विज्ञापनको बजार बिस्तार गर्नुपर्नेमा व्यवसायीको जोड



विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका छन् ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा विज्ञापन व्यवसायी तथा उद्योगीहरुले विज्ञापनको बजार बिस्तार गर्नुपर्ने बताएका हुन् ।

व्यवसायीहरुले विज्ञापनको बजारलाई बढाउन सकेमात्रै नेपालका सञ्चारमाध्यमहरुले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने धारणा राखे । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने बताए ।

बोर्डले विज्ञापन बजारको विकासका लागि नयाँ ढोका खोल्ने बताउँदै महत्वपूर्ण उपलब्धिको रुपमा रहेको विज्ञापन आचारसंहिता आजै जारी गर्ने र मस्यौदामाथि सरोकारवाला विज्ञहरुको सुझावका लागि महिना दिनको समयावधि तोकेको बताए ।

बोर्डले पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्ने बताए ।

अध्यक्ष हुमागाँईले विज्ञापन एजेन्सीहरुले आफ्नै स्तरले निकालेको तथ्यांकको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न लाग्ने रकम सरकारले दिनुपर्ने बताए ।

‘हाम्रो महत्वपूर्ण उपलब्धिको रुपमा रहेको विज्ञापनको आचारसंहिता आजै सार्वजनिक गर्नेछौँ, मस्यौदामाथि सरकोकारवाला विज्ञहरुको सुझाव एक महिना समयावधि तोकिएको छ, मंसिर ७ गतेसम्ममा प्राप्त सुझावलाई संकलन गरी पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्ने तयारीमा हामी छौँ, विज्ञापन बोर्डले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गर्नेछ, विज्ञापनको राष्ट्रिय नीतिले वर्तमान ऐनमा छुटेका डिजिटल मिडिया लगायत अन्य विषयलाई सम्बोधन गर्नेछ, विज्ञापन बजारको विकासका लागि हामी नयाँ ढोका खोल्नेछौँ, नेपालमा पत्रपत्रिकाको सर्कुलेशन, रेडियो, टेलिभिजन कभरेज, टेलिभिजनका दर्शक, डिजिटल मिडियाका भिजिटरको यकिन तथ्यांक पाउन सक्ने अवस्था छैन, विज्ञापन एजेन्सीहरुले आफ्नै स्तरले निकालेको तथ्यांकको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान छ, त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको छ, त्यसका लागि आवश्यक रकमको व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्दछु ।’ उनले भने ।

कार्यक्रममा मिडिया अलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र र सरकारले मनाउने विज्ञापन दिवस एउटै हुनुपर्ने बताए ।
उनले विज्ञापन कुनै चन्दा, दान, दक्षिणा नभएको उल्लेख गर्दै टीआरपी बढी हुनेले पाउने र समानुपातिक रुपमा बाँड्नु नपर्ने बताए ।

उनले नेपालमा अनुमानित १५०० करोड हाराहारीको विज्ञापन बजेट रहेको तर सञ्चारमाध्यमले त्यसको ५० प्रतिशत पनि नपाएको गुनासो गर्नुभयो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा अवैध तरिकाले विज्ञापन सञ्चालन भएको बताउँदै त्यसलाई रोक्नुपर्ने माग गरे ।

‘म आग्रह गर्न चाहन्छु, कमसेकम विज्ञापन दिवस निजी क्षेत्रको विज्ञापन संघले मनाउने र सरकारले मनाउने एउटै होस्, एउटै रहँदा राम्रो हुन्छ, विज्ञापनलाई समानुपातिक रुपमा बाँड्ने भनेर सैद्धान्तिक रुपमा निजी क्षेत्र बिरोधमा उत्रिँदै आएको छ, विज्ञापन चन्दा दान, दक्षिणा होइन, समानुपातिक रुपमा बाँड्नु हुँदैन, विज्ञापन बाँड्ने नभइ जसको टिआरपी बढी छ त्यसले पाउने विषय हो, नेपालको अनुमानित १५ सय करोड हाराहारीको विज्ञापन बजेट छ, सञ्चारमाध्यममा त्यो ५० प्रतिशत पनि आइरहेको छैन, करिव २०० करोड भन्दा बढी आँकलन गरिन्छ,३ सय करोड नाघिरहेको छ भनेर त्यो अनलाइनमा छ, फेसबुक, ट्वीटर, ह्वाट्सएपमा जसरी अवैध रुपमा विज्ञापन सञ्चालन भइरहेको छ, यसलाई तत्रकाल रोक्नुपर्छ, प्रविधिको नाममा भएको अवैध कारोवार रोक्न जरुरी छ, कोरोनाको यो कालमा सरकासँग हामीले सहुलियत दरमा ऋण मागेका थियौँ, दुई वर्ष भयो, पाएको छैन, सरकारले चाहिएको बेलमा हामीलाई प्रयोग गरेर अरु बेला चासो मुलधारका मिडियालाई चासो देखाएको छैन ।’ उनले भने ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले स्टेक होल्डरहरुको हक हीत सुरक्षित हुनेगरी विज्ञापन बजार बढाउनुपर्ने बताए ।
विज्ञापनमा केही विकृतिहरु केही व्यवसायीका कारण पनि भएको बताउँदै अध्यक्ष धितालले एजेन्सीहरुलाई मात्रै दलालको संज्ञा दिन नमिल्ने बताए ।

