मदिरा उद्योगलाई सरकारले कर संकलन गर्ने माध्यममात्र बनायो: शसिन जोशी



३० वर्ष नेपालको बैंकिङ क्षेत्रमा बिताएपछि शसिन जोशी मदिरा उत्पादनमा अग्रणी मानिएको जावलाखेल ग्रुप अफ कम्पनीको कार्यकारी निर्देशक बने । वाणिज्य बैंकमा एनआईसी, एनआईसी एशिया र नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका जोशीले बैंकमा सीइओको रुपमा मात्र करिब १५ वर्ष काम गरे । बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएपछि काम नै नगरेको क्षेत्र मदिरा उद्योगको व्यवस्थापनको नेतृत्व समाल्न पुगेका जोशीसँग क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानी

बैंकिङ क्षेत्रमा लामो समय बिताउनु भयो । २ वटा बैंकमा सीइओ पनि हुनुभयो । अहिले उद्योगमा काम गरिरहनु भएको छ । कुन क्षेत्रमा काम गर्न सजिलो हुने रहेछ ?

सजिलो गाह्रो भन्ने त जहाँ पनि हुन्छ । बैंकिङ र उद्योग क्षेत्र दुबै चूनौतीपूर्ण नै छ । तर, फरक किसिमको चुनौती हुने हो । मनैदेखि काम गर्ने हो भने जहाँ पनि सहज नै हुन्छ । यो क्षेत्रमा मात्रै सजिलो भन्ने छैन । मनैदेखि काम गर्दा समस्या हुँदैन ।

बैंकहरु उद्योगका लागि कति सहयोगी हुने रहेछन् ?

मेरो अनुभवमा बैंकहरु उद्योगका लागि जहिले पनि सहयोगी नै छन् । राम्रोसँग उद्योग सञ्चालन गरिरहेकाहरुलाई बैंकमा कुनै समस्या छैन । बैंकलाई पनि उद्योगीहरु चाहिन्छन् । बैंकले अप्ठ्यारो पार्ने भन्ने कुरा हुँदैन । बैंकमा पेपर वर्क बढी छ भन्ने गुनासो पनि छ । तर, उद्योगीहरुले पनि के बुझ्नुपर्छ भने लाखौंलाख जनताको पैसा प्रयोग गर्ने हो । बैंकहरुमा आफ्नै खालको जिम्मेवारी हुन्छ । त्यसैले जो पायो त्यसैलाई ऋण दिने कुरा पनि हुँदैन । लगानी फिर्ता हुने गरी लगानी गर्ने हो । उद्योगीहरुले पनि म यो व्यवसाय गरे वा उद्योग सञ्चालन गरेर यसरी सफल हुन्छु भन्ने योजना प्रस्तुत गरेर कन्भिन्स गर्न सक्नुपर्छ ।

उद्योगीहरु बैंकको व्याजदर महंगो भएको भन्ने गुनासो गरिरहन्छन् । के साच्चै बैंकको ब्याजदर बढी नै हो ?

मलाई त्यस्तो लाग्दैन । आजका दिनमा राम्रा उद्योगीहरुले बैंकसँगको नेगोसिएसनका आधारमा सस्तो ब्याजदरमा लिएको अवस्था छ । र, आजका दिनमा दक्षिण एसियाका बैंकहरुको तुलना गर्दा नेपालमा बैंकको ब्याजदर सस्तो नै हो । बैंकहरुको लागतको हिसाबले उद्योगीका लागि ब्याजदर बढी छ भन्ने मलाई लाग्दैन ।

तपाईंको परिचय बैंकमा भेट्रान बैंकरका रुपमा छ । तर, बैंकिङ क्षेत्रलाई चटक्कै माया मदिरा उद्योगको व्यवस्थापन सम्हाल्न आउनुको खास कारण के हो ?

