घरजग्गा कारोबारबाट मासिक ८ अर्ब बढी राजश्व संकलन, एउटै मालपोतबाट करिब १ अर्ब




काठमाडौं । पछिल्लो समयमा घरजग्गा कारोबार उच्च रुपमा बढेसँगै मासिक ८ अर्ब राजश्व संकलन हुन थालेको छ ।

सामान्य अवस्थामा मासिक ५ अर्बसम्म राजश्व संकलन गर्दै आएको देशभरको मालपोत कार्यालयबाट कोभिडपश्चात निरन्तर राजश्व संकलनमा रेकर्ड ब्रेक गर्दै आएको छ ।


कोभिडपश्चात घरजग्गा कारोबार उच्च रुपमा भएसँगै राजश्व संकलनमा पनि रेकर्ड कायम गर्दै आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँदछ । कोभिडकै समय भएपनि उच्च रुपमा कारोबार हुँदै आएको घरजग्गा कारोबारबाट भदौमा ८ अर्ब राजश्व संकलन गरेको छ ।

असारमा सरकारले लागू गरेको बन्दाबन्दीमासमेत उच्च कारोबार भई देशभरका मालपोत कार्यालयबाट ८ अर्ब बढी राजश्व संकलन गरी रकेर्ड कायम गरेको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै भदौमा हालसम्मकै बढी राजश्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

गत असार महिनामा देशभरको १ सय २६ वटा मालपोत कार्यालयबाट ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सो रेकर्डलाई ब्रेक गर्दै भदौमा देशभरका मालपोत कार्यालयबाट ८ अर्ब २६ करोड १७ लाख २८ हजार राजश्व संकलन गरेको छ । जुन हालसम्मकै उच्च हो ।

कोभिडपश्चात घरजग्गा उच्च रुपमा हुँदै गएपछि राजश्व मासिक रुपमा ८ अर्ब बढी राजश्व संकलन हुन थालेको विभागको भनाइ छ ।

विभागकाअनुसार उक्त संकलित राजश्व घरजग्गा कारोबार गरेको विभिन्न विधाबाट उठाइएको जनाएको छ । त्यसमध्ये सेवा करवापत ५० करोड, बागमतीवापत २५ करोड ९३ लाख, रजिष्ट्रेशन दस्तुरबाट ४ अर्ब ७० करोड ४९ लाख, पूँजीगत लाभ करवापत २ अर्ब ६ करोड ९१ लाख रुपैयाँ र अन्य विभिन्न विधा गरेर ८ अर्ब बढी राजश्व संकलन गरेको हो । त्यस्तै सरकारले भदौमा मात्रै ६६ करोड ५६ लाख ७५ हजार छुट दिएको तथ्याङ्कले उल्लेख गर्दछ ।

लगनखेलबाट मात्रै करिब १ अर्ब राजश्व संकलन
देशभरको मालपोत कार्यालयबाट ८ अर्ब बढी राजश्व संकलन भएको अवस्थामा उपत्यकाका एउटै मालपोत कार्यालयबाट करिब १ अर्ब राजश्व संकलन भएको छ । उपत्यकाको मुख्य ८ मालपोत कार्यालयबाट ३ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त संकलित राजश्वमध्ये लगनखेल मालपोत कार्यालयले करिब १ अर्ब राजश्व संकलन गरेको छ । उक्त मालपोत कार्यालयले मात्रै ९४ करोड ४१ लाख ६१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सो मालपोत कार्यालयबाट संकलन भएको राजश्व हालसम्मकै उच्च हो । त्यस्तै डिल्लिबजारले ६६ करोड ५३ लाख, कलंकीले ५८ करोड ४९ लाख, भक्तपुरले ५२ करोड ३६ लाख, चावहिलले ४३ करोड २९ लाख, साँखुले १७ करोड ४ लाख, मनमैजुले १५ करोड ८२ लाख र टोखाले १४ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

