एक दर्जन बैंकको लाभांश एक महिनाभित्रै घोषणा हुने, कसको कति क्षमता ?



काठमाडौं । एक दर्जन वाणिज्य बैंकको लाभांश एक महिनाभित्रमा घोषणा हुन सक्ने देखिएको छ । २७ वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा २६ वटा वाणिज्य बैंक नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचिकृत छन् ।

वाणिज्य बैंकहरुमा अहिलेसम्म ४ वटा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने बैंकहरुमा माछापुच्छ्रे, सानिमा, सिटिजन्स र कुमारी बैंक छन् ।

राष्ट्र बैंकमा अहिले लाभांश घोषणा अगाडिको वित्तीय विवरण स्विकृतिको लागि एक दर्जन वाणिज्य बैंक पुगेका छन् ।

राष्ट्र बैंकका विवरण लाभांश घोषणा गर्न वित्तीय विवरण स्विकृति पर्खाइमा रहेका बैंकहरुमा एनआईसी एसिया, नबिल बैंक, बैंक अफ काठमान्डू, नेपाल इन्भेष्मटेन्ट, हिमालयन बैंक रहेका छन् । यस्तै सिद्धार्थ, लक्ष्मी, नेपाल बंगलादेश, एभरेष्ट, स्टाण्डर्ड चार्र्टर्ड बैंक तथा नेपाल बैंक छन् ।

मर्जरमा जाने सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले एउटै समयमा लाभांश घोषणा गर्न सक्छन् । हिमालयन बैंकले २० देखि २२ प्रतिशतको हाराहारीमा लाभांश घोषणा गर्न सक्छ । जसमा १६ देखि १८ प्रतिशतसम्म बोनस सेयर तथा २ देखि ४ प्रतिशतसम्म नगद लाभांश हुनसक्छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १२ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्छ । जसमा १० देखि १२ सम्म बोनस तथा २ देखि ३ सम्म नगद लाभांश हुनसक्छ ।

सेयरधनीलाई आकर्षक लाभांश दिइरहेको नबिल बैंकले ३० प्रतिशत हाराहारीमा लाभांश घोषणा गर्न सक्ने देखिन्छ । जसमा २५ प्रतिशतसम्म बोनस सेयर ५ प्रतिशतसम्म नगद लाभांश हुनसक्छ ।

यस्तै एनआइसी एशिया बैंकले १७ प्रतिशतसम्म, एनबी बैंकले १४ प्रतिशतसम्म तथा सिद्धार्थ बैंकले १२ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने सम्भावना देखिएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले १४ प्रतिशतसम्म, लक्ष्मी बैंकले १६ प्रतिशतसम्म लाभांश घोषणा गर्नसक्छ ।

राष्ट्र बैंकको यो वर्षको नीतिपनि नगद लाभांशभन्दा बोनस सेयरलाई प्रोत्साहन गर्ने छ । त्यो हुँदा क्षमता भएपनि एभरेष्ट तथा चार्टर्ड बैंकले भने कम लाभांश दिएर रिजर्भमा पैसा राख्न सक्ने सम्भावना छ । एभरेष्टले २० देखि २५ प्रतिशतसम्म लाभांश दिनसक्छ ।


क्लिकमान्डु