कर्मचारी व्यवस्थापनमा सनराइज बैंकको लापरबाही, आउटसोर्सिङका कर्मचारीलाई क्यासियर !



काठमाडौं । सनराइज बैंकले कर्मचारी व्यवस्थापनमा लापरबाही गरेको पाइएको छ । बैंकले कर्मचारी छनौटदेखि कार्यस्थलसम्म सामान्य कर्मचारी व्यवस्थापन प्रणाली अबलम्बन नगरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले सनराइज बैंकमा गरेको स्थलगत निरीक्षणमा कर्मचारी टर्नओभर (जागिर छाड्ने क्रम) अत्याधिक रहेको, कर्मचारी भर्नामा आउटसोर्सिङमा बढी निर्भर हुने गरेको, आवधिक योजना बनाउने नगरेको, सेक्युरिटी गार्डलाई समेत क्यास काउन्टरसम्मको पहुँच दिएको पाइएको हो ।

केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले २०७६ मा गरेको निरीक्षणमा यस्तो भेटिएको हो ।

क्लिकमाण्डूलाई प्राप्त राष्ट्र बैंकको स्थलगत सुपरिभिजन रिपोर्ट अनुसार सनराइज बैंकमा कर्मचारी टर्नओभर (जागिर छाड्ने क्रम) अत्याधिक रहेको, कर्मचारी भर्नामा आउटसोर्सिङमा बढी निर्भर हुने गरेको, आवधिक योजना बनाउने नगरेको, सेक्युरिटी गार्डलाई समेत क्यास काउन्टरसम्मको पहुँच दिएको पाइएको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले २०७६ मा गरेको निरीक्षणमा यस्तो पाइएको हो ।

तर, हाल बैंकले उक्त कमी–कमजोरीहरु सुधार गर्दै गएको बैंकका कम्पनी सचिव इश्वरकुमार पाठकले बताए ।

‘सो निरिक्षण २ वर्षअघि भएको हो, अहिले बैंकले कर्मचारी व्यवस्थापनमा धेरै सुधार गरिसकेको छ,’ पाठकले क्लिकमाण्डूसँग भने, ‘हरेक क्षेत्रमा कर्मचारी टर्नओभर हुन्छ, हाम्रो बैंकले सूचना प्रविधिसम्बन्धी बढी तालिम दिने हुँदा तालिमपछि कर्मचारहरु अन्य बैंकमा बढी गएका थिए ।’

सुपरिभिजन रिपोर्टले औंल्याएका बैंकका कतिपय कमजोरीहरु राष्ट्र बैंकको सुपरिवेक्षणका टोली र बैंकबीच निरिक्षणको क्रममा समन्वयन नहुँदा आएको उनको भनाइ । यस विषयमा बैंकले राष्ट्र बैंकलाई स्पष्ट पारिसकेको र कमी कमजोरी सुधार गरिसकेको कम्पनी सचिव पाठकले जानकारी दिए ।

राष्ट्र बैंकले २०७६ सालमा सनराइज बैंकमा गरेको निरिक्षणमा वार्षिक १२.०५ प्रतिशत कर्मचारी टर्नओभर रहेको र जसमध्ये ८० प्रतिशत जागिर छाड्ने कर्मचारी तल्लो तहका रहेको उल्लेख गरेको थियो । यसरी कर्मचारीले जागिर छाडिरहँदा बैंकले उनीहरुलाई रोक्ने प्रयाससमेत नगरेको राष्ट्र बैंकको निष्कर्श छ ।

तर, हाल भने बैंकले कर्मचारीलाई जागिर छोड्न राजिनामा दिनुअघि नै लिखित स्पष्टिकरण माग्ने गरेको कम्पनी सचिव पाठकले बताए ।

बैंकमा २०७६ सालमा कुल १ हजार ७८२ कर्मचारी थिए । जसमा १ हजार ११९ जना स्थायी, १४६ जना परिक्षण अवधिका, १९ जना करारका र ४ सय ९८ जना आउटसोर्सिङका कर्मचारी हुन् ।