म एक प्रकारले बैंकिङ क्षेत्रबाट सेमिरिटायर हुने सोचका साथ विदा भएको थिए । त्यसपछि केही समय अमेरिकामा पनि बिताएँ । यसबीचमा मेरो भेट विजय कुमार साह र राजबहादुर साहसँग भयो । उहाँहरुले जावलाखेल ग्रुप कर्पोरेट संस्थाका रुपमा परिवर्तन गर्न खोजिरहेका छौं । त्यसैले तपाईं आएर सम्हाल्नुहोस् भन्नु भयो । तत्कालीन समयमा मैले मेरो मदिरा उद्योगसँग काम गरेको अनुभव छैन भने । तर,उहाँहरुले संस्थालाई कर्पोरेट कल्चर ल्याएर संस्था सम्हाल्नका लागि तपाईं चाहिएको हो भनेपछि उहाँहरुको अनुरोधमा मैले केही समय छलफल गरौं भनेको थिए । केही महिना सल्लाहकारका रुपमा काम गर्छु र त्यसपछि ठीक लागेमा म काम गर्छु भनेर सोही अनुसार केही समयपछि म यो कम्पनीमा आबद्ध भएको हुँ । जावलाखेल ग्रुप अन्तर्गत ७/८ वटा कम्पनीहरु सञ्चालनमा छन् । म आएपछि व्यवस्थापकीय रुपमा धेरै परिवर्तन गर्न सक्षम समेत भएको छु ।

पारिवारिक व्यवसाय रहेको जावलाखेल ग्रुप अफ इन्डष्ट्रीमा तपाईंको प्रवेशसँगै के कस्ता परिवर्तन भए ?

यो कम्पनी पहिले पारिवारिक व्यवसायका रुपमा सञ्चालन भइरहेको थियो । मैले कर्पोरेट कल्चर ल्याउने प्रयास गरेँ । कुनै पनि ठूलो कम्पनी आफ्नै सिस्टमबाट चल्नुपर्छ । त्यहाँ नीतिदेखि एसओपिहरु, मानिसहरुलाई तालिम दिने र कर्पोरेट कल्चरमा ढाल्ने काम, उत्तरदायी बनाउने, पर्फर्मेन्स आजको भोलि परिवर्तन हुँदैन । म आएपछि धेरै सुधारहरु भएका छन् । हिमालयन डिस्टिलरीको पर्फर्मेन्स हेर्दा सेल्समा धेरै उतारचढाव भएको छैन । तर, पनि आन्तरिकरुपमा सवल बनाउने प्रयास भएको छ । त्यसको नतिजा पनि देखिएको छ । कर्पोरेट कल्चरमा दायित्वबोध लिने खालको कल्चरको विकास भएको छ । भावनाका आधारमा निर्णय गर्ने कुरा भन्दा पनि प्रणालीका आधारमा लिने कल्चर भएको छ ।

पारिवारिक बिजनेशलाई कर्पोरेट कल्चरमा ढाल्न कति गाह्रो हुने रहेछ ?

सायद म अर्को कुनै कम्पनीमा गएको भए मलाई गाह्रो हुने थियो । तर, यहाँ साह परिवार कम्प्लायन्समा कुनैपनि कम्प्रमाइज गर्दैन । विशेषगरी यो क्षेत्रमा अन्डर द टेबल कारोबार हुने समाचारहरु धेरै सुनिन्छन् । तर, यो कम्पनीमा म आउनुभन्दा पहिलेदेखि नै नाफा भयो भने कर तिर्ने हो र नाफा नभएमा कर नतिरे पनि सरकारलाई बुझाउने करमा चोरी गर्दैनौं भन्ने सोचका साथ व्यवसाय अगाडि बढाउनु भएको थियो । मेरो अनुभवमा यो कम्पनीमा जे जस्ता सकारात्मक कुराहरु भए त्यसले मलाई यो कम्पनीमा काम गर्नका लागि र आजसम्म टिकेर काम गर्नका लागि सहज भएको हो ।

यो कम्पनीको कतिको कारोबार गर्छ ?

