साढे ४ करोड लगानीमा खसीबोका बजार केन्द्र बन्दै, सातै प्रदेशमा निर्माण गर्ने तयारी



फाइल

काठमाडौं । नेपालमा पहिलो पटक अत्याधुनिक तरिकाबाट केन्द्रीय खसीबोका बजार केन्द्र निर्माण भएको छ । नेपाल चौपाया खरिद बिक्री कृषि फार्म ग्रुपले पहिलो पटक देशकै नुमूनायुक्त खसीबोका बजार केन्द्र बनाएको हो ।

हालसम्म नेपालमा खसीबोका बजारका लागि उपयुक्त बजार छैन । व्यवसायीहरूले आफ्नै लगानीमा विभिन्न स्थानमा खसीबोका बजार स्थापना गरी खरिद बिक्री गर्दै आएका छन् ।

खसीबोका व्यवसायीहरूले सरकारसँग कालीमाटी तरकारी बजार जस्तै खसीबोका बजार सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

तर, सरकारसँग विभिन्न चरणको छलफल तथा अन्तक्रिया गरे पनि सञ्चालनमा सकारात्मक नदेखिएपछि व्यवसायीको निजी लगानीमा चन्द्रागिरि नगरपालिकाको दहचोकमा चौपाया पालन संकलन खरिद बिक्री केन्द्र निर्माण गरिरहेको चौपाया संघका सचिव युवराज पराजुलीले बताए ।
‘व्यवसायीहरूले सरकारसँग भएको जग्गा लिजमा उपलब्ध गराउन पहल गरेको थियो । तर, सरकारले वास्तै नगरेपछि सुविधासम्पन्न खसीबोका, भेडा, च्याङ्ग्राको बजार बनाउँदै गरेको हो,’ उनले भने ।

व्यवसायीहरूले सो क्षेत्रमा १७ रोपनी जग्गामा खसीबोका केन्द्र निर्माण गरिरहेको छ । व्यवसायीहरूले उक्त जग्गा लिजमा लिएको जनाएको छ । उनकाअनुसार व्यवसायीहरूको साढे ४ करोड संयुक्त लगानीमा सो केन्द्र बन्ने भएको हो । व्यवसायीहरूले आफै खटेर निर्माण गर्दा उक्त खर्च भएको जनाएको छ । तर, यदि अरूलाई ठेक्का दिएको अवस्थामा करिब ६ करोड लगानी हुने उनको भनाइ छ ।

व्यवसायीहरूले गत वर्षको पुस महिनादेखि निर्माण कार्य अगाडि बढाएको थियो । हालसम्ममा सो केन्द्रको ६५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत बाँकी रहेको छ ।

व्यवसायीहरूले उक्त खरिद बिक्री केन्द्र यो वर्षको दशैंमा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, कोभिड–१९ ले गर्दा धेरै कामपछि धकेलिएकोले आगामी नयाँ वर्षसम्ममा सञ्चालनमा ल्याउने गरी तयारी गरेको पराजुलीले बताए ।

‘हामीले गत पुसबाट निर्माण कार्य सञ्चालन गरी यस दशैंमा सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, दोस्रो लहरको कोरोनाले निकै असर पा¥यो,’ उनले भने, ‘अहिले निरन्तररुपमा ३ महिना मात्रै काम भएको छ । त्यसैले आगामी नयाँ वर्षसम्म सम्पूर्ण तयारी गरी उद्घाटन गरी सञ्चालनमा ल्याउँछौं ।’

यस्तो व्यवस्था हुनेछ
व्यवसायीहरूका अनुसार उक्त खसीबोका केन्द्र भ्रमण, अवलोकन र व्यापार गर्न लायक बजार हुने दाबी गरेको छ । केन्द्रभित्र बैंकिङ सुविधा, वित्तीय कारोबारको वातारण र सुरक्षा गार्डसहितको केन्द्र निर्माण भइरहेको छ ।

केन्द्रभित्रै व्यवसायीलाई आवासको व्यवस्थापन गर्नेछ । साथै, खानेपानी, शौचालयलगायत अन्यको सुविधा हुनेछ । व्यवसायीहरूले सोही क्षेत्रमा अन्य व्यवसायको लागि केन्द्र अगाडि १८ वटा सटर निर्माण गरेको छ ।

‘समान्यतया व्यवसायीलाई आवास र आर्थिक रुपमा व्यवस्था हुनुपर्ने हो । सोहीअनुसार सबैको व्यवस्था हुनेछ,’ उनले भने ।

निर्माण भइरहेको केन्द्रमा व्यवसायीहरूले पालनका लागि छुट्टै एउटा स्टल व्यवस्था गरेको छ । त्यसैगरी, देशका विभिन्न स्थानबाट संकलन गरेर ल्याएकालाई व्यवस्थापनका लागि ३०/५० को ५ वटा खोरको व्यवस्था हुनेछ । त्यसमा, खरिदबिक्रीका लागि भने १५/३० को ४० वटा स्टल निर्माण गरी गरेको छ ।

व्यवसायीहरूले उपत्यकाका लागि सुरक्षित, व्यवस्थित र फोहोरमैलाको व्यवस्थापनसहित केन्द्र निर्माण हुने उनले उल्लेख गरे । उक्त केन्द्र सञ्चालनमा आएमा वार्षिक ४० करोड बढी रकमको कारोबार हुने अपेक्षा गरेको उनले जानकारी दिए ।

प्रदेशस्तरीय बजार बनाउने तयारी
व्यवसायीहरूले उपत्यका मात्रै नभएर सातैवटा प्रदेशमा खसीबोका केन्द्र बनाउने तयारी गरेको छ । दोस्रो चरण्मा भक्तपुरमा पाठा बजार निर्माण गर्ने भएको छ । तेस्रो चरणमा २ नम्बर प्रदेशबाट शुरू हुने उनले बताए ।

त्यसैगरी, विस्तारै देशभरका सातै प्रदेशमा खसीबोका बजार केन्द्र निर्माण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

‘हामीले सम्बन्धित प्रदेश सरकारको र व्यवसायीको छलफलपश्चात कहाँ बनाउँदा उचित हुन्छ । सोहीअनुसार सरकारले अनुदान प्रदान गर्न पहल गरी निर्माण गर्नेछौं,’ उनले भने ।

किसानलाई पहिलो प्राथमिकता
सुवा सुविधा सम्पन्नसहित बन्दै गरेको बजारले पहिलो प्राथमिकता किसानलाई दिइएको उनको भनाइ छ । व्यवसायीहरूले जिल्लामा पालन गर्ने किसानलाई पहिलो प्राथमितामा राखेर खरिद गर्ने भएको छ । त्यसमा विचौलियालाई विस्थापन गर्ने र महंगोलाई नियन्त्रण गर्ने योजना बनाएका छन् ।

त्यसैले, उपभोक्ताले सहजै रुपमा खसीबोका, च्याङ्ग्रा र भेडाको उपभोग गर्न पाउने विश्वास लिएको छ । साथै, अहिले कोरोनाले गर्दा क्वारेन्टिको व्यवस्था गर्नुपर्ने नियम रहेको छ ।

सोहीअनुसार बजार केन्द्रमा क्वारेन्टिन निर्मान गरेको जनाएको छ । जसले गर्दा उपभोक्ताले स्वस्थ रुपमा मासुको उपभोग बनाएको उनको दाबी छ ।


क्लिकमान्डु