रातको समयमा ४०० मेगावाट बिजुली खेर जाँदै, प्राधिकरणलाई दैनिक ४ करोड घाटा



काठमाडौं । एकातिर देश बिजुलीमा आत्मनिर्भर भएको घोषणा भइरहेको छ भने अर्कोतर्फ दैनिक ४०० मेगावाट बिजुली पनि खेर गइरहेको छ । यो विडम्बनापूर्ण अवस्थाको सिर्जना भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि देशको कूल जडित क्षमता २ हजार मेगावाटको हाराहारीमा पुगेको छ ।

प्रणालीमा कूल माग १ हजार ५०० मेगावाटको हाराहारीमा मात्रै रहेको छ । कहिलकाही त्यो बढेर १ हजार ५५० मेगावाटको हाराहारीमा पुग्ने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको विवरण अनुसार दिनको समयमा झण्डै २०० मेगावाट बिजुली खेर गइरहेको छ । यस्तै, रातको समयमा झण्डै ४०० मेगावाट बिजुली जगेडामा रहेको छ ।

नियमित रुपमा बिजुली खेर जाँदा प्राधिकरणलाई दैनिक ४ करोड बराबरको घाटा भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्रणालीमा उपलब्धमध्ये रातको समयमा ठूलो मात्रामा बिजुली जगेडामा रहेको छ ।

जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भएपनि उताबाट प्रभावकारी जवाफ आउन सकेको छैन । भारतमा बर्षाको समयमा अत्यधिक बिजुली माग हुने गरेको छ ।

भारतको बजार प्रणाली अनुसार कहिले काँही एक यूनिट बिजुलीको २० रुपैयाँ भारुसम्म पर्ने गरेको छ । त्यस्तो बेलामा नेपालको बिजुली सहज रुपमा निर्यात गर्न सकिएको खण्डमा प्राधिकरणलाई राम्रै आम्दानी हुने थियो । तर, भारत सरकारको तर्फबाट स्पष्ट जवाफ आउन नसक्दा नेपालको प्रणालीमा उपलब्ध बिजुली खेर जान पुगेको छ ।

यतिबेला प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुुली थ्री जलविद्युत् आयोजना बन्द छ । मर्मत सम्भारको नाममा विगत ४ महिनादेखि सो आयोजना बन्द अवस्थामा रहेको छ । निजी क्षेत्रका केही आयोजना बाहेक कूल १०८ आयोजना पूर्णक्षमतामा चलिरहेका छन् ।

प्राधिकरणले माथिल्लो तामाकोशीको ४५६ मेगावाट र भोटेकोशीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्न सकिने प्रस्ताव गरेको छ । सो बारेमा प्राधिकरणले कुटनीतिक पहल जारी राखेको छ । तर, हालसम्म स्पष्ट जवाफ आउन सकेको छैन । सोही कारण ठूलो मात्रामा बिजुली खेर गइरहेको छ ।

ठूलो मात्रामा खेर गइरहेको बिजुली खपतका लागि खाना पकउने इन्डक्सन चुल्होको प्रयोगलाई बढावा दिने प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । यस्तै, विद्युतीय सवारीको प्रयोगका सन्दर्भमा कुरा भएपनि काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

प्राधिकरणका अनुसार उसका आयोजनाबाट ९ हजार ७५६ मेगावाट घण्टा बिजुली उपलब्ध छ । यस्तै , प्राधिकरणका सहायक कम्पनीबाट कूल ८ हजार ७७४ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट ११ हजार ३३९ मेगावाट घण्टा उपलब्ध भइरहेको छ ।

प्राधिकरणको प्रणालीमा हाल १ हजार ४८२ मेगावाट बिजुलीको माग देखिएको छ । यो साँझको समयको उच्च माग हो । यस्तै, भारतबाट ७७६ मेगावाट घण्टा आयात हुँदा ५८१ मेगावाट घण्टा निर्यात भइरहेको छ । यस्तै, बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा भएको अवरोधका कारण ३५ मेगावाट घण्टा अवरुद्ध भएको छ ।


क्लिकमान्डु