पतञ्जली नेपालको आम्दानी ९३ करोड, व्यवसाय बिस्तारका लागि लियो ९५ करोड ऋण



काठमाडौं । भारतीय योगगुरु रामदेवको कम्पनी भनेर परिचित नेपालमा स्थापना भएको पतञ्जलीले सन् २०२१ मा ९३ करोड आम्दानी गरेको छ । सन् २०११ मा ग्रामोध्योगका नामले स्थापना भए पनि सन् २०१५ मा पतञ्जली आर्युवेद प्रालिमा रुपान्तरण भएको कम्पनीले हाल खाना तथा घरासयी प्रयोगका लागि आवश्यक वस्तुको उत्पादन गर्दै आएको छ ।

काठमाडौंको भाटभटेनीमा कार्यालय रहेको कम्पनीको बारामा उद्योग सञ्चालनमा छ । कम्पनीको ९० प्रतिशत स्वामित्व भारतीय कम्पनी गंगोत्री आर्युवेदको रहेको छ भने बाँकी १० प्रतिशत सेयर स्वामित्व महतो ग्रुप, रामजानकी इन्भेष्टमेन्टको लगानी रहेको छ ।

कम्पनीले सन् २०२० मा ९६ करोड ६० लाख आम्दानी गरेको थियो भने सन् २०१९ मा ६१ करोड ६० लाख र सन् २०१८ मा १ अर्ब ६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्ण हुन् । स्याङजामा जन्मिएका बालकृष्ण भारत पुगेर योगगुरु रामदेवसँगको सहकार्यमा पतञ्जली स्थापना गरेका थिए । पतञ्जलीले खाद्यान्नसँगै विभिन्न प्रडक्टहरु उत्पादन गर्दै आएको छ । विश्वभर पतञ्जलीका उत्पादनहरु बिक्री वितरण हुँदै आएका छन् भने आचार्य बालकृष्ण अर्बपतिका रुपमा परिचित छन् ।

हालै कम्पनीले ९५ करोड ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले व्यवसाय बिस्तारका लागि ऋण लिएको जनाएको छ । कम्पनीबाट उत्पादन हुने एफएमसीजी प्रडक्टहरु उपभोक्तामाझ लोकप्रिय छन् ।

नेपालमा उपभोग हुने पतञ्जलीका प्रडक्टहरु नेपालमै उत्पादन भएका हुन् । भारतमा उत्पादन भएका प्रडक्टहरु नेपाल नल्याउने कम्पनीले सहमति नै गरिसकेको छ ।


पुष्प दुलाल