रेवतबहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरु’ नामक पुस्तकको विमोचन



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले शनिबार आयोजित एक कार्यक्रमका बीच डा.रेवतबहादुर कार्कीद्वारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तकको विमोचन गरेका छन् ।

सो पुस्तकलाई हाइडेल प्रेसले प्रकाशित गरेको हो । साथै, एम.के. डिष्ट्रिव्युटर्सले विक्री वितरणको प्रवन्ध गरेको छ ।

पुस्तक विमोचनका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा.महतले उदार आर्थिक नीतिप्रति सर्वदलीय सहमति भै सुशासनको आधारमा व्यवसायिकताका साथ कार्यान्वयन क्षमता वृद्धि गर्न सकेमा मुलुकले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने र यसले दिगो आर्थिक विकासलाई सहयोग पु¥याउने धारणा व्यक्त गरे ।

मुलुकको अर्थतन्त्रको वास्तविक, सार्वजनिक, वित्तीय र वाह्य सवै क्षेत्रहरुलाई समेटी पुस्तकमा सूचनामूलक सामाग्री, व्याख्या, विश्लेषण र सुझावहरु रहेको चर्चा गर्दै उनले भने, ‘अर्थतन्त्रका बारेमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी हुनेछ ।’

सो कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुरेलले भने, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुति गर्दै भूपरिबेष्ठितपन, क्षेत्रगत उपलब्धिको विवेचना, आर्थिक र शासकीय नीतिमा ल्याईएका परिवर्तन र तिनका प्रभावका विविध पक्षको समालोचना प्रशंसनीय छ । पुस्तकको महत्व यस कारणले पनि बढेको छ किनभने यसमा विश्वको वर्तमान चिन्ता र नेपालको अवस्थाको सही चित्रण व्यवासायिकतापूर्ण ढंगबाट गरिएको छ ।’

प्रा.डा.प्याकुरेलले कोभिड–१९ को महामारीको कारण अहिले हामी सामू व्यक्तिको जीवन रक्षा र घाइते अर्थतन्त्रको उपचार तथा पुनरुत्थान प्रमुख समस्याको रूपमा देखापरेको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य तथा अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले कितावको वारेमा टिप्पणी गर्दै समालोचनात्मक समीक्षा गरे ।

लेखक डा.कार्कीले पनि पुस्तकका विविध पक्षवारे प्रकाश पार्दै आफ्ना धारणा राखे ।

सो अवसरमा डा.कार्कीले विगत ४० वर्षदेखि नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा आर्थिक, वैकिंङ/मौद्रिक, पुँजीवजार र वाह्य क्षेत्र/आयामसम्वन्धी काम गर्दाको अनुभवको आधारमा आफूले वुझेको नेपालको अर्थतन्त्र र यसका विभिन्न पक्षहरुको बारेमा विश्लेषण गर्ने जमर्को गरेको जानकारी दिए ।

यस पुस्तकमा अर्थतन्त्रका चार वटा मुख्य पाटो मानिने वास्तविक क्षेत्र, सार्वजनिक/सरकारी वित्त, वित्तीय (मौद्रिक र पूजीवजार)क्षेत्र र बाह्य/वैदेशिक व्यापार तथा भुक्तानी गरी चार आयामका बारेमा चर्चा गरिएको छ ।

परिचयात्मक खण्ड अन्तर्गत नेपालको अर्थतन्त्र तथा यसका प्रमुख विषयवस्तुहरु र अर्थतन्त्रको झलकसहित नेपालको अर्थतन्त्रका समष्टिगत समस्या र चुनौतीहरुलाई संक्षिप्तरुपमा उल्लेख गरिएको छ ।

पुस्तकको प्रथम खण्डमा अर्थतन्त्रको वास्तविक क्षेत्र/आयामको परिचय, विशेषता, चुनौती, अवस्थाको झलक, राष्ट्रिय लेखा तथा तथ्यांकको विश्वसनियता आदि पक्षका बारेमा विभिन्न पाटोबाट चर्चा गरिएको छ ।

त्यस्तै माग तथा आपूर्ति पक्ष, वास्तविक क्षेत्रको वर्तमान अवस्था, महामारीबाट परेको प्रभाव र यसबाट फुत्किने उपायका साथै सम्पूर्ण नेपालीले चाहेको आफ्नै जीवनकालमा देखिने समृद्धिका लागि आवश्यक पर्ने उपायहरुका बारेमा पनि पुस्तकमा सकारात्मक छलफल र व्यवहारिक उपायहरुको प्रस्ताव गरिएको छ ।

नेपालले आगामी बर्षका विभिन्न चरणमा समृद्धिका निश्चित उपलब्धिहरु हासिल गर्नका लागि दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र त्यसका लागि अपनाउनुपर्ने विभिन्न नीतिगत व्यवहारिक उपायहरु र कार्यान्वयनका लागि आवश्यक पर्ने आँट र साहसका बारेमा पनि यस खण्डमा उल्लेख गरिएको छ ।

साथै, यस खण्डमा राज्यले आफ्ना अशक्त, वृद्धवृद्धा, एकल महिला, अपाङ्ग, सामाजिकरुपले संवेदनशील नागरिकलाई सामाजिक सुरक्षा छातामा ल्याई लक्ष्यित वर्गलाई नछुटाउने र दोहोरो तेहरो सुविधा पाएकाहरुलाई अलग गर्ने भन्ने विषयहरु समेटिएका छन् ।

