विकास बैंक र फाइनान्सभन्दा बढी निक्षेपमा ब्याजदर तोक्दै वाणिज्य बैंक, सनराइजको सबैभन्दा बढी



काठमाडौं । मुद्दति निक्षेपमा पैसा राख्नका लागि ग्राहकको पहिलो रोजाइ विकास बैंक र फाइनान्स कम्पनी नै हुने गर्छ । यसको एउटै कारण हो यी संस्थाहरुले दिने ब्याजदर ।

तर, अहिले अधिकांश वाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुले भन्दा बढी निक्षेपमा ब्याजदर दिन थालेका छन् ।

आसोज १ गतेदेखि लागू हुने गरी अधिकांश वाणिज्य बैंकहरुले कर्जा तथा निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा यसअघि कायम मुद्दति निक्षेपको ब्याजदरमा ०.५ प्रतिशतदेखि ३ प्रतिशतबढीले ब्याजदर बढाएर दोहोरो अंकमै पुर्याएका छन् ।

हाल सञ्चालनमा रहेका १८ विकास बैंकहरुले ६ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म मुद्दति निक्षेपमा ब्याज दिइरेहका छन् । जसमा साल्पा र कर्णली विकास बैंकदेखि बाहेक सबै विकास बैंकको मुद्दतिको ब्याजदर एकल अंकमा छ ।

यता सञ्चालनमा रहेका २० वटा फाइनान्स कम्पनीहरुले समेत मुद्दति खातामा ७.५० प्रतिशतदेखि ९.५० प्रतिशतसम्ममात्र ब्याजदर दिइरहेका छन् । तर, नयाँ ब्याजदर घोषणा गर्दै वाणिज्य बैंकहरुले मुद्दतिको ब्याजदर दोहोरो अंकमा दिन थालेका छन् ।

जसमा सनराइज बैंकले १०.०७ प्रतिशत र सानिमा बैंकले १०.०१ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा दिने घोषणा गरेका हुन् ।

सानिमा बैंकले घोषणा गरेको दोहोरो अंकको बयाजदर भने रेमिट्यान्स निक्षेपका लागि मात्र हो । राष्ट्र बैंकले अन्य मुद्दति खातामा भन्दा १ प्रतिशतबढी ब्याज रेमिट्यान्स मुद्दति खातामा दिनु पर्ने व्यवस्था गरेअनुसार दोहोरो अंकमा ब्याजदर निर्धारण गरिएको बैंकका कार्यकारी अधिकृत भुवन दाहालले बताए । व्यक्तिगत मुद्दति खातामा भने बैंकले ९.५१ प्रतिशत ब्याजदर दिने भएको छ ।

असोज १ गतेदेखि लागू हुने गरी मुद्दतिमा ब्याजदर २४ वटा वाणिज्य बैंकले बढाएका हुन् । मुद्दतिको ब्याजदर सबैभन्दा बढी सनराइज बैंकले १०.०७ प्रतिशत र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७.५० प्रतिशत घोषणा गरेका हुन् । सनाराइज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले यसअघिसम्म मुद्दति निक्षेपमा अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए ।

कुन बैंकले कति ब्याज बढाए ?

यसबाहेक मुद्दति निक्षेपमा दिइरहेको अधिकतम ब्याजदर ७.७६ प्रतिशतबाट प्राइम बैंकले ९.७६ प्रतिशत, एनएमबि बैंकले ७.५० प्रतिशतबाट ९.५२ प्रतिशत र सानिमा बैंकले ६.८५ प्रतिशतबाट ९.५१ प्रतिशत पुर्याएको छ ।

साथै, ग्लोबल आइएमईले ७.१ प्रतिशतबाट ९.५० प्रतिशत, नबिल बैंकले ७.५१ प्रतिशतबाट ९.२६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९.२६ प्रतिशत, सिभिल बैंकले ८.७८ प्रतिशतबाट ९.२५ प्रतिशत र सेञ्चुरी बैंकले ७.५० प्रतिशतबाट ९.२५ प्रतिशत पुर्याएको छ ।

यस्तै, यसअघि दिइरहेको मुद्दतिको ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशतबाट ९.०६ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९.०२ प्रतिशत, र नेपाल बंगलादेश बैंकले ७.५० प्रतिशतबाट ८.७६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

साथै, यसअघि कायम मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा माछापुच्छ्रे बैंकले ७.०५ प्रतिशतबाट ८.७५ प्रतिशत, एभरेष्ट बैंकले ७ प्रतिशतबाट ८.६१ प्रतिशत, कृषि विकास बैंकले ७.५० प्रतिशतबाट ८.६० प्रतिशत र नेपाल एसबीआइ बैंकले ७.५५ प्रतिशतबाट ८.५५ प्रतिशत पुर्याएको छ ।

असोज १ गतेदेखि लागु हुनेगरी मुद्दति निक्षेपको ब्याजदर हिमालयन बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत र बैंक अफ काठमाण्डूले ७ प्रतिशतबाट ८.२७ प्रतिशत ब्याजदर पुर्याएको छ ।

साथै, प्रभु बैंकले ७.७५ प्रतिशतबाट ८.२५ प्रतिशत, कुमारी बैंकले ७.६५ प्रतिशतबाट ८.१५ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर पुर्याएको छ ।


क्लिकमान्डु