घरमा कस्तो रङ लगाउन खर्च कति लाग्छ ?



काठमाडौं । दशैं नजिकिँदै गर्दा अधिकांश मानिसहरू आफ्ना घर सजाउज शुरू गरेका छन् । कुनैपनि घर बनाउने वित्तिकै घर पूर्णहुँदैन । त्यसमा मानिसले फर्निचरका सामग्रीसहित आफ्नो घरलाई पूर्णता दिनका लागि सुहाउँदो रङ प्रयोग गर्नुपर्ने हुन्छ ।

कतिपय मानिसले आफ्नो रोजाइमा घरमा रङ लगाउँछन् भने कतिपयले वास्तुअनुसारमा रङ लगाउने गर्छन् । जसमा सही रङ छनौट गरे घर सुन्दरमात्रै नभएर बलियो पनि बन्ने गर्ने आम मानिसको बुझाइ छ ।

बजारमा विभिन्न कम्पनीका धेरै प्रकारमा रङ उपलब्ध छन् । कुनै पनि उपभोक्ता अर्थात् घरधनीले आफ्नो बजेट र इच्छाअनुसारको कम्पनीको रङ ल्याई घर सजाउन सक्नेछन् ।

कुनै पनि घरमा रङ लगाउनुपर्यो भने घर बाहिर र भित्र कोठामा लगाउने रङ फरक–फरक हुन्छ । जसमा घरबाहिर छुट्टै र बाथरुम, बेडरुम तथा भान्छामा आफ्नो इच्छाअनुसार रङ लगाउन सकिन्छ ।

सोही अनुसार आफ्नो घरमा चिटिक्क परी रङ लगाएमा घर थप आकर्षक देखिन्छ । मानिसले आफ्नो घर सजाउने क्रममा रङ लगाएपछि घाम र पानीले नबिग्रिने खालको रङ लगाउनुपर्छ । जसले गर्दा लामो सयमसम्म पनि घरको रङ दिगो भएमा झनै आकर्षक बन्नेछ ।

कतिपयले मूल्य हेरेर रङबारे निर्णय गर्ने गरेका छन् । सस्तो र कम गुणस्तरको रङ खरिद गरियो भने एउटै भित्तामा दोहोर्याई तेहेर्याई रङ लगाउनुपर्ने स्थिति आउन सक्छ । गुणस्तरहीन रङ खासै आकर्षक देखिँदैन । र, लामो समय टिक्दैन पनि ।

दशैं नजिकिँदै गर्दा अधिकांश मानिसले रङ ल्याएर घर सजाउन शुरु गरेका छन् । बजारमा एसियन पेन्ट, बर्जर, पुशपति पेन्ट, एपोलो पेन्ट, यति पेन्ट, कान्सार्य नरोलेक पेन्ट, जस्मिन पेन्ट र त्रिुशती पेन्टलगायत दर्जन कम्पनी छन् । उक्त कम्पनीहरूको रङ बुझेरमात्रै घरमा रङ लगाउनु पर्दछ । हाल दशैंलक्षित विभिन्न रङ कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । उक्त अफरमा उपभोक्ताकर्मीले खरिद गर्दा केही सहज हुने कम्पनीहरूको भनाइ छ ।

त्यसैगरी, घरमा कस्तो रङ लगाउनुपर्छ धेरैलाई थाहा नहुन सक्छ । साथै, रङ ल्याएपनि कति मात्रामा लगाउनुपर्छ भन्ने अनुभव नहुन सक्छ ।

बजारमा करिब दर्जनको हाराहारीमा रङ कम्पनी भएकाले कुन कम्पनी कस्तो गुणस्तर, प्रकार र विशेषता थाहा नहुँदा धेरै मानिसमा समस्या हुन्छन् । घरधनीले रङबारे थाहा भएका व्यक्तिसँगको सल्लाहमा खरिद गर्न पनि आवश्यक छ । साथै, विज्ञ र वास्तुसँग सल्लाह लिएर पनि आफ्नो घर कस्तो र कसरी रङ लगाउन सकिन्छ ।

वाटर बेस्ड र अइल बेस्ड रङ

बजारमा दुई दर्जन कम्पनी भए पनि बजारमा दुई प्रकारका रङ भएको एसियन पेन्ट्सका कर्मचारी सन्ध्या आचार्यले जानकारी दिइन् । उनका अनुसार बजारमा वाटर बेस्ड पेन्ट र अइल बेस्ड रङ पाइन्छ ।

वाटर बेस्ड पेन्टमा सल्भेटको रुपमा पानी हुने गर्दछ । वाटर वेस्ड पेन्ट पेन्टलाई ल्याटेक्स र एक्रिलिक ल्याटेक्स पनि भन्ने गरिन्छ । वाटर बेस्ड पेन्ट घरको कुनै पनि संरचनामा वा भागमा प्रयोग गर्न सकिन्छ । उनका अनुसार उक्त रङ अधिकांश घरमा प्रयोग हुन्छ ।

वाटर बेस्ड पेन्ट थोरै मात्रामा भोलेटाइल अर्गानिक कम्पाउन्ड (भीओसी) रहेको हुन्छ । सो पेन्टले कोठाको पानी सोस्ने काम गर्दछ । साथै, उक्त पेन्टस् उत्कृष्ट गुणस्तर, चिस्यान, ओस रोक्ने र लगाइसकेपछि छिटो सुक्ने भएकाले धेरैको रोजाइमा पर्ने उनको बुझाइ छ ।