उनले सञ्चारमाध्यम बलियो बनाउन सके मात्रै सम्पादकीय स्वतन्त्रता सबल हुने भन्दै विज्ञापन दिए राम्रो र नदिए नराम्रो भन्ने परिपाटी अन्त्य गर्न राज्यले विज्ञापन बजारलाई बढाउनुपर्ने बताए ।

‘स्टेक होल्डरको हकहीतलाई सुरक्षित हुनेगरी विज्ञापन बजारको दायरा बढाउनुपर्छ, विज्ञापनमा केही विकृति केही व्यवसायीहरुको कारण पनि भएको छ, त्यसैले एजेन्सीहरुलाई मात्र विज्ञापनको दलाल, चोर भन्न मिल्दैन, सञ्चारमाध्यम बलियो हुन नसके सम्पादकीय बलियो र स्वतन्त्रता सबल, तटस्थ हुन सक्दैन, विज्ञापन दिँदैमा राम्रो नदिए नराम्रो भन्ने परिपाटी अन्त्य गर्न राज्यले विज्ञापन बजारलाई बढाउने काम गर्नुपर्छ ।’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोसल मिडियालाई व्यवस्थित बनाउन र करको दायरामा ल्याउन सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले मिडियाले विज्ञापन पाउन कन्टेन्ट राम्रो हुनुपर्ने बताए ।

अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायलाई सरकारले अति प्रभावित क्षेत्रमा राख्नुपर्ने माग गरे ।

मिडियालाई विज्ञापन चाहिने र विज्ञापन बढाउन व्यवसाय बढाउनु पर्ने भन्दै सरकारले व्यवसाय जति बढाउन सक्यो त्यति नै विज्ञापन बढ्ने बताए ।

‘सोसल मिडियालाई कसरी व्यवस्थित बनाउने, कसरी करको दायरामा ल्याउने, त्यसको पेमेण्ट्स कसरी वैध बनाउने यो कुरामा ध्यान पुर्याउनुपर्छ, यो क्षेत्रलाई निरुत्साहीत गर्ने भन्ने कुरामा हामी असहमत छौँ, मिडियाको कन्टेन्ट राम्रो हुनुपर्छ र मात्रै विज्ञापन आउँछ, जबसम्म मिडियाको कन्टेन्ट राम्रो हुँदैन, तबसम्म हाम्रो मिडियामा विज्ञापन बढ्दैन, सञ्चारमाध्यमलाईक अति प्रभावित क्षेत्रमा राखिए जस्तै विज्ञापन व्यवसायलाई पनि अति प्रभावित क्षेत्रमा राख्न हामी माग गर्दछौँ ।’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताए ।

विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा स्थापित नगरेसम्म विज्ञापन र मिडिया सन्दर्भ, सम्बन्ध सही ढंगले परिमार्जित गरेको नठहरिने तर्क गरे ।
‘विज्ञापन मिडियाको अधिकार हो, विज्ञापन मिडियाको अधिकार हो भन्ने कुरा जबसम्म स्थापित हुँदैन तबसम्म विज्ञापन र मिडिया सन्दर्भ र सम्बन्धमा सही ढंगले परिमार्जित गरेको ठहरिँदैन ।’ उनले भने ।


क्लिकमान्डु