२०७७/७८ मा यो ग्रुपले ११ अर्ब रुपैयाँ त कर मात्रै तिरेको छ । नेपालमा ११ अर्ब रुपैयाँ बराबरको कर बुझाउने निकै कम कम्पनीहरु छन् । कर बुझाउने विषयमा कम्पनीका सञ्चालकहरु पनि निकै पारदर्शी हुनुहुन्छ । मदिरा व्यवसायमा कर निकै धेरै छ । उदाहरणका लागि २५० रुपैयाँको बियरबाट करिब १६५ रुपैयाँ कर बुझाउनुपर्छ । रुस्लान भोड्का एक बोतलको १७ सय रुपैयाँ पर्छ भने त्यसबाट ९०० रुपैयाँ कर बुझाउनुपर्छ । हामी सरकारको कर संकलकका रुपमा पनि काम गरिरहेका छौं ।

एकातिर धेरै कम्पनीहरु सञ्चालनमा छन् । अर्कातिर घरेलु मदिराको पनि उसैगरी बिक्री भइरहेको अवस्थामा मदिरा उद्योगमा के कस्ता संभावना र चुनौतिहरु देख्नुभएको छ ।

आजका दिनमा हामीलाई नक्कली मदिराको चुनौती छ । हाम्रै बोतलमा नक्कली मदिरा बिक्री भइरहेको छ । अर्को विषय बाहिरबाट भन्सार नतिरी आयात हुने मदिराको बिगबिगै पनि उत्तिकै छ । त्यसबाहेक घरेलु मदिरामा पनि कुनै नियन्त्रण छैन । त्यसबाट सरकारले एक पैसा पनि पाउँदैन । त्यसबाहेक सरकारले लिने कर पनि निकै ठूलो छ । र, यो हरेक वर्ष बढिरहेको अवस्था छ । नेपालमा मदिरामाथिको कर धेरै हुनु पनि समस्या हो । आजका दिनमा १७ सय रुपैयाँ पर्ने बोतलमा नेपालमा जति कर लगाइन्छ भारतको हकमा त्यसको आधा पनि छैन ।


सरकारले मदिरालाई नेगेभिट सूचीमा राखेर कर बढाउँछ । कोभिडको समयमा पनि व्यापार व्यवसाय नहुँदा घाटा त पक्कै भएको होला । कोभिडको संकट कसरी समाधान गर्नु भयो ?

हामीले कोभिडको समयमा बैंकबाट छुट पनि पाएनौं । यसबीचमा उद्योगहरु बन्द हुँदा पनि एक जना कर्मचारीलाई पनि विदा गरेनौं । सबैलाई तलब पनि दिनै पर्यो । सरकारबाट अरु उद्योगहरुले सहुलियतको सुविधा लिए पनि हामी जस्तो उद्योगहरुले त्यो पाएनौं । ब्याजदरमा पनि छुट पाएनौं । हामीले पनि करिब २ हजार जति कर्मचारीलाई रोजगारी त दिएकै छौं । कर्मचारीका लागि कोरोनाविरुद्धको खोपका लागि पनि कति धेरै ठाउँमा गुहार्यौं । तर, कतै पनि सुनुवाई भएन । यद्यपि हामीलेसरकारलाई निकै ठूलो मात्रामा कर बुझाइरहेका छौं ।

पछिल्लो समयमा नेपाली समाजमा मदिरा पिउने कल्चर पनि बढिरहेको छ । यस्तो अवस्थामा मदिरा उद्योगमा के कस्तो सम्भावना देख्नुहुन्छ ?