अइल बेस्ड पेन्ट सल्भेन्टको रूपमा मिनरल स्प्रिट रहेको हुन्छ । जसलाई अल्किड रेसिन भनिन्छ । यसले रङलाई चिपिक्क टाँस्ने र चम्किलो बनाउने काम गर्ने उनले बताइन् ।

अइल बेस्ड-अल्किड पेन्टलाई मिनरल स्प्रिट (थिनर) ले पातलो बनाएर घुलाउँछ । कम्पनीका आचार्यले अइल बेस्ड पेन्ट सामान्यतया सिमित भागमा प्रयोग गर्ने बताइन् । जसमा अइल पेन्ट बाथरुम, किचेनमा प्रयोग हुने गर्दछ ।

उक्त पेन्टले घरको बाथरुम र अन्य ओसिलो भागमा प्रयोग गरेमा चमक हुने, सजिलो र धुन–सफा हुने भएकाले सिमित भागमा लगाउने उनले जानकारी दिइन् । साथै, सो पेन्ट बाथरुम र किचनमा उपयुक्त हुने भएकाले जानकारी लिएर पेन्ट गर्न सुझाए ।

यो रङ लगाइसकेपछि वाटर पेन्टभन्दा अइल पेन्ट सुक्न बढी समय लाग्ने गर्दछ । त्यस्तै, रङ फलामका रेलिङलगायत बारमा लगाउन सकिने बताइन् । साथै वाटर बेस्ड पेन्टभन्दा महंगो हुने उनको भनाइ छ । कम्पनीले विभिन्न प्रकारका रङ बिक्री गर्दै आएका छन् ।

‘बजारमा धेरै प्रकारका रङ पाइन्छ, त्यसमा वारेन्टी दिने तथा वारेन्टी नदिने दुबै प्रकारका रङ उपलब्ध छन्,’ उनले भनिन्, ‘घरधनीले सल्लाहअनुसार वारेन्टीको रङ लगाएमा धेरै उपयुक्त हुन्छ ।’

हाल एसियन पेन्टसँग ७ वर्ष र १० वर्ष वारेन्टी भएको विभिन्न प्रकारका रङ रहेको जानकारी दिइन् ।

न्टेरियर र एक्सटेरियर पेन्ट

नेपालमा विभिन्न कम्पनीका रङ पाइन्छ । उक्त ब्रान्डको इन्टेरियर (भित्र) र एक्सटेरियर (बाहिर) लगाउनको लागि छुट्टाछुट्टै हुन्छ । कम्पनीलेहरूले घरलाई आकर्षक बनाउनको लागि उच्च गुणस्तर र कम गुणस्तर भएको दुबै प्रकारमा आवश्यक रङ उत्पादन गर्दै आएका छन् ।

एसियन पेन्टको बाहिर लगाउनका लागि एस एक्स्टेरियर इमल्सन, एपेक्स इमल्सन र एपेक्स अल्टिमा रहेको छ । त्यस्तै भित्र लगाउनका लागि रोयर अस्पिरा, रोयल एट्मोस, रोयल लक्जरी इमल्सन, रोयल साइन र रोयल म्याटलगायतका रङ छन् ।

बजार अधिकांश कम्पनीले इन्टेरियर र एक्स्टेरिय दुबै प्रकारका रङ उत्पादन गर्ने भएकाले सोही अनुसार रङ लगाउने सक्ने सुझाइन् ।

कति लाग्छ खर्च ?
बजारमा करिब दर्जन कम्पनीको रङहरूको आ-आफ्नै मूल्य र विशेषता रहेको छ । कुनै पनि घरधनीले आफ्नो बजेटअनुसार रङ लगाउन खोज्छन् । तर, रङ लगाएपछि धेरै टिकाउ र राम्रो खोज्ने भएकाले ग्राहकहरूले वारेन्टी लिएर नै रङ लगाउने गरेको व्यवसायीहरूको भनाइ छ ।

भक्तपुरस्थित दुवाकोटमा रहेको एसियन पेन्ट्सका सञ्चालक दिपेन्द्र माताङले सामान्यतया रङमा ३ आनामा साढे दुई तल्ला बन्ने घरको लागि करिब डेढ लाखसम्म खर्च हुने बताए । त्यसमा घरधनीले पुटिङ लगाएर रङ लगाएको खण्डमा सो खर्च हुनेछ ।

तर पुटिङबिनै रङ लगाएमा करिब ८० हजारदेखि १ लाखसम्ममा रङ लगाउन सक्ने बताए ।

त्यस्तै, ५ आनाको जग्गामा निर्माण भएको घरमा १० वर्षको वारेन्टीसहित राम्रो बनाउन खोजेमा बाहिरी र भित्र लगाएमा करिब साढे २ लाख हाराहारीमा खर्च हुने बताए ।

साथै, घरको बनावटले पनि फरक पर्ने भएकाले औसतमा गुणस्तरको रङ लगाएका बढीमा ३ लाख खर्च हुने उनको भनाइ छ ।


क्लिकमान्डु