रित्तिन थाल्यो विदेशी सञ्चिती, आयात यसैगरी बढे ऋण तिर्न समेत समस्या हुने
काठमाडौं । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड अमेरिकी डलरको विदेशी सञ्चिती थियो । कोभिडका कारण घटेको आयात तथा अनुमान विपरीत रेमिट्यान्स बढेको कारण विदेशी सञ्चिती २ अर्ब डलरले बढेको थियो ।
आयात घटेको तथा विदेशी सञ्चिती बढेको प्रभाव शोधानान्तरमा देखियो । २०७७ सालको असार मसान्तमा २ खर्ब ८२ अर्ब रुपैयाँले शोधानान्तर बचतमा थियो ।
२०७७ साल असार मसान्तमा भएको विदेशी सञ्चितीले एकवर्षको वस्तु तथा सेवा आयात धान्न सकिने स्थिती थियो । उच्च शोधानान्तर बचत तथा विदेशी सञ्चितीले बैंकिङ प्रणालीमा पैसा अत्यधिक भयो ।
२०७८ असार मसान्तमा आइपुग्दा भने विदेशी सञ्चिती ११ अर्ब ७५ करोड अमेरिकी डलर थियो । शोधानान्तर भने जम्मा १ अर्ब २३ करोडले बचतमा थियो । २०७८ असार मसान्तको विदेशी सञ्चितीले १० महिनाको वस्तु तथा सेवा आयातलाई धान्न सक्ने स्थिती थियो ।
कोभिडको कारण जारी भएको लकडाउनले आयात नभएको कारण विदेशी सञ्चिती पर्याप्त थियो । तर, लकडाउन हटेसँगै बढेको मागले आयात अत्यधिक हुँदा विदेशी सञ्चिती रित्तने खतरा बढेको छ ।
भदौ मसान्तसम्ममा ११ अर्ब १४ करोड अमेरिकी डलरमात्र विदेशी सञ्चिती छ । यसले ७.८ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न सकिने स्थिती छ । भदौ महिनासम्म शोधानान्तर समेत ८३ अर्बले घाटामा छ ।
अत्यधिक आयात बढ्दै गएपछि राष्ट्र बैंकले डलर सटहीमा समेत कडाई गरेको छ । अहिले सहजरुपमा नगदमा डलर साट्न नपाइने अवस्था छ । राष्ट्र बैंकले अहिले नगदमा २ सयभन्दा बढी डलर साट्न नदिन अनौपचारिक रुपमा बैंकहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागमा लामो समय बिताएका अर्थविद् नरबहादुर थापा उच्च आयातको कारण विदेशी सञ्चिती घट्दै गएमा नेपालको स्थिती श्रीलंका र पाकिस्तानको जस्तो स्थिती आउन सक्ने बताउँछन् ।
‘नेपालजस्तो देशका लागि ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी सञ्चिती आवश्यक हुन्छ, करिब त्यही स्थितीमा हामी पुगेका छौं, बढ्दो आयातले विदेशी सञ्चिती घट्दै गए हामीलाई अत्यावश्यक वस्तु आयात गर्न समेत नसक्ने स्थिती हुने छ,’ थापाले क्लिकमाण्डूसँग भने ।
माग बढी भएको कारण आयात निकै बढेको छ । भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात भएको छ भने ६५ अर्ब रुपैयाँको निर्यात भएको छ ।
६५ अर्बको निर्यातमा भट्मास तथा सुर्यमुखी तेलको निर्यातको हिस्सा बढी छ । निर्यात ६५ अर्बको भएपनि तेस्रो देशबाट आएको आयातलाई भारततर्फ निकासी गरेको हुँदा यसको भ्यालुएड हुन सकेको छैन ।
विदेशी सञ्चिती बढाउनका लागि चाहिने रेमिट्यान्स भने अघिल्लो वर्षको तुलनामाभन्दा घटेको छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा १ खर्ब ५५ अर्ब रुपैयाँको मात्र रेमिट्यान्स आएको छ । अघिल्लो वर्षभन्दा ८.१ प्रतिशतले घटेको छ ।
विदेशी सञ्चिती घट्दै गएमा नेपाललाई ठूलो असर पर्ने छ । नेपालले विदेशी दातृ निकायलाई तिनुपर्ने ऋण तिर्न समस्या हुने छ । यसबाहेक अत्यावश्यक रुपमा चाहिने वस्तुहरु पेट्रोलियम पदार्थको समेत आयात गर्न कठिनाई हुनेछ ।
यस्तो अवस्थामा नेपालसँग सुन बेचेर डलर किन्नुको विकल्प नहुने अर्थविद्हरु बताउँछन् । तीन महिनाको आयात स्थिती आगामी दिनमा कामय रहेमा यो वर्ष २० खर्ब रुपैयाँको आयात हुने बुझाई राष्ट्र बैंकका अधिकारीहरुको छ ।