धानबालीमा सवा ८ अर्बको क्षति, २ बीमा कम्पनीमा १५ लाखको माग दावी



काठमाडौँ । बेमौसमी वर्षातका कारण धान बालीमा पुगेको क्षति वापत बीमा कम्पनीमा १४ लाख ९० हजार रुपैयाँको माग दावी परेको छ ।

बीमा समितिले उपलब्ध गराएको कात्तिक ९ गतेसम्मको तथ्यांक अनुसार दुई बीमा कम्पनीमा सो रकम बराबरको माग दावी परेको हो ।

हिमालयन जनरल र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा १६ वटा बीमा दावी वापत सो रकमको माग दावी परेको हो ।

कृृषि तथा पशुपन्छी मन्त्रालयकाअनुसार असोज ३१ गतेदेखि निरन्तर परेको बेमौसमी वर्षाका कारण ७ वटा प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको क्षति पुगेको थियो ।

अविरल वर्षाका कारण सबैभन्दा धेरै प्रदेश १ मा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । वर्षाका कारण प्रदेश एकमा ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा असर पुग्दा ७ हजार ४ सय ९२ क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ । सो प्रदेशमा सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा भएको मन्त्रालयको तथ्यांक छ ।

सबैभन्दा धेरै क्षति पुगेका कारण बीमा कम्पनीमा पनि प्रदेश एकका दुई जिल्ला मोरङ र सुनसरीबाट माग दावी परेको छ ।

दि ओरियन्टल इन्स्योरेन्सले १६ वटा धान बीमालेख जारी गरेको थियो । कम्पनीले ५० लाख ५३ हजार रुपैयाँ बीमांकका १६ वटा बीमालेख जारी गरेको तथ्यांकमा उल्लेख छ । कम्पनीमा सुनसरी जिल्लाबाट ८ वटा दावी वापत ८ लाख १५ हजार १९१ रुपैयाँको माग दावी परेको छ ।

यस्तै, हिमालयन जनरल इन्स्योरेन्समा ८ वटा बीमा दावी पावत ६ लाख ७५ हजार रुपैयाँको माग दावी परेको छ । कम्पनीले ६३ लाख ३९ हजार ७५९ बीमांक रकमका ८ वटा बीमालेख जारी गरेको थियो ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार सात वटा कम्पनीले धान बीमालेख जारी गरेका छन् ।

सगरमाथा, दि ओरियन्टल, नेपाल, हिमालयन जनरल, नेपाल, नेको, नेशनल र अजोड इन्स्योरेन्सले बीमालेख जारी गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्सले ४ लाख बीमांकको एउटा बीमालेख जारी गरेको छ । उक्त कम्पनीमा कुनै पनि माग दावी परेको छैन ।

ओरियन्टल इन्स्योरेन्सले ५० लाख ५३ हजार रुपैयाँ बीमांकको १६ वटा बीमालेख जारी गरेको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले एक करोड ३ लाख ३६ हजार रुपैयाँ बीमांक बराबरको ३१ बीमालेख, हिमालयन जनरल इनस्योरेन्सले ६३ लाख ३९ हजार रुपैयाँ बीमांकको ५ बीमालेख, नेशनल इन्स्योरेन्सले ६ लाख ५ हजार बीमांक बराबरको एउटा बीमालेख, नेको इन्स्योरेन्सले ४ लख ८१ हजार रुपैयाँ बीमांक बराबरका ५ बीमालेख जारी गरेका छन् । भने अजोड इन्स्योरेन्सले ४ लाख ९१ हजार रुपैयाँ बीमांकका ३ वटा बीमालेख जारी गरेको देखिएको छ ।

बीमा समितिले लागतमा आधारित धान बाली बीमालेख र उत्पादनमा आधारित चैते धान बाली बीमालेख गरी दुई वटा बीमालेख जारी गरेको छ ।

धानबालीको बीमा अवधिभित्र हानी–नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम भुक्तानी दिनेछ । कम्पनीहरुले बीमाङ्क रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नु पर्ने व्यवस्था छ । आगलागी, चट्याङ भूकम्प, बाढी, डुवान, खडेरी पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक, दुर्घटनाजन्य बाह्य कारणहरु तथा किरा तथा रोगबाट हुनेहानी–नोक्सानी क्षति भएमा रक्षावरण हुन्छ ।


क्लिकमान्डु