नेपालमा घरेलु मदिरालाई गणना नगर्ने हो भने उद्योगबाट उत्पादित हुने मदिराको प्रयोग निकै कम छ । यो बढाउन सकिन्छ । तर, यो भन्नुको अर्थ मदिराको प्रयोगमा प्रोत्साहन गर्ने भन्ने होइन । मदिरा मनोरञ्जनका लागि र एउटा सीमामा बसेर खानुपर्छ भन्छौं । त्यसो गर्दा मात्रै पनि मदिरा व्यवसायमा अझै पनि ठूलो सम्भावना भएको उद्योग हो । घरासयी मदिराका नियन्त्रण नगर्दा राज्यलाई पुग्ने कर मात्रै गुमेको छैन स्वास्थ्यमा पनि उत्तिकै असर गरिरहेको छ ।
जावलाखेल ग्रुपको पहिचान रुस्लान भोड्काले स्थापित गरेको हो भन्दा फरक नपर्ला ।

तपाईंहरु भोड्कामा लिडर नै हुनुहुन्थ्यो । गोल्डेन वक त अहिले पनि नम्बर वान नै छ । पछिल्लो समय बियरमा आक्रमक देखिनुहुन्छ । सबै खालका मदिराको बिक्री वितरणमा आफ्नो अग्रणी भूमिका खोज्नुभएको हो ?

बियर बजारका लागि हामी नयाँ छौं । बियर बजारमा ल्याएको ३ वर्ष जतिमात्रै भएको छ । बियर बजारमा प्रत्यक्षरुपमा महत्वपूर्ण हिस्सा लिनका लागि समय लाग्छ । अहिले हामीले जग बसालिरहेका छौं । त्यसका लागि काम गरिरहेका छौं । अहिले विश्वको नम्बर वान बियरब्राण्ड बडवाइजर पनि ल्याएका छौं । जहाँसम्म स्प्रिटको कुरा छ हामी मार्केट लिडर नै हौं । अब हामीले यो पोजिसन कायमै राख्नुपर्छ ।

रुस्लान सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड हो भने गोल्डेल वाकमा धेरै बिक्री हुने ब्राण्ड हो भने ब्लु डाइमण्ड पनि उक्त ब्राण्डमा लिडिङ ब्राण्ड नै हो । अहिले ह्विस्की सेग्मेन्टमा पनि काम गरिरहेका छौं ।

कम्पनीको पहिचान भएको रुस्लानको बजार हिस्सा पछिल्लो समय घटिरहेको देखिन्छ । यसलाई कसरी हेर्नु भएको छ ?

पहिलो त नेपालमा भोड्काको सेग्मेन्ट घटिरहेको अवस्था छ । कुनै समय नेपालमा भोड्काको वार्षिक ८ लाख केस बिक्री हुन्थ्यो । जसमध्ये ७ लाख केस रुस्लानको मात्रै थियो । तर बिस्तारै मानिसहरुले आफ्नो स्वाद अन्य ब्राण्डमा परिवर्तन गर्न थाले । अहिले ५ वर्ष वार्षिक ८ लाख केसबाट अहिले ५ लाख केस भोड्का बिक्री भइरहेको छ । रुस्लानले मात्रै बजार गुमाएको होइन समग्रमा भोड्काको बजार हिस्सा घटेको हो । र, अर्को विषय त्यो बेलामा कुनै प्रतिष्पर्धा थिएन । त्यो बेलामा हामीले उक्त चुनौतीलाई गम्भीर रुपमा लिन केही ढिलाइ पनि गरेका हो । पछि हामीले भोड्काको बोतलमा नयाँ कभर प्रयोग गरेपछि केही बजार हिस्सा बढेको देखिएको छ । मात्रै के भने पहिले जुन बजारमा अरु ब्राण्डहरु भित्रिए त्यो समयमा हामीले गम्भीर रुपमा नलिनु गल्ती भएको हो भन्ने लाग्छ । त्यसपछि रुस्लान भोड्काको बजार अरु ब्राण्डले लिएको अवस्था हो ।

त्यो बेलाको चुनौती के थियो ?

नयाँ ब्राण्ड बाहिरबाट आयात गरिएको थियो । बोतलको गुणस्तर पनि राम्रो थियो । प्याकेजिङ राम्रो थियो । शुरुमा आयातित भोड्का मात्रै रिफिलिङ गर्न ल्यायो । जसमा उसले काठमाडौंमा नभएर उपत्यका बाहिरको सेरोफेरोबाट शुरू गर्यो । सायद त्यही बेला हामी चुनौतीलाई गम्भीर रुपमा लिएनौ भन्ने लाग्छ । त्यो चुनौतीलाई हामीले रियाक्ट ढिला गरी गर्यौं ।

ठूलो स्केलमा बिजनेश गरेपछि रुस्लान भोड्काको क्वालिटी घटायो भन्न्ने आम सर्वसाधारणहरूको भनाइ छ । पहिलो र अहिलेको स्वादमा फरक भएको हो ?

गुणस्तर घटेको होइन । बरु पहिलोभन्दा अहिलेको क्वालिटी धेरै राम्रो भएको छ । क्वालिटी सुधारको प्रक्रिया निरन्तर हुन्छ । हामीसँग हरेक वर्षको भोड्काको स्याम्पल ल्यावमा अहिलेसम्म पनि छ । पाँच वर्ष अगाडिको भोड्काको गुणस्तरको तुलनामा गुणस्तरमा अल्कोहलमा धेरै राम्रो छ । अहिलेको भोड्का पहिलेभन्दा इन्फ्यूरिटिजको हिसाबले १०० गुणा गुणस्तरीय छ । तर, मान्छेहरुमा गुणस्तर घटेको हो कि भन्ने पर्सेप्सन बसिदियो ।

वास्डाइनर बियर युरोपको सबैभन्दा सफल पनि थियो । त्यो धेरै ठूलो लगानी भयो । तर, लगानी गरेअनुसार बजारको प्रतिक्रिया आएन । त्यसमा कम्पनी कहाँनिर चुक्यो । अहिले पनि वास्टेइनर उत्पादन हुन्छ । तर, वास्डाइनरलाई ठूलो सेगमेन्ट बनाउने ग्रुपको सोच किन पूरा हुन सकेन ?

त्यतिबेला बियर भनेपछि जर्मन भन्ने थियो । त्यो त सोच्नै परेन । हामीले के विचार गर्यौं भने जर्मनीबाटै बेस्ट ल्याउने । तर, जर्मनीको जुन वास्टेइनरको ब्रान्ड छ त्यहाँ पनि वान अफ द टप ब्रान्ड हो । तर, बाहिर सुन्नमा बडवाइजर जत्तिको ब्रान्ड पनि होइन । हाम्रा लागि बियरको बिजनेश नयाँ हो । र, बियर बनाउन सिक्नु पनि पर्यो । टक्नोलोजी पनि चाहियो भनेपछि विश्वको वान अफ द बेस्ट कम्पनीसँग हामीले टाइअप गर्यौं । तर, त्यो बियर नेपाली बियर पारखीको स्वादको लागि धेरै उच्च प्रिमियमवाला बियर भयो ।


त्यसमा तीतोपन पनि बढी छ । अर्को कुरा नेपालमा धेरै जसो यो वियरहरू सँधै चिसोमा खानुपर्यो । जुन ४–६ सेन्टिग्रेडमा खानुपर्यो । कतिपय ठाउँमा फ्रिज बन्द भएको हुन्छ । जाडो भयो भने फ्रिज बन्द गर्ने, बिजुली बचाउनका लागि घाममा राख्दिने र कतै राम्रोसँग सेवा नदिने । अर्को साधारण नेपालीको लागि अलिकति तितो भयो । बियर खाना जान्नेका लागि यो राम्रो बियर हो । यो त जर्मनीमा खाएको बियर हो भन्ने त्यो सेग्मेन्ट हाइ प्रिमियममा खाने सेग्मेन्टमा थोरै भयो । तर, मास ब्रान्ड हुन सकेन ।

