प्राथमिकता प्राप्त क्षेत्रमा २०% लगानी नगर्ने बीमा कम्पनीलाई अन्य क्षेत्रको लगानीमा रोक लगाईंदै



काठमाडौं । तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । बीमा समितिले लगानी निर्देशिका अनुसार कम्पनीहरुले लगानी नगरेको ठहर गरी सो निर्णय गरेको हो ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले कृषि, पुर्वाधार, पर्यटन लगायत प्राथमिकता प्राप्त क्षेत्रमा कुल टेक्निकल रिर्जभको २० प्रतिशत लगानी गर्नु पर्ने प्रावधान छ । सो अनुसार अधिकांश बीमा कम्पनीहरुले लगानी नगरी व्यवसायिक फाइदामात्र हेरेर लगानी गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

जसले गर्दा चालु आवको पहिलो त्रैमासदेखि प्राथमिकता प्राप्त क्षेत्रमा कम्पनीहरुको लगानी मुल्यांकन गरीमात्र अन्य क्षेत्रमा लगानी गर्न दिइने उनले बताए ।

‘कम्पनीहरुले गत वर्ष गरेको कुल लगानीमा अधिकांशले ८० प्रतिशत बढी बैंकहरुको फिक्स्ड एकाउण्टमा गरेको देखिन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘असोज पहिलो सातादेखि प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए अनुसार लगानी नगर्ने कम्पनीलाई फिक्स्ड एकाउन्टमा पनि कडाइ गछौँ ।’

प्राथमिकता प्राप्त क्षेत्रमा कृषि, पर्यटन, जलस्रोत, र पुर्वाधारमा लगानी गरेपछिमात्र अन्य क्षेत्रमा तोकिए अनुसार टेक्निकल रिर्जैभबाट लगानी गर्न पाउने उनको भनाइ छ ।

‘लगानी निर्देशिकामा भनेको कुारा कम्पनीहरुले पालना गरेनन् भने असोजदेखि फाइदा हुने क्षेत्रमा पनि लगानी बन्द हुन्छ,’ उनले थपे, ‘एड्मिस्टर एसेट टेक्निकल रिर्जभभन्दा बढी आएमा सल्भेन्सि मार्जिन गणना गर्न समितिले बन्द गरिदिन्छ ।’

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्दा रिर्जभ गणनामा प्राथमिकता क्षेत्रमा गर्नुपर्ने लगानी गणना गर्न नदिइने र सल्भेन्सी मार्जिन घट्दा अन्य क्षेत्रमा लगानी गर्न समेत नपुग्ने उनको भनाइ छ ।

‘गणनायोग्य सम्पतीमा लगानी नभएको क्षेत्र बराबरको सम्पतीलाई गणना गर्न नदिएपनि सल्भेन्सी मार्जिन पुग्दैन,’ उनले थपे, ‘लगानीको लागि समितिले हेर्ने भनेको सल्भेन्सी मार्जिन पुगेको छ/छैन भन्ने नै हो । सल्भेन्सी मार्जिन घटेपछि कम्पनीहरुलाई तोकिएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने बाध्यता हुन्छ ।’

बीमा कम्पनीहरुले बैंकहरुको मुद्दतिमा, सेयर, ऋणपत्र, म्युचअल फण्ड, घरजग्गा मात्र बढी लगानी गरको तथ्यांकले देखाउँछ ।

‘अब लगानी निर्देशिकामा तोकिएअनुसार कृषि, पर्यटन, पुर्वाधार र जलस्रोतमा २० प्रतिशत लगानी कम्पनीहरुले अनिर्वाय गरेर मात्र तोकिएको अन्य क्षेत्रमा लगानी गर्न पाउँछन्,’ उनले भने ।

प्राथमिकता प्राप्त क्षेत्रको लगानीको प्रतिफल आउन धेरै समय कुर्नुपर्ने हुँदा कम्पनीहरुले छिटो रिर्टन आउने क्षेत्रमामात्र बढी लगानी गरेका हुन् । तोकिएको क्षेत्रमा दायरामा लगानी गरेपछि अन्य क्षेत्रमा धेरै लगानी गरेपनि समितिले स्वीकृति दिने उनको भनाइ छ ।

समितिले ‘बीमकको लगानी निर्देशीका, २०७५’ जारी गर्दै कम्पनीहरुले कूल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारमा गर्नु पर्ने व्यवस्था गरेको छ । जसमा लगानीको लागि आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा बढी रकम एउटै परियोजना गर्न नपाइने निर्देशन समितिको छ ।

लगानी निर्देशिका अनुसार ५ प्रतिशत नेपाल सरकार वा राष्ट्र बैंकको वचतप वा ऋणपत्रमा, ४० प्रतिशत वाणिज्य बैंकको मुद्दति निक्षेपमा, विकास बैंकको मुद्दतिमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत, ५ प्रतिशत घरजग्गा ब्यवसायमा र २० प्रतिशत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउछन् ।

साथै, २० प्रतिशत ऋणपत्रमा, नागरिकलगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत र बैंक तथा वित्त कम्पनीको साधारण सेयरमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु