मंसिरदेखि नयाँ विद्युत् महशुल दर: २० युनिटसम्म ३० रुपैयाँ लाग्ने, अन्यमा कति ?



काठमाडौं । २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले अब मासिक न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै महशुल तिरे पुग्ने भएको छ । इनर्जी शुल्क भने निःशुल्क हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव अनुसार नै आयोगले न्यूनतम शुल्क कायम राखेर अन्य शुल्क नलाग्ने व्यवस्था गरेको हो । आयोगका अनुसार ग्राहस्थ उपभोक्ताका लागि औसतमा २.८४ प्रतिशत मात्रै महशुल घटेको छ ।

सिंगल फेजबाट मासिक १५१ देखि २५० यूनिटसम्म बिजुली खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० कायम गरिएको छ ।

त्यस्तै, ४०० युनिटभन्दामाथि खपत गर्ने ग्राहकको महशुलमा पनि २५ रुपैयाँ घटाइएको छ । अब न्यूनतम १५० देखि अधिकतम २५० कायम गरिएको छ ।

आयोगले वर्षायाम र हिउँदयामको महशुल समेत फरक गर्ने प्रयास गरेको जनाएको छ । तर, कूल रुपमा हेर्दा प्रतियूनिट महशुल मात्रै १ रुपैयाँले फरक गरिएको छ ।

वर्षायाममा ४०० युनिटसम्म खपत गर्ने ग्राहकले अब प्रतियूनिट १० रुपैयाँ ५० पैसा तिर्नुपर्छ । यस्तै, हिउँदमा भने ११ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । असारदेखि कात्तिकसम्म वर्षायाम र कात्तिकदेखि जेठसम्म हिउँद मानिएको छ ।

सिँचाईतर्फ सबैभन्दा सस्तो महशुल
आयोगका अनुसार ३३ केभी क्षमताका प्रसारण लाइनबाट बिजुली लिने ग्राहकले राति ११ देखि बिहान ५ बजेसम्म इनर्जी शुल्क प्रति युनिट २ मात्रै तिर्नुपर्नेछ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म भने प्रतियुनिट ३ तिर्नुपर्छ ।

यस्तै, ११ केभीका प्रसारण लाइनबाट सिँचाईका लागि बिजुली लिने ग्राहकले अब इनर्जी शुल्क २ तिर्नुपर्नेछ । यो व्यवस्था रातको समयका लागि हो । टिओडी मिटर नराखेका ग्राहकले भने सिँचाइ सुविधाका लागि २ रुपैयाँ ५० पैसा महशुल तिर्नुपर्छ । २२० देखि ४०० भोल्टका ग्राहकले भने प्रतियुनिट २ रुपैयाँ २५ पैसा महशुल तिर्नुपर्छ । नयाँ महशुल आगामी मंसिर १ गतेदेखि लागू हुनेछ ।

औद्योगिक ग्राहकका लागि टीओडी मिटरको हकमा डिमाण्ड शुल्क प्रतिकेभीए १३२ केभी फिडरमा २३० रुपैयाँ तोकिएको छ । पिक समयमा प्रतियुनिट १० रुपैयाँ, राति ४.६५ पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८ रुपैयाँ २० पैसा तिर्नुपर्छ ।

त्यस्तै ६६ केभीका ग्राहकले डिमाण्ड शुल्क प्रतिकेभीए २४० रुपैयाँ तिर्नुपर्छ । यस्तै, पिक समयमा प्रतियुनिट १० रुपैयाँ १० पैसा, राति ४ रुपैयाँ ७५ पैसा र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८ रुपैयाँ ३० पैसा तिर्नुपर्छ ।

चार्जिङ स्टेशनले डिमाण्ड शुल्क २३० रुपैयाँ तिनर्सुपर्छ । रातको समयमा चार्जिङ स्टेशन चलाउँदा प्रतियुनिट ३ रुपैयाँ ७० पैसा मात्रै तिरे हुने व्यवस्था गरिएको छ । चार्जिङ स्टेशनले २० प्रतिशतसम्म मात्रै थप गरी महशुल लिन पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको कूल आम्दानीमध्ये आयोगले ३ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ घटाई ९५ अर्ब ७८ करोड २४ लाख ९७ हजार कायम गरिदिएको छ । यस्तै, अब मिटरको क्षमता वृद्धि गर्दा लाग्दै आएको शुल्क भने नलाग्ने भएको छ ।

घरायसी ग्राहकका लागि

औद्योगिक ग्राहकका लागि

चार्जिङ स्टेसनका लागि


क्लिकमान्डु