कोइला संकटः नेपालमा सिमेन्टसहित निर्माण सामग्रीको मूल्य बढ्ने



काठमाडौं । विश्व बजारमा देखिएको कोइलामा भएको मूल्यवृद्धि तथा छिमेकी देशहरु भारत र चीनमा कोइला संकटले नेपालको निर्माण उद्योगमा प्रभाव पर्ने भएको छ ।

कोइला संकटले मुख्य गरेर निर्माणका लागि आवश्यक मुख्य सामग्रीहरु सिमेन्ट, डण्डी तथा इँटाको मूल्य बढ्ने देखिएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा विश्व बजारमा कोइलाको मूल्यवृद्धिसँगै अभाव भएको कारण सिमेन्टको मूल्य बढ्ने बताउँछन् ।

‘सिमेन्ट उत्पादन गर्नका लागि कोइलाबिना सकिने अवस्था हुँदैन, कोइलाको समस्या समाधान नभएमा सिमेन्ट उद्योग नै बन्द हुने अवस्था हुन्छ,’ थापाले क्लिकमाण्डूसँग भने ।

विश्वमा सबैभन्दा बढी कोइला खपत गर्ने भारत पर्छ । लकडाउनपछि भारतीय बजारमा विजुलीको माग निकै बढ्यो । जसले गर्दा कोइलाको अभाव भएको छ । भारतमा विजुली आपूर्ति हुने प्रमुख स्रोतमा कोइला पर्छ ।

सिमेन्ट तथा डण्डी उद्योग सञ्चालन गरेको सौरभ ग्रुपका अध्यक्ष उद्योगी बिष्णु न्यौपाने कोइला संकटको कारण सिमेन्ट मूल्य २० प्रतिशतसम्म बढ्न सक्ने बताउँछन् ।

‘१५ देखि १६ रुपैयाँ किलोमा पाइने कोइला अहिले ३४ रुपैयाँ पुगिसकेको छ, भारतमा देखिएको संकट नहटेमा कोइला संकटले सिमेन्ट उद्योग चलाउन नसक्ने स्थिती हुन्छ,’ न्यौपाले क्लिकमाण्डूसँग भने ।

नेपालले भारत तथा तेस्रो मुलुकबाट कोइलाको आयात गर्ने गर्छ । गतवर्ष ५ अर्ब ७३ करोड रुपैयाँको कोइला भारतबाट तथा २ अर्ब ७१ करोड रुपैयाँको कोइला तेस्रो मुलुकबाट आयात गरेको थियो ।

नेपालले भारत बाहेक दक्षिण अफ्रिकाबाट कोइला आयात गर्ने गर्छ ।

भारतमा भएको अत्यधिक मागका कारण कोइला संकट हुँदा भारतले निर्यात गर्ने सम्भावना हुँदैन । जसले गर्दा निर्माण सामग्रीको उद्योगमा असर पर्ने हुन्छ ।

दक्षिण अफ्रिकाबाट आयात गर्दा लाग्ने सिपिङ चार्ज समेत बढेको छ । कोइलाको आपूर्ति सहज नभएमा सिमेन्ट प्रतिबोरा ५० रुपैयाँदेखि १०० सम्म बढ्न सक्ने उद्योगी न्यौपाने बताउँछन् ।

‘अबको १० दिन पुरानो स्टकले धानेपनि अब आउने कोइलाको मूल्य बढेर आउने हुन्छ, जसले गर्दा सिमेन्टको मूल्य बढ्ने छ,’ न्यौपानेले भने ।
नेपालमा विजुली उत्पादनका लागि कोइलाको प्रयोग नभएपनि सिमेन्ट, डण्डी तथा इँटा उद्योगमा कोइलाको प्रयोग हुने गर्छ । डण्डी उद्योगलाई खासै प्रभाव नपारेपनि कोइलाको संकटले इँटा उद्योगलाई पनि समस्या पार्ने छ ।

तिहार सकिएपछि नेपालमा निर्माणको काम शुरु हुने भएकाले अब इँटा उत्पादन गर्ने समय हो ।


क्लिकमान्डु