तीतो बियरको तीतो अनुभव तपाईंहरुसँग छ । अहिले मिठो बडवाइजर बेच्न थाल्नुभयो । प्रारम्भिक प्रतिक्रिया हेर्दा राम्रो देखिन्छ । अमेरिकन ब्रान्ड प्रसिद्ध नै छ । तपाईंहरूले कस्तो फिडब्याक पाइरहेको छ ।

हामीले बडवाइजर लञ्च गरेको ५ सातापछि निषेधाज्ञा लागू भयो । त्यसपछि दुईतीन महिना गाह्रो भयो । तर, पनि यो ब्रान्डको बजार राम्रो छ । हामीले नेपालभरी एकै पटक लञ्च गरेनौं । हामीले काठमाडौंमा मात्रै लञ्च गर्यौं । तर, हामी यसलाई बितारै परीक्षण गराउँदै लैजाने हो ।
विशेषगरी निषेधाज्ञा हट्न थालेसँगै यसको बजार राम्रो भएको छ । अहिले जसले पनि अरु ब्रान्ड राख्न हिचकिचाउने रिटेल, रेष्टुराँमा बडवाइजर माग थालेको अवस्था छ । ग्राहकले पनि बडवाइजरको स्वादमा धेरै रुचाएको देखिन्छ ।

तीतो बिकेन भनेर मीठोतर्फ लाग्नु भएको हो ?

होइन । एक त वास्टेइनरको तीतोपन यसलाई बियरको भाषामा इन्टरनेशनल बिटरनेश यूनिट (आइबीयू) भनिन्छ । वास्टेइनरको बिटरनेश यूनिट धेरै माथि छ । त्यसमा २६÷२७ बिटरनेश यूनिट हुन्छ । बडवाइजरको बिटरनेश यहाँको लागि घटाएको होइन । इन्टरनेशनल बिटरनेश जुन छ त्यही हो । र, त्यो वास्टेइनरभन्दा धेरै कम रहेको छ । त्यसैले नेपाली जिब्रोले मन पराएका छन् ।

अहिलेसम्म बडवाइजर कति बिक्री भयो ?

लकडाउनपश्चात् हामीले १ लाख केस निकालिसकेका छौं । उद्योगको उत्पादन भनेको सेयर प्रोडक्शनभन्दा २०/२५ प्रतिशत बढी उत्पादन हुन्छ ।

त्यो भनेको निकै राम्रो होइन र ?

त्यहाँसम्म पुगेको म भन्दिन । नेपालमा बियरको माग भनेको गत वर्षको जम्मा अन्दाजी डेढ करोड केसको मार्केट हो । डेढ करोडको मार्केटमा कस्तो प्रवृत्ति देखेको छ भने अलि प्रिमियम खालको बियरको सेग्मेन्ट घट्दोक्रम छ । हाई अल्कोहल भएको एकैचोटी एक दुई वटा खाने वित्तिकै लाग्ने टेस्टको मतलव नगर्ने सेग्मेन्टको बढ्दो क्रममा छ । त्यसैले अब यो घट्दो प्रिमियम सेग्मेन्टमा नयाँ ब्रान्डले जुन मार्केट पकड गरेको छ । त्यो उत्साहजनक रहेको छ । तर, हामी भर्खरै आएको हुनाले हामी त्यहाँ पुगिसकेको भन्ने अवस्थामा छैन ।

बियर सेग्मेन्टमा नयाँ हुनुहुन्छ । संसारमा नभएको ८/९ प्रतिशत अल्कोहल भएको बियरको उत्पादन र माग बढ्दो छ नि ?