उक्त मालपोत कार्यालयबाट सेवाकरवापत १७ करोड ९४ लाख, बागमतिवापत २५ करोड ९३ लाख, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४१ करोड ६५ लाख र पूँजीगत लाभकरवापत १ अर्ब १० करोड ६९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । साथै, सो ८ वटा मालपोत कार्यालयबाट एक महिनाको अवधिमा ३३ करोड ६३ लाख रुपैयाँ छुट दिएको विभागले जनाएको छ ।


उपत्यकाबाहिर काभ्रेपलाञ्चोक पहिलोपटक राजश्व संकलन गर्ने पहिलो नम्बरमा

विगतको दिनमा उपत्यकाबाहेक देशभरका मालपोत कार्यालयमध्ये भदौ महिनामा पहिलो पटक काभ्रेपलाञ्चोक पहिलो नम्बरमा आएको छ । यसअघि चितवन, कास्कीलगायत जिल्लाका मालपोत कार्यालयले उच्च रुपमा राजश्व संकलन गर्दै पहिलो नम्बर कायम गर्दै आएकोमा सो मालपोत कार्यालयलाई पछि पार्दै काभ्रेपलाञ्चोक मालपोत कार्यालयले नयाँ रेकर्ड कायम गरेको छ ।

काभ्रेपलाञ्चोक मालपोत कार्यालयले भदौ महिनामा २३ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यसअघि साउन महिनामा सो कार्यालयले २५ करोड राजश्व संकलन गरेको थियो । तर, चितवन कार्यालयले साउन महिनामा उच्च राजश्व संकलन गर्दा काभ्रेपलाञ्चोक दोस्रो बढी राजश्व संकलन गर्ने मालपोत कार्यालय बनेको थियो ।

त्यस्तै, उपत्यकाबाहिर काभ्रेपलाञ्चोकपश्चात विराटनगरले १८ करोड ७५ लाख, पर्साले १७ करोड, कास्कीले १६ करोड ५० लाख, इनरुवाले १५ करोड ८२ लाख, चितवनले १४ करोड ९५ लाख, धनगढीले १४ करोड ६९ लाख र नेपालगञ्जले १३ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।


७० हजार घरजग्गा किनबेच
विभागको तथ्याङ्क अनुसार देशभरको मालपोत कार्यालयबाट २ लाख ३ हजार ९ सय २२ सेवा प्रवाह हुँदा ७० हजार घरजग्गा किनबेच भएको छ ।

जसमा एक महिनाको अवधिमा देशभरको मालपोत कार्यालयबाट ७० हजार ३ सय ३६ घरजग्गाको लिखत पारित गरेको छ । जुन साउन महिनाको तुलनामा ५ हजारले कमी हो ।

गत असारमा ७५ हजार घरजग्गा लिखत पारित भएको थियो ।
त्यसैगरी देशभरका मालपोत कार्यालयले साढे ६६ हजार रोक्का र ३६ हजार ८ सय घरजग्गाको फुकुवा गरेको छ ।

त्यसैगरी साउनमा सबैभन्दा बढी घरजग्गा किनबेच बेलबारी मोरङ रहेको छ । उक्त कार्यालयले एक महिना अवधिमा ८ हजार ३ सय ३६ सेवा प्रवाह गर्दा ३ हजार ७ सय ७२ घरजग्गा किनबेच भएको छ ।

मोरङ बेलबारीपश्चात इनरुवाले २९ सय ६५, भद्रपुर झापाले २८ सय घरजग्गा किनबेच भएको छ । साथै बाँके नेपालगञ्जबाट २३ सय ३९, लगनखेलबाट २२ सय ९२, भक्तपुरबाट २३ सय, जनकपुरधाम धनुषाबाट २७ सय ६६ र विराटनगरबाट १९ सय ३० घरजग्गाको लिखत पारित भएको छ ।


क्लिकमान्डु