावतका लागि उक्त फ्लाइओभर निर्माण गर्न लागिएको हो ।

यो फ्लाइओभर दुई वर्षमा सक्ने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्क्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको हो ।

नागढुंगा सुरुङमार्ग अन्तर्गत बन्ने फ्लाइओभर मुआब्जा वितरणको कारण अघि बढ्न सकेको थिएन । मुख्य सडकदेखि सुरुङमार्ग प्रबेशद्धारसम्म बनाउनु पर्ने फ्लाइओभर ६१० मिटरको हुने छ । त्यसका लागि आवश्यक पर्ने बलम्बुको ११.८ रोपनी जग्गाको मुआब्जा तिर्न बाँकी रहेकोमा हाल यसको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

फ्लाइओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण हुने पनि शाक्यले बताए ।

‘चार लेनको दुई लेन फ्लाइओभरका लागि प्रयोग हुने भएपछि आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो,’ शाक्यले भने, ‘सोही कारण धेरै जग्गा अधिग्रहण गर्नुपरेको हो ।’

अहिले ६१० मिटरको फ्लाइओभरको डिजाइन बनाउने कार्य सकेर टेण्डर आव्हानको काम सकिएको छ ।‘यसका लागि ९ वटा ठेकेदार कम्पनी दावेदार रहेका छन् । अहिले तिनीहरुको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ,’ शाक्यले भने ।

यो आयोजना नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य सम्हालेको जापनिज कम्पनी हाज्मा÷ आन्दो कर्पोरेशनले नै पाउने शाक्यको भनाइ छ । यसो हुँदा काम गर्न सहज र सजिलो हुने पनि शाक्यले बताए ।

‘यो कम्पनीसँग आयोजनाका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक टोलीदेखि उपकरणहरु उपलब्ध छ,’ शाक्यले भने ।

यस आयोजनाले सबै प्रक्रिया सकेर दुई वर्षमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको शाक्यले बताए ।

त्यस्तै, सातदोबाटो, एकान्तकुना चोकहरुको हकमा डिजाइनका लागि कार्य भइरहेको थियो । अहिले यसको ड्राफ्ट प्रतिवेदन प्राप्त भई चेकजाँच भईरहेको विभागका उपमहानिर्देशक नेपालले बताए ।

एक दशकसम्म घोषणामा मात्रै सीमित
सरकारले आव २०६६÷६७ सालको बजेट वक्तव्यमा पहिलो पटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा पनि नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने घोषणा गरेका थिए ।

१ वर्षपछि फेरि उनै मन्त्री खतिवडाले आव २०७७/७८ को बजेटमा पनि काठमाडौं कलंकी खण्डको तीन स्थानमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका थिए ।

सरकारले फ्लाइओभर बनाउने घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिकै कारणले एक दशकदेखि उपत्यकामा फ्लाइओभर बन्न नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिवहरु बताउँछन् ।

यस्तै नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य शुरु गर्न बजेट व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

केहीको डीपीआर समेत बनेन
सरकारले कतिपय आयोजनाहरु बजेटमा मात्रै घोषणा गर्ने काम गरेको देखिन्छ । तर, केही फ्लाइओभरको लागि चाहिने आवश्यक बजेट विनियोजन भने अहिलेसम्म पनि गरेको छैन । जसको कारण फ्लाइओभर निर्माण कार्यले गति लिन नसकेको मन्त्रालय र विभागले बताउँदै आएका छन् ।

फ्लाइओभरका केही अध्ययन भएपनि तत्कालै कार्यान्वयन नहुँदा ती अध्ययन बेकामे भएका छन् । २०६७ सालमा नयाँबानेश्वर चोकमा फ्लाइओभरको सम्भाव्यता अध्ययनका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, त्यसको ११ वर्ष बितिसक्दा समेत फ्लाइओभरकोविस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बन्न सकेको छैन ।

२०६८ सालमा बानेश्वर माइतीघर सडक बिस्तार हुनु अगावै फ्लाइओभरका लागि बंगलादेशी र नेपाली टोलीले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनको उपादेयता समेत सकिएको थियो ।

माइतीघर–त्रिपुरेश्वर सडक खण्डमा निर्माण गर्ने भनिएको चार लेनको फ्लाइओभर पनि अहिलेसम्म अन्योलमा छ । जाइकाले करिव चार वर्षअघि त्रिपुरेश्वर, थापाथली र माइतीघरलाई समेटेर फ्लाइओभरको सम्भाव्यता अध्ययन गरेको थियो ।

यस क्षेत्रको अध्ययन सम्पन्न गरिए पनि विस्तृत परियोजना प्रतिवेदन भने अझैसम्म बनेको छैन ।

मुआब्जा रकम धेरै हुँदा लागत बढ्ने
सहरी क्षेत्रमा जग्गाको सीमितता हुने भएकाले पनि फ्लाइओभर बनाउँदा लागत महँगो हुने देखिन्छ । साथै धेरै सरोकारवालाहरू नगरपालिका, खानेपानी, बिजुली, टेलिकम लगायतसँँग समन्वय गर्नुपर्ने हुन्छ ।