यसकापछि २ कारण छन् । ८ प्रतिशत अल्कोहल भएको बियरमा पनि ठूलोभन्दा सानोमा बिक्री हुन्छ । एउटा पकेटमा पनि एक किसिमको लाइफ भयो । १५०÷१६० रुपैयाँमा बियर खानुपर्ने भयो । बियर खानेको एक किसिमको ट्रेन्ड पनि छ । रक्सी खायो भने रक्सी खाएर हिँड्यो भन्छ । बियर खायो भने सामाजिकरुपमा एसेप्टेबल पनि हुने अवस्था छ ।

झ्याप हुने बियरले मार्केटलाई कतातिर लैजाँदैछ ?
आजका दिनमा बियर बजार हेर्दा डेढ करोड केसको मार्केट छ । आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्क हो । त्योभन्दा अगाडिको वर्षको कोभिडको कारणले निकै झरेको थियो । त्यसभन्दा पनि अगाडिको वर्षमा करिब १ करोड ६० लाख केसको मार्केट थियो । बीचका वर्ष छोड्ने हो भने गत वर्ष डेढ करोडको मार्केट भनेको कम हो ।

बियरमा हाई अल्कोहल भएको । सानो तथा सस्तो बियरको मार्केट बढे पनि सबै उद्योगमा बढेको अवस्था भने छैन । त्यहीभित्रै सिफ्ट भइरहेको छ । कोभिडले पनि असर गरेको छ ।

अब तपाईंहरूले विदेशी कुन–कुन ब्रान्ड भित्र्याउँदै हुनुहुन्छ ?

अहिले बियरमा हामी धेरै अर्को ब्रान्ड ल्याउँदैनौं । अहिले वडवाइजर ग्रुपकै हेभर्स फाइभ थाउजेन्ट ल्याउँदैछौं । योभन्दा अगाडिसम्म सिजीले उत्पादन गथ्र्यो । बडवाइजरको पोर्टफोलियो ब्रान्ड भएकाले अब हामी गर्दैछौं । अब यही प्लान्ट बनाएर उत्पादन गर्छौं ।

कहिलेदेखि आउँछ ?

सम्भवत दुई महिना जतिमा आउँछ । त्यसमा ह्विस्कीको प्रिमियम सेड्युलमा आउँदैछौं । हामी इन्टरनेशनल ब्रान्डसँग आबद्ध हुँदैछौं । जसमा ह्विस्की र अरु स्पिड सेग्मेन्टमा हाम्रो अझ बलियो उपस्थिति हुनेछ । अहिले धेरै खुलेर भन्न चाहन्न । तर, उक्त कम्पनी इन्टरनेशनल मार्केटमा निकै चलेको ब्रान्ड हो ।
जवलाखेल ग्रुप अफ इन्डष्टिजले कति ब्रान्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ?
हामीसँग ८ वटा ब्रान्ड छन् । लिक्वयरमा १५ वटा ब्रान्ड छ । सबैभन्दा सक्सेस ब्रान्ड गोल्डेन ओक, ब्याक ओक, रुस्लान र ब्लु डाइमन्ड । यो चार वटा ब्रान्ड निकै चलेको अवस्थामा छ ।

नेपालीहरुले कस्तो खालको मदिरा बढी रुचाउँछन् ?

आजका दिनमा नेपालीहरुको रुचि मदिरामा ह्विस्की सेग्मेन्टमा छ । त्यसमा पनि प्रिमियममा पनि उत्तिकै राम्रो छ । मध्यमवर्गमा गोल्डेन वाक र ब्ल्याक वाक नै हो । माथिल्लो सेग्मेन्टमा रोयल ट्रेजर ब्राण्ड छ । त्यसभन्दा माथि मास्टर सेलेक्सन छ । त्यो शतप्रतिशत स्कच छ ।

वाइन ल्याउने योजना छ कि छैन ?

