राजस्व असूलीमा भरतपुरको चमत्कारः मध्य असोजसम्ममा उठायो लक्ष्यभन्दा धेरै कर




काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा झण्डै ४ अर्ब १३ करोढ ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको लक्ष्य जम्मा ३ अर्ब ८४ करोड रुपैयाँ तोकेको थियो । तर, कार्यालयले २ महिना २० दिनमै लक्ष्यको झण्डै १०८ प्रतिशत राजस्व संकलन गरेर राजस्व सङ्कलनमा आफ्नो प्रभावकारी सक्रियता पुष्टि गरेको हो ।


राजस्व संङ्कलनमा मुख्य हिस्सा ओगट्ने शिर्षकहरु आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्वि कर (भ्याट) हुन् । यी तीनै शिर्षकबाट सङ्कलित रकमलाई शिर्षकगत रुपमा हेर्दा आयकरतर्फ लक्ष्यभन्दा २ गुणा बढी राजस्व सङ्कलन भएको छ । २५ करोड ९४ लाख रुपैयाँ सङ्कलनको लक्ष्य भएपनि कार्यालयले ५२ करोड ४८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


त्यस्तै अन्तःशुल्कतर्फ २ अर्ब ९४ करोड ८३ लाखको लक्ष्य रहेकोमा लक्ष्यको शतप्रतिशतभन्दा बढी अर्थात् ३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


त्यसैगरी मूल्य अभिवृद्वि कर (भ्याट) तर्फ भने कार्यालयलाई लक्ष्य भेट्टाउन केही समस्या परेको छ । भ्याटतर्फ यही असोज महिनासम्म ५३ करोड ६० लाख ४८ हजार रुपैयाँ सङ्कलनको लक्ष्य रहेकोमा कार्यालयले ३४ करोड २८ लाख ४० हजार रुपैयाँमात्र सङ्कलन गरेको छ । करदाताले भ्याट बुझाउनका लागि अझै ३ दिन बाँकी रहेकाले यो अङ्क बढ्ने निश्चित छ । यद्यपि भ्याट सङ्कलनको लक्ष्य नै भेट्टाउन भने केही कठिन रहेको कर कार्यालयका अधिकारीहरु बताउँछन् ।


खासगरी यस क्षेत्रमा १ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने फर्महरु अत्याधिक रहेको र तीनीहरुबाट भ्याट रकम न्यून सङ्कलन हुने कार्यालयका अधिकारीहरुको भनाइ छ । ती मध्येपनि नन्फाइलरहरुको सङ्या उल्लेख्य रहेकोले भ्याटको लक्ष्य भेट्न केही समस्या रहेको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत भवानी प्रसाद पौडेलले जानकारी दिए ।


त्यस्तै विश्वव्यापी महामारीको रुपमा रहेका कोभिड–१९ का कारण लामो समय ठप्पजस्तै भएको नेपाली अर्थतन्त्रले विस्तारै गति लिन थालेको अवस्थामा एउटा शिर्षकको राजस्व संङ्कलनलाई मात्र प्राथमिकतामा राखेर हेर्न नहुने उनको तर्क छ ।


अर्कोतर्फ यस क्षेत्रभित्र ठूलो आकारमा कारोबार गर्ने करदाताहरुको फाइल काडमाण्डौंस्थित ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयले हेर्ने हुनाले पनि राजस्व संङ्कलनमा भ्याटको हिस्सा केही कम हुन पुगेको हो भन्छन् अर्का कर अधिकृत सन्जय शरदार ।


त्यस्तै म्याद गुज्रने फाईलहरु र पूर्णकर परिक्षणमा परेका फाइलहरुलाई प्राथमिकतामा राखेर समयमै फरफारक गर्ने कार्य निरन्तर चलिरहेकोले जुनसुकै शिर्षकमा पनि चालु आर्थिक वर्षको लक्ष्य प्राप्ति गर्न कठिनाई नहुने उनको तर्क छ ।


यस कार्यालयले चालु आर्थिक वर्षको आसार मसान्तसम्म २१ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्नेछ । जसमध्ये अन्तःशुल्क मात्रै १६ अर्ब ९१ करोड रुपैयाँ सङकलन गर्ने लक्ष्य राखिएको छ । यस क्षेत्रमा विशेषगरी मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरु धेरै रहेकाले पनि यस कार्यालयलाई अन्तःशुल्क वेस लक्ष्य प्रधान गर्ने गरिएको हो ।


विगतमा देशभरका झण्डै ८४ वटा कर कर्यालयहरुमध्ये राजस्व सङ्कलन र उत्कृष्ट कार्यसम्पादनका आधारमा दोस्रो स्थानमा पर्ने भरतपुर कर कार्यालय गत वर्ष भने चौथो स्थानमा परेको थियो । ठूला कारोबारीको फाइल काडमाण्डौंस्थित ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयले हेर्ने हुनाले पनि केही स्थान तल झर्नुपरेको तर राजस्व सङ्कलन र गुणस्तरीय कार्यसम्पादनमा कुनै सम्झौता नगरिएको र नगरिने अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु