बिक्री भयो एयर इन्डिया, ६८ वर्षपछि फेरि टाटाको स्वामित्वमा आयो



भारतीय सरकारी विमान कम्पनी एयर इन्डिया बिक्री भएको छ । जसका कारण ६८ वर्षपछि विमानको स्वामित्व टाटा ग्रुपमा हस्तान्तरण हुने भएको छ । भारतीय सरकारले घाटामा गएको एयर इन्डियालाई लामो समयदेखि बिक्री गर्ने प्रयास गरिरहेको थियो ।

पछिल्लो पटक एयर इन्डिया खरिद गर्नका लागि टाटा ग्रुप र स्पाइसजेटका अजय सिंह बोलकबोलमा सहभागी भएका थिए । जसमा सरकारले टाटाले लगाएको बोली स्वीकार गरेको थियो । भारत सरकारले यसअघि एयर इन्डिया बिक्रीका लागि शतप्रतिशत हिस्सेदारी बिक्रीका लागि टेन्डर आह्वान गरेको थियो । एयर इन्डियाको अर्को कम्पनी इन्डिया सेट्समा भउको ५० प्रतिशत सेयर समेत भारत सरकारले बिक्री गर्नेछ ।

एयर इन्डिया बिक्री गर्नका लागि जुन समिति बनेको छ त्यसमा भारतीय वित्त मन्त्री निर्मला सितारमण, कमर्श मन्त्री पियुष गोयल र पर्यटनमन्त्री ज्योतिरादित्य सिंधिया छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार एयर इन्डिया रिजर्भ प्राइस १५ देखि २० हजार करोड भारुसम्म तय गरिएको छ ।

टाटा ग्रुपले स्पाइस जेटका अध्यक्ष अजय सिंहको तुलनामा करिब ३ हजार करोड बढीको बोली लगाएका थिए । जसअनुसार ६८ वर्षपछि एयर इन्डिया पुरानै घरमा फिर्ता आएको छ ।

सन् १९३२ मा टाटाले शुरु गरेका थिए एयर इन्डिया
एयर इन्डिया विमान सन् १९३२ मा टाटा ग्रुपले नै शुरु गरेको थियो । टाटा ग्रुपका जे. आर. डी टाटा यसका संस्थापक थिए । उनी आफै पनि पाइलट थिए । तत्काली समयमा यो विमानको नाम टाटा एयर सर्भिस राखिएको थियो । सन् १९३८ सम्म कम्पनीले आन्तरिक उडान शुरु गरिसकेको थियो । दोस्रो विश्वयुद्धपछि यसलाई सरकारी कम्पनी बनाइएको थियो । भारत स्वतन्त्र भएपछि सरकारले विमानको ४९ प्रतिशत हिस्सा खरिद गरेको थियो ।

मुम्बईको अफिस पनि डिलमा
यो सम्झौताअनुसार एयर इन्डियाको मुम्बईस्थित मुख्य कार्यालय तथा दिल्लीको एयरलाइन्स हाउस पनि संलग्न छन् । मुम्बईको अफिसको बजार मूल्य १५०० करोड भारुभन्दा बढी छ । अहिलेको समयमा एयर इन्डियाले भारतभर ४४०० तथा विदेशमा १८०० ल्यान्डिङ तथा पार्किङ स्लट नियन्त्रण गर्दछ ।

ठूलो ऋणमा डुबेको कम्पनी
एयरलाइन्स ठूलो ऋणको चंगुलमा फसेपछि भारत सरकारले लामो समयदेखि बिक्री गर्ने योजना बनाएको थियो । तर यसअघिका कैयन पटक सरकार बिक्री गर्नका लागि असफल भएको थियो । भारत सरकारले सन् २०१८ मा ७६ प्रतिशत सेयर बिक्री गर्नका लागि आह्वान गरेको थियो । तर तत्कालीन समयमा व्यवस्थापन आफ्नै नियन्त्रणमा राख्ने बताएको थियो । तर यो सर्तमा कुनै पनि कम्पनीले चासो नदेखाएपछि भारत सरकारले व्यवस्थापनका साथै शतप्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

सन् २००० देखि बिक्री गर्ने प्रयास
भारत सरकारले सबैभन्दा पहिले सन् २००० मा एयर इन्डिया बिक्री गर्ने निर्णय गरेको थियो । तत्कालीन समयमा अटल बिहारी बाजपेयीको नेतृत्वमा रहेको राष्टिय जनतान्त्रिक गठबन्ध सरकारले मुम्बईको सेन्टार होटलसहित कैयन कम्पनीमा लगानी गरिएको थियो । तत्कालीन समयमा अरुण शौरी विनिवेश मन्त्री थिए । सन् २००० मे २७ मा सरकारले एयर इन्डियाको ४० प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

त्यसका साथै भारत सरकारले १० प्रतिशत सेयर कर्मचारीलाई बिक्री गर्ने र १० प्रतिशत घरेलु वित्तीइ संस्थानलाई सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसो हुँदा सरकारको हिस्सेदारी ४० प्रतिशतमा सीमित हुन्थ्यो । यद्यपि त्यो समयदेखि २१ वर्षसम्म एयर इन्डिया बिक्री गर्ने कैइन प्रयास भए । तर कुनै न कुनै कारणले असफल भइरहेको थियो ।


क्लिकमान्डु