वाइन सेग्मेन्टमा हामीले इटालियन सेग्मेन्ट ल्याउन खोजेका छौं । वाइनमा सस्तोदेखि महंगो ब्राण्डहरु पनि छन् । तर नेपालमा वाइन धेरै महंगो बिक्री हुने अवस्था छैन । अब हामीले बियरलाई बजारमा राम्रो उपस्थिती जनाइसकेपछि वाइनिरी पनि खोल्ने योजना बनाएका छौं । तर त्यो केही वर्षपछि मात्रै शुरु हुनेछ ।

बियरमा अन्तर्राष्ट्रिय ब्राण्ड बडवाइजर ल्याउनु भएको छ । यसले बजार तताउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

पक्कै पनि हुन्छ । म यसमा निकै आशावादी छु । नेपाली उपभोक्ताले लामो समयसम्म ग्राहकलाई छनोट गर्ने आधार थिए । तर, विकल्प थिएन । वडवाइजर विश्वको नम्बर वान ब्राण्ड हो । यो त्यत्तिकै भएको होइन । उत्पादनमा हरेक नमूना अमेरिकाको सेन्ट लुइसमा परीक्षण गराएर मात्रै उत्पादन गर्नुपर्ने हुन्छ । गुणस्तरमा कायम राख्न निकै चुनौतीपूर्ण छ । त्यसैकारणले वडवाइजर ल्याउनका लागि हामीलाई १ वर्ष ढिला भएको हो । बियर उत्पादन गर्ने प्रविधि पनि निकै उच्चस्तरको भएकाले गुणस्तर कायम हुन सकेको हो । यसले नेपाली बजारमा बलियो उपस्थिति जनाउँछ भन्नेमा हामी विश्वस्त छौं ।

क्राफ्ट बियरमा पनि जाँदै हुनुहुन्छ ?

नेपालमा क्राफट् बियर बनाउन त्यति सजिलो छैन । नेपाली बजारमा पाइने क्राफ्ट बियर नै होइन भन्ने लाग्छ । यो उत्पादन गर्न सजिलो छैन । यसको बजार सानो हुन्छ तर पारखीहरु भने निकै छन् ।

मदिरा उद्योगबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्ने सोचमा हुनुहुन्छ ?

पक्कै पनि त्यो सोच छ । मदिरा उद्योगको सहयोगमा पशुका लागि दाना पनि बनाउन सकिन्छ । त्यसप्रकारको उद्योग पनि सञ्चालन गर्न सकिन्छ । माछापालनमा पनि व्यवसायिक रुपमा जाने योजना छ । त्यसका लागि बजेट छुट्याइसकेका छैनौ । तर त्यसका लागि २५÷३० करोड रुपैयाँको शुरुवाती लगानी गर्ने योजना बनाएका छौं । त्यसमा पनि एड्भान्स प्रविधि प्रयोग गरेर माछापालन गर्ने योजना पनि बनाएका छौं । ८÷१० बिघामा माछापालन गर्ने योजना बनाएका छौं ।

मदिरा कति पिउँदा ठीक होला ?

सोसल ड्रिकरका रुपमा हो भने बढीमा २÷३ पेग अर्थात् १८० एमएलको हाराहारीमा पिउनु ठीक हो । बियर हो भने धेरै अल्कोहल नभएकाको हकमा २ बोतल हो । त्यसबाहेक नेपालमा मदिरा पिएर सवारी चलाउन पाइँदैन । तर विदेशको हकमा हेर्ने हो चलाउन पाइन्छ । तर बढीमा ६० एमएल र बियरको हकमा सानो बोतलसम्म ठीक हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मदिरामा राजस्व चुहावट छ । त्यसलाई रोक्नका लागि विद्युतीय विल लागू गर्न सकियो भने फलदायी हुन्छ । त्यसले राज्यलाई र व्यवसायीका लागि हितकारी हुन्छ भन्ने मलाई विश्वास छ । त्यसबाहेक घरेलु मदिराको नियन्त्रण आवश्यक छ ।