पुस्तकको दोस्रो खण्डमा सरकारले प्रत्यक्षरुपमा नीतिगत हस्तक्षेप गरी सुधार र परिवर्तन ल्याउने सरकारी वित्तका बारेमा चर्चा गरिएको छ ।

परिचयदेखि हालको वित्त अवस्था, यस क्षेत्रका प्रमुख समस्या, चुनौती, सुधार गर्नुपर्ने पक्ष, विभिन्न पक्षका प्रवृत्तिहरु, परिवर्तन ल्याउने मुख्य बजेट तथा वित्त नीति, बजेटमा प्रस्तावित विभिन्न नीति तथा तिनको उपलब्धि र अन्य पक्षका बारेमा समीक्षात्मक टिप्पणीहरु समेटिएका छन् ।

पुस्तकको तेस्रो खण्डमा अर्थतन्त्रका वित्तीय आयामका बारेमा उल्लेख गरिएको छ ।

यस खण्डलाई वैकिङ्ग/मौद्रिक आयाम र पूजीवजारका वारेमा केन्द्रित गरिएको छ । वैकिङ्ग/मौद्रिक परिचय, दक्षिण एशियामा नेपालको वैकिङ्गक्षेत्र, वैकिङ्ग/मौद्रिक क्षेत्रका प्रमुख विशेषताहरु,वैकिङ्ग/मौद्रिक आयामका झलक वैकिङ्ग/मौद्रिक आयामका प्रमुख चुनौतीहरु आदिका बारेमा चर्चा गरिएको छ ।

त्यसैगरी उदारिकृत वित्तीय प्रणालीमा आगामी मौद्रिक नीति कस्तो हुनुपर्ने नियन्त्रणमुखीवाट अझ थप उदारीकरणतर्फ जानुपर्ने आवश्यकता नेपालमा वैंकिङ्ग/वित्तीय क्षेत्रको सुधार, उपलव्धि तथा चुनौतीहरु, वैंकिंङ्ग/वित्तीय क्षेत्रमा प्रभाव पार्ने नेपाल राष्ट्र वैकका पछिल्लो समयका कामकारवाहीहरुको मूल्यांकन, कोरोनाभाइरस, नेपाली अर्थतन्त्र र लघुवित्त,वित्तीय क्षेत्रका दशा र दिशा, न्यून लगानी र उच्च तरलताबीच संकुचनकारी नीतिका प्रभाव र असरहरुका बारेमा विश्लेषणात्मक ढंगले केलाउने प्रयास गरिएको छ ।

साथै वैकिंङ्ग/वित्तीय क्षेत्रका वर्तमान प्रवृत्ति, समस्या तथा चुनौतीहरु र वित्तीय सुपरिवेक्षण प्राधिकरणको आवश्यकताका बारेमा पनि यस खण्डमा चर्चा गरिएको छ ।

त्यस्तै नेपालको पूँजीबजार निजीक्षेत्रलाई पुँजी संकलन गर्ने र सेयर, ऋणपत्र लगायत अन्य पूँजी बजारका उपकरणहरुलाई चाहेको बखत खरिद विक्री गर्ने प्रभावकारी माध्यमको रुपमा विकास गरिएको छ ।

यस क्षेत्रका समस्या, प्रवृत्ति, वर्तमान अवस्था, यस क्षेत्रमा गर्नुपर्ने सुधारहरु, अर्को निजी क्षेत्रमा स्टकएक्स्चेंज ल्याई बजारको प्लेटफर्मलाई अझ प्रतिस्पर्धी बनाउँनु पर्ने, नियमन निकाय र वजारसहभागीहरुको क्षमता विकास गरी वजारलाई अन्तराष्ट्रियकरण लैजाने विषयहरु पनि यस खण्डमा समेटिएका छन् ।

अर्थतन्त्रको अर्को महत्वपूर्ण पाटो हो, बाह्य तथा वैदेशिक व्यापार र भुक्तानी । पुस्तकको चौथो खण्डमा बाह्य/वैदेशिक वैदेशिक व्यापार तथा भुक्तानी आयामको परिचय,बाह्य आयामको संरचना र महत्वपूर्ण पक्षहरु, वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्रका प्रमुख विशेषताहरु, वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्र एक झलक,वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्रका मुख्य चुनौतीहरु, नेपालमा वैदेशिक लगानीः वाधक तत्वहरु र समाधानका उपायहरु,नेपाली अर्थतन्त्रको लयसंगै वाह्य क्षेत्रको स्थितिको पनि समीक्षा विश्लेषण गरिएको छ ।

त्यसैगरी नेपालमा वैदिशक लगानी, वैदेशिक ऋण र वाह्य जगतमा वस्तु तथा सेवा निर्यात वढाउन देशको शाख के्रडिटको अपरिहार्यतावारे पनि व्याख्या गर्दै विण्डफल शोधनान्तर वचतमा लिनुपर्ने सावधानीका बारेमा पनि चर्चा र विश्लेषण गरिएको छ ।


क्लिकमान्डु