जग्गा र घरको मुआब्जा दिनुपर्ने कानुनी प्रावधानले पनि यस्ता आयोजनाहरुमा निर्माण खर्च भन्दा मुआब्जा दिन धेरै खर्च हुने उपमहानिर्देशक नेपालको भनाइ छ ।

‘नेपालमा फ्लाइओभर निर्माण खर्च भन्दा मुआब्जा रकम धेरै हुँदा लागत महङ्गो पर्ने हुन्छ,’ नेपालले भने ।

यता बलम्बुमा निर्माण हुने फ्लाइओभरका लागि मुआब्जाका लागि मात्रै १ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए ।

‘मुआब्जा वितरणका लागि डेढ करोड रुपैयाँ विनियोजन भएको छ,’ शाक्यले भने, ‘हाम्रो समस्या नै जग्गा अधिग्रहण र स्रोत सुनिश्चितता हो । मुआब्जाको रकम आन्तरिक स्रोतबाटै दिनुपर्ने शाक्यको भनाइ छ ।

मुआब्जाका लागि के कति दररेट हुने हो त्यसको अन्तिम टुङ्गो लागेमा एक महिनामै वितरण सक्ने शाक्यले बताए । यता मुआब्जा पाउने स्थानीयहरु भने सकारात्मक भएकाले अब वितरणको काम मात्र बाँकी रहेको शाक्यले बताए ।

फाउण्डेसनका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको र यसको वितरण छिट्टै गरी काम शुरु गर्ने पनि आयोजना प्रमुख शाक्यले बताए ।

तीनकुने र माइतीघरलाई हेरेर एकीकृत रूपमा नयाँ बानेश्वर चोकमा फ्लाइओभरले जोड्न सकिने विभागको भनाइ छ ।

यी क्षेत्रहरुमा प्रायः जसो घरजग्गा हटाउन पर्ने अध्ययनले देखाएको छ ।

‘यो सबैको मुआब्जा दिनका लागि फ्लाइओभर बनाउँदा लाग्ने भन्दा बढी रकम आवश्यक पर्ने देखिन्छ,’ नेपालले भने ।

यस क्षेत्रमा फ्लाइओभर निर्माणका लागि नेपाली सेना र थापाथली क्याम्पसको स्वामित्वमा रहेको जग्गासमेत सरकार मातहत ल्याउनुपर्ने चुनौती रहेको छ ।

यस समस्या समाधानका लागि सरकार पहिला तयारी अवस्थामा भएपछि मात्र फ्लाइओभरको निर्माण कार्य शुरु गर्न सकिने नेपालको भनाइ छ । सरकारले कागजमा र बजेट भाषणमा मात्र सीमित गर्ने परिपाटीलाई निरन्तरता दिएको पनि नेपालको भनाइ छ ।

‘हामि काम गर्ने निकाय हौं । काम गर्ने वातावरण सरकारले खुलाउनु पर्छ । हामि काम अगाडि बढाउँछौं,’ नेपालले भने ।

कस्को लगानी ?
चक्रपथमा चीन सरकारको सहयोगमा कोटेश्वर र नयाँ बानेश्वर तथा जापान सरकारको सहयोगमा थानकोटमा निर्माण गर्ने गरी फ्लाइओभरका आयोजनाहरु अघि बढेका छन् ।

फ्लाइओभर तत्काल आवश्यक
उपत्यकामा सवारीसाधनको अत्यधिक चाप भएसँगै धेरै स्थानमा फ्लाइओभर आवश्यक भइसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवत्ता एसपी सञ्जीव शर्मा दासका अनुसार सवारीसाधन परिचालन गर्न र मुख्य चोकमा ट्राफिक व्यवस्थापन गर्न नसकिने अवस्थामा पुग्न लागि सकेको बताए ।

‘यस्तै सवारी चाप बढ्दै जाने हो भने मुख्य चोकमा फ्लाइओभर विना ट्राफिक जाम व्यवस्थापन गर्न गर्यो हुन्छ,’ दासले भने, ‘यसको विकल्प भनेको फ्लाइओभर मात्र रहेको छ ।’

‘अहिले कलंकीमा अण्डरपास हुदा त ट्राफिक जाम व्यवस्थापनमा मुस्किल भइरहेको छ,’ दासले भने ।

यस्तो समस्यालाई हेर्ने हो भनि उपत्यकामा रहेका मूख्य–मुख्य चोकमा फ्लाइओभर निर्माण छिटो भन्दा छिटो हुनुपर्ने दासको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवत्ता एसपी सञ्जिव शर्मा दासका अनुसार त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगन्ज, सहिदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोंगबु, ग्वार्को, सातदोबाटो, एकान्तकुना, जडीबुटीलगायत स्थानमा फ्लाइओभर अत्यावश्यक भइसकेको बताए ।


क्लिकमान्डु