नेपाल-बंगलादेश उर्जा सचिवस्तरीय बैठक अर्को हप्ता, विद्युत् व्यापार र लगानी सहकार्य मुख्य एजेण्डा



काठमाडौं । नेपाल र बंगलादेशका उर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक भदौ २७ र २८ गते (सेप्टेम्बर १२ र १३) बस्ने भएको छ ।

२०७५ साउन (२०१८ अगस्ट) मा नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको थियो । उक्त एमओयुले समेटेका विषयहरुमा भएको कार्यप्रगति बारे छलफल गर्नका लागि स्टेरिङ कमिटीको बैठक बस्न लागेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले बताए । बैठक भर्चुअल माध्यामबाट बस्नेछ ।

‘उक्त एमओयु पछिको तेस्रो जोइन्ट स्टेयरिङ कमिटी बैठक बस्न लागेको हो । विद्युत् आदान–प्रदान, लगानी सहकार्य तथा प्रशारणलाइन, सौर्य तथा नवीकरणीय उर्जालगायतका क्षेत्रमा दुई देशका ज्ञान, सीप र अनुभव आदान–प्रदान हुनेछन्,’ सहसचिव भेटवालले भने ।

तीन वर्षअघि तत्कालिन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबीच उर्जा क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको थियो ।

काठमाडौंमा सम्पन्न उक्त सम्झौतामा दुई देशबीच विद्युत् व्यापार, नेपालका जलविद्युत् आयोजनामा बंगलादेशको लगानी खोज्ने, उर्जा क्षेत्रको ज्ञान सीप, प्रविधिको आदान–प्रदान तथा सहकार्यलगायत विषय समेटिएका थिए । त्यस्तै, अन्तरदेशीय प्रसारणलाईन, उर्जा दक्षता, नवीकरणीय उर्जालगायतका क्षेत्रमा सहकार्यका विषय पनि उक्त सम्झौताले समेटेको थियो ।

जोइन्ट स्टेयरिङ कमिटीको अर्को हप्ता बस्ने बैठकले यीनै विषयमा भएको कार्यप्रगति र आगामी कार्यदिशाबारे छलफल गर्ने सहसचिव भेटवालले बताए ।

सुनकोशी २ र ३ जलविद्युत् आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिन्छ । तर सहसचिव भेटवालले कुनै आयोजना विशेषमा लगानी गर्ने विषयमा छलफल गर्नका लागि एजेण्डा तयार नभइसकेको बताए ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट विद्युत् भारतीय कम्पनी जिएमआरले बंगलादेशलाई बेच्ने बताउँदै आएको छ । तर जिएमआरले लगानी नै जुटाउन नसकेपछि यो आयोजनाको काम अघि बढ्न सकेको छैन । यो बैठकमा माथिल्लो कर्णालीको विषय पनि उठ्न सक्ने अनुमान गरिएको छ ।

हालसम्मका उपलब्धी
चरम उर्जा संकट भोगिरहेको बंगलादेशले २०७१ साल मंसीर १० र ११ गते काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनका क्रममा क्षेत्रियस्तरमा विद्युत् व्यापारका लागि प्रस्ताव गरेको थियो । बंगलादेशकै प्रस्तावमा उक्त सम्मेलनपछि ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी को–अपरेसन’ सम्झौता भयो ।

त्यसयता बंगलादेशले नेपालसँग विद्युत् क्षेत्रमा सहकार्यका लागि पटक–पटक चासो देखाउँदै आएको छ ।

बंगलादेशको राजधानी ढाँकामा सन् २०१६ को अक्टोबरमा आयोजना भएको दक्षिण एसिया आर्थिक सम्मेलनका क्रममा नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्य गर्नका लागि प्रारम्भिक सम्झौता भएको थियो ।

सन् २०१८ अगस्टमा काठमाडौंमा भएको उर्जा सहकार्य सम्झौता पछि दुई देशका उर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरीय संयुक्त प्राविधिक कार्यदल गठन भएको थियो । त्यो बेला नै बंगलादेशले नेपालसँग तत्काल ५ सय मेगावाट विद्युत् खरिदका लागि चाँसो राखेको थियो ।

तत्कालिन उर्जामन्त्री वर्षमान पुन बंगलादेशले आयोजना गरेको पावर एण्ड इनर्जी वीकमा भाग लिन गएका बेला नेपालका जलविद्युत् आयोजनामा बंगलादेशले लगानी गर्नेबारे छलफल भएको थियो ।

नेपालमा उत्पादित विद्युतको सम्भावित बजारका रुपमा हेरिएको बंगलादेशले आफै उत्पादनमा संलग्न हुन चाँसो देखाइरहेको छ । नेपाल–बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी) को चौथो बैठकका क्रममा बंगलादेशीका प्रतिनिधिहरुले नेपालका जलविद्युत आयोजनामा लगानीका लागि प्रस्ताव गरेका थिए ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार तथा आदान–प्रदानका लागि अन्तरदेशीय प्रशारणलाईन बनाउन भारतीय भूमि प्रयोग हुने भएकाले यसमा भारतीय पक्षको भूमिकालाई पनि महत्वका साथ हेरिएको छ । यद्यपि, प्रशारणलाइनबारे नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षिप छलफल भने हालसम्म हुन सकेको छैन ।


क्लिकमान्डु