सुपरिभिजन रिपोर्टमा बैंकले कर्मचारी व्यवस्थापन सम्बन्धी वार्षिक क्यालेन्डर बनाएर योजनावद्ध तवरले छनौटदेखि बढुवा गर्न निर्देशनात्मक सुझाव दिएको थियो ।

त्यसैगरी, बैंकले कर्मचारी व्यवस्थापनका लागि आवश्यक बैठक तथा छलफल गरी निर्णय नगरेको, कर्मचारीको तालिममार्फत् क्षमता तथा वृत्ति विकासका लागि बृहत् मानव संशाधन योजना नबनाएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

बैंकले त्रैमासि रुपमा यस्तो योजना बनाउनुपर्नेमा ५ वर्षका लागि एकमुष्ट योजना कार्यान्वयन गरेको देखिन्छ । जसले गर्दा बैंकले आवश्यकता अनुसार कर्मचारीको कार्यक्षमता विकास गर्न नसकिरहेको राष्ट्र बैंकको ठहर छ ।

हाल बैंकमा कुल १५ सय कर्मचारी कार्यरत रहेका बैंकका कम्पनी सचिव पाठकले बताए । यी कर्मचारीलाई बैंकले बार्षिक तथा त्रैमासिक क्यालेन्डर बनाएर कर्मचारी छनौट, तालिमदेखि बढुवासम्म बैंकले गरिरहेको पाठकले जानकारी दिए ।

आउटसोर्सिङ कर्मचारीमध्ये कति संख्यामा सेक्युरिटी गार्ड र सरसफाइमा काम गर्ने छन् भन्ने समेत बैंकलाई थाहा नभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी ती कर्मचारी कुन प्रयोजनका लागि बैंकमा लिइएको हो भन्ने हेक्कासमेत बैंकले नराखेको र सेक्युरिटी गार्ड तथा सफाइकर्मीलाई क्यास काउन्टरसम्मको जिम्मेवारी दिएको प्रतिवेदनमा उल्लेख छ । बैंकको बीपी कोइराला मेमोरियल अस्पताल र चितवन मेडिकल कलेजको एक्स्टेन्सन काउन्टरमा यस्तो भेटिएको हो ।

तर, बैंकले भने सो समय आउटसोर्सिङ कर्मचारीले हस्पिटलको क्यास काउन्टर प्रयोग गरेको बताएको छ । राष्ट्र बैंक सुपरिवेक्षण टोली र बैंकका कर्मचारीबीच निरिक्षणको क्रममा उचित सम्वन्य नहुँदा निरिक्षणको रिर्पोटमा सो देखिएको बैंक कम्पनी सचिव पाठकको भनाइ छ ।

राष्ट्र बैंकले गरेको निरिक्षण रिपोर्टअनुसार उक्त समयमा बैंकले आउटसोर्सिङमा राखिएका कर्मचारीको व्यक्तिगत विवरणसमेत राखेको छैन । बैंकले आउटसोर्सिङ गर्ने कम्पनी र ती कर्मचारीको सम्झौतापत्र समेत संकलन नगरेको देखिन्छ ।

बैंकले त्यस्ता कर्मचारीलाई श्रम ऐनअनुसार सेवासुविधा नदिएको देखिन्छ भने आउटसोर्सिङ सेवा दिने कम्पनीले वित्तीय विवरण तयार पारे-नपारेको तथा कर चुक्ता गरे-नगरेको रेकर्ड बैंकमा छैन । साथै, बैंकले न्युनतम सामाजिक सुरक्षा पाउनका लागि समेत त्यस्ता कर्मचारीको लागि केही पहल नगरेको देखिएको छ ।

बैंकले कर्मठ सेक्युरिटी सर्भिस, कालीञ्चोक सेक्युरिटी, विश्व सेक्युरिटी र गोर्खा लाहुरे सेक्युरिटीबाट सुरक्षाकर्मी आउटसोर्सिङ गर्दै आएको छ । बैंकले कर्मचारी भर्ना सीधै गर्नुभन्दा पनि आउटसोर्सिङमार्फत् आउन सुझाव दिने गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त समयमा जनकराज शर्मा पौडेल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।


दिलु कार्की