जोखिममा पार्टी प्यालेसको अर्बौं लगानीः लयमा कहिले फर्किएला ?



काठमाडौं । सामान्य अवस्था हुँदो हो त यति बेला उपत्यकाका अधिकांश पार्टी प्यालेस तथा क्याटरिङ भरिभराउ र भ्याइनभ्याई अवस्थामा हुन्थ्यो । हिन्दु महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजको माहौलले बजारमा छुट्टै रौनक दिने गर्दछ । तीज आउन केही दिन मात्रै बाँकी हुँदा महिलालाई दर खाने चटारोले छोप्थ्यो । तर, तीजमा पार्टी प्यालेसमा ठूलो संख्यामा दर खाने प्रचलनलाई गत वर्षदेखि ब्रेक लागेको छ ।

कोरोना महामारीले गत वर्षदेखि अधिकांश पार्टी प्यालेस बन्द अवस्थामा थिए भने सरकारले पार्टी प्यालेस खोल्नका लागि अनुमति दिएको थिएन । जसले गर्दा चाहेअनुसार कार्यक्रम सञ्चालन गर्न पाएका थिएन । साथै गत वर्ष मात्रै होइन यस वर्ष पनि तीजमा खासै रौनक देखिएको छैन ।

त्यस्तै यो वर्ष पनि निषेधाज्ञा कायमै छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका समयसमयमा लकडाउन तथा निषेधाज्ञा लागू गर्दै आएका छन् । जसले गर्दा सम्पूर्ण व्यापार व्यवसायमा प्रभाव परेको छ ।

कोरोनाले अन्य व्यापार व्यवसायसँगै निकै प्रभावित बनाएको क्षेत्र हो पार्टी प्यालेस तथा क्याटरिङ । शुरुदेखि कोरोनाका कारणले निकै प्रभावित भएको क्षेत्र भएकाले करिब डेढ वर्ष बितिसक्दा पनि सहज हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रमा आवद्ध भएका व्यवसायी उठ्न नसक्ने अवस्थामा पुगेका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले अन्य व्यवसाय सञ्चालन पाउने तर पार्टी प्यालेल खोल्न नपाउने भन्दै विभिन्न चरणमा सरकारलाई ध्यानाकर्षण गर्दै आएका थिए । तर, सरकारसमक्ष दिएको माग हालसम्म सम्बोधन भएको छैन ।

विसं २०७६ चैतदेखि बन्द भएको व्यवसाय विभिन्न माग तथा विरोध पश्चात गत वर्षको मंसिरबाट २५ जनाभन्दा बढी भेला हुन नपाउने शर्तसहित सञ्चालनमा आएका थिए । तर, सञ्चालनमा आएको केही महिना नबित्दै दोस्रो चरणको कोभिडले थप प्रभावित बनाएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायको सिजनअनुसार व्यापार हुने गर्दछ । त्यसमा मंसिर लाग्नै वित्तिकै यस क्षेत्रको ‘पिक समय’ शुरू हुन्छ । कोरोना महामारीले गत वर्ष पनि राम्रोसँग व्यसाय सञ्चालन गर्न नपाएका व्यवसायीका लागि हालसम्म सहज हुन सकेको छैन । त्यसैले यस क्षेत्रमा आबद्ध व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएका छन् ।

५० प्रतिशत पार्टी प्यालेस व्यवसायी विस्थापन

कोरोनाअघि देशभर ७ हजार बढी पार्टी प्यालेस तथा क्याटरिङ थिए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघमा औपचारिक रुपमा आबद्ध भएको व्यवसायी मात्रै ७ हजार बढी थिए भने अनौपचारिक रुपमा पनि धेरै व्यवसाय सञ्चालन गरिरहेका थिए ।

उक्त क्षेत्रमा ७ हजार बढी व्यवसायी आबद्ध हुँदा प्रत्यक्ष रुपमा ५० हजार जनाले रोजगारी पाएका थिए । कोरोनाअघि प्रत्यक्ष रुपमा ५० हजार रोजगारी दिइहेका यस क्षेत्रले हाल भने नगन्य हिसाबमा मात्रै रोजगारी दिइरहेका छन् ।

पहिलो चरणको लकडाउनका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्दा करिब ३० प्रतिशत व्यवसाय विस्थापन हुन पुगेको थिए भने अहिले उक्त संख्या बढेर ५० प्रतिशत पुगेको महासंघका अध्यक्ष लिलाबहादुर जीसी बताउँछन् ।

‘पहिलो चरणको लकडाउनमा लामो समय बन्दाबन्दी भएकाले करिब ३० प्रतिशत व्यवसायीले लगानी जुटाउन नसक्दा विस्थापन भएका थिए । साथै पछिल्ला दिनमा वातावरण सहज होला भन्ने आशमा अन्य बसिरहेका थिए । तर, स्थिति झन विकाराल हुँदै गएपछि अहिले विस्थापन हुने व्यवसायीो संख्या ५० प्रतिशत पुगिसकेको छ,’ उनले भने ।

हाल विस्थापन नभएका ५० प्रतिशत व्यवसायीले विभिन्न समस्या भोग्नु परेको उनको भनाइ छ । त्यसैगरी ऋण लिई गाडीको व्यवस्थासहित सञ्चालन रहेका व्यवसायीले गाडीको रकम असुल गर्न नसक्दा गाडी फिर्ता गर्न बाध्य भएको उनले बताए । त्यस्तै सरकारले सञ्चालनका लागि अझै वातावरण सहज नबनाएमा ७० प्रतिशत व्यवसायी विस्थापन हुने उनको अनुमान छ । सरकारले सहज बनाएपनि या क्षेत्रमा फर्किन धेरै समय लाग्ने उनको दाबी छ ।

लगानी उठाउनै कठिन
कोरोनाले सञ्चालन गर्न नपाएका व्यवसायीहरूको लगानी उठाउनै सकस परेको व्यवसायीहरू बताउँछन् । कुनै पनि पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीमा सामान्यतया ५० लाखको लागनीबाट शुरू हुने गर्दछ । सामान्य लगानी नै ५० लाखदेखि शुरू हुने यस क्षेत्रका व्यवसायीले १० करोडसम्म लगानी गरेको उनको भनाइ छ । महासंघका अनुसार यस क्षेत्रमा खर्बौको लगानी रहेको उनले जानकारी दिए ।

हजारौं व्यवसायीले करोडौं लगानी गर्दै आएको व्यवसायीलाई खर्च गरेको लागत नै उठाउन सकस भएको जिसीले बताए । ‘अधिकांश यस क्षेत्रमा आबद्ध व्यवसायीले करोडौंको ऋण लिएर सञ्चालन गरिरहेका थिए,’ उनले क्लिकमान्डूसँग भने, ‘अहिले लगानी गरेको रकमको ऋण तिर्न नसक्दा बैंक तथा वित्तिय संस्थाले ताकेता गरिरहेका छन् । जसले गर्दा लगानी कसरी उठाउने भन्ने विषयले चिन्तित बनाएका छन् ।’

लामो समयसम्मको बन्दाबन्दीले सञ्चालन गर्न नपाएका व्यवसायीहरूले कम रकममा ग्राहक आएपनि बेच्न पर्खिरहेको अवस्था सिर्जना भएको उनले बताए । यस क्षेत्रले सामान्य अवस्थामा वार्षिक १५ अर्ब बढी सरकारलाई कर तिर्ने गरेको महासंघले जनाएको छ । तर, कोरोनाले व्यापार व्यवसाय ठप्प हुँदा सरकारलाई पनि घाटा भएको उनी बताउँछन् ।

सरकारले सहज बनाउँछ भन्नेमा विश्वस्त छैनन् व्यवसायी

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाले थलिएको व्यवसाय उठाउन सरकारले सहज बनाउँछ भन्नेमा विश्वस्त छैनन् व्यवसायी ।

गत वर्ष पनि बारम्बार ध्यानाकर्षण गर्दासमेत सरकारले सहज बनाइ दिएको थिएन । साथै यो वर्ष पनि सरकारसँग महासंघले विभिन्न चरणमा ध्यानाकर्षण गराएका छन् । तर, सरकारले सहज बनाउँछन् भन्नेमा कुनै पनि व्यवसायी सहमत छैनन् ।

‘खर्बौको लगानी भएको यस क्षेत्रलाई सरकारले बेवास्था गर्दै आएको देखिन्छ,’ उनले भने, ‘अबका दिनमा पनि सरकारले सहज बनाउँछ भन्ने हामी विश्वास छैन ।’

हाल होटल, रेष्टरेन्टलगायत क्याफे सञ्चालनको अवस्थामा छन् । साथै सरकारका राजनैतिक कार्यक्रम हजारौंको संख्यामा भेला, सम्मेलन भइरहेको छ । तर, व्यवसायीहरूले मापदण्डसहित व्यवसायी चलाउँछु भन्दा सरकारले सहज वातावरण नबनाइ दिएको उनको गुनासो छ ।

‘सरकारका विभिन्न कार्यक्रम ठूला–ठूला होटलमा क्षमताभन्दा बढी मानिसको भिडमा सञ्चालन गर्न पाउने । पार्टी प्यालेस व्यवसायीले मापदण्डसहित व्यवसाय सञ्चालन गर्न नपाउने,’ उनले प्रश्न गरे । पार्टी प्यालेस तथा क्याटरिङले स्वतः कोरोना पैदा गरी फैलाउँछ भन्ने प्रवृत्तिका साथ यस क्षेत्रलाई बेवास्था गरेको जीसीको भनाइ छ ।

पुनः ध्यानाकर्षण गर्ने तयारीमा महासंघ

महासंघले फेरीपनि यस क्षेत्रमा रहेका व्यवसायीलाई उकास्नको लागि सरकारसमक्ष ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । महासंघले गत वर्ष पनि ध्यानाकर्षण पत्र बुझाएका थिए । यो वर्षपनि पुनः सरकारलाई सहज वातावरण निर्माण गर्न व्यवसायीहरूले सरकारलाई ध्यानाकर्षण गर्ने तयारीमा छन् । साथै अबको केही दिनमा अर्थमन्त्री जनार्दन शर्मालाई प्रत्यक्ष भेटेर वातावरण सहज बनाउनका लागि मागपत्र बुझाउने तयारी गरेको उनले बताए ।


क्लिकमान्डु