चिनी ल्याउन अर्थमन्त्रालयले स्वीकृती दिएन, चाडपर्वमा मूल्य बढ्ने



काठमाडौं । नेपालीहरूको मुख्य चाडपर्व नजिकिँदै गर्दा सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको अभाव हुँदै गएको छ ।

कर्पोरेशनले बजारमा चिनी अभाव हुन नदिनका लागि आयात गरी आपूर्ती सहज बनाउँदै आएको छ । तर यो वर्ष बजारमा चिनी अभाव हुँदै गर्दा अर्थमन्त्रालयले चिनी ल्याउनका लागि हालसम्म अनुमति दिएको छैन ।

कर्पोरेशनले अत्यधिक खपत हुने चिनी चाडपर्वलाई लक्षित गरी अनुदानमा भन्सार सहुलियतमा आयात गर्दै आएको थियो । दशैं आउन करिब डेढ महिना मात्रै बाँकी छ । अर्थमन्त्रालयबाट भन्सार सहुलियत स्वीकृति नदिएपछि बजारमा आपूर्ति कसरी गर्ने भन्नेमा कर्पोरेशनमा अन्योलता छाएको छ ।

कर्पोरेशनले गत वर्षको भदौमा ५० हजार मेट्रिक टन आयात गर्नका लागि अनुमति मागेको थियो । त्यसमा गत वर्षको दशैंअघि कर्पोरेशनले २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार मेट्रिक टन गरी ३० हजार मेट्रिक टन चिनी आयात गर्नको लागि अनुमति पाएको थियो ।

त्यसमा कर्पोरेशनले २० हजार मेट्रिक टन आयात गरेको थियो भने व्यापार कम्पनीले १० हजार मेट्रिक टन आयात गर्न ढिला हुने भन्दै आयात गरेको थिएन ।

गत वर्ष नै कर्पोरेशनले बाँकी चिनी ल्याउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति पत्र पेश गरेको थियो । मन्त्रालयले उक्त पेश भएको सहमति पत्र अर्थमन्त्रालयमा बुझाउनुपर्दछ । त्यसमा अर्थमन्त्रालयले स्वीकृति दिए मात्रै चिनी आयात गर्नका लागि अनुमति दिएको छैन ।

गत वर्ष नै पेश गरेको सहमति पत्र हालसम्म स्वीकृत नभएको आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । उनका अनुसार गत वर्ष मन्त्रालयको लापवाहीका कारण साल्ट ट्रेडिङले चिनी किन्ने अनुमति पाउन सकेको थिएन । बजारमा चिनीको मौज्दात सकिँदै गर्दा आपूर्ती मन्त्रालयले पुनः गत वैशाखमा ३० हजार टन चिनी किन्न अनुमति दिन अर्थमन्त्रालयमा पत्र पठाएको थियो । उक्त पत्र पठाएसम्म पनि कुनै प्रतिक्रिया नआएको हो ।

‘चिनी आयात गर्नका लागि मन्त्रालयले भन्सार सहुलियत प्रदान गर्न अर्थमन्त्रालयमा सहमति पत्र बुझाइसकेको छ । अर्थमन्त्रालयले सहमति जनाएपछि मन्त्रिपरिषद्बाट पेश भई स्वीकृति पाउँछ,’ उनले भनिन्, ‘अहिले मन्त्री पनि नभएकाले सहमति आउन ढिलाइ भइरहेको छ ।’

आपूर्ती मन्त्रालयले हालसम्म ३० हजार मेट्रिक टन आयात गर्नका लागि दुई पटक अर्थमन्त्रालयमा सहमति पत्र पेश गरिसकेको छ । सहमति प्राप्त नभए पुनः तेस्रो पटक सहमतिका लागि पेश गर्ने तयारी मन्त्रालयले गरेको छ ।

दशैंतिहारका लागि चिनी ल्याउन नसक्ने
कर्पोरेशनले बारम्बार चिनी आयातका लागि अनुमतिको लागि सहमति पत्र बुझाए पनि सरकारले वेवास्था गरेपछि यो वर्षको दशैंतिहारका लागि चिनी ल्याउन नसक्ने भएको छ ।

सामान्यतया दशैंतिहार लक्षित गरी सरकारले करिब दुई महिना अगाडि नै अनुमति पाएर टेन्डर आह्वान गर्नुपर्ने हुन्छ । त्यसमा टेन्डर आह्वान गरी ल्याउनका लागि कम्तीमा पनि ४५ दिन लाग्छ । त्यसैले यो वर्षको चाडपर्वमा चिनी ल्याउन नसक्ने अवस्थामा पुगेको कर्पोरेशनमा बजार प्रबन्धक प्रज्वल प्रधान बताउँछन् ।

‘चिनी आयात गर्नका लागि स्वीकृती प्राप्त भए पनि टेन्डर प्रक्रियामा जानका लागि कम्तिमा ४५ दिन लाग्दछ,’ उनले भने, ‘दशैं आउन डेढ महिना मात्रै बाँकी भएकाले ल्याउन सक्ने स्थिति छैन ।’

कर्पोरेशनले बजार मूल्यको तुलनामा सहुलियत मूल्यमा चिनी बिक्री वितरण गर्दै आएका छ । त्यसमा दशैैंतिहारमा सहुलियत बजार सञ्चालन गर्दा प्रति केजी ५ रुपैयाँ छुटसहित बिक्री गर्ने गर्दछ । सामान्य अवस्थामा २० रुपैयाँसम्म मूल्य फरक पर्छ । त्यसैले कर्पोरेशनले मूल्यलाई सन्तुलन गर्नका लागि मौज्दात कायमै राख्दै बिक्री गर्ने गर्दछ ।

हाल कर्पोरेशनसँग ३ सय टन पनि चिनी मौज्दात रहेको प्रधानले जानकारी दिए । कर्पोरेशनले अहिले कुनै पनि उपभोक्तालाई दुई केजीभन्दा बढी बिक्री गर्न सकेको छैन । साथै, व्यापारीलाई चिनी दिन बन्द भइसकेको छ । उक्त मौज्दातमा रहेको चिनी बजारमा दिने हो भने १ महिना पनि नधान्ने उनको भनाइ छ ।

हालको बजार मागलाई नै नधान्ने भएपछि कर्पोरेशनले दशैं तिहारमा के गर्ने भन्नेमा अन्योलता छाएको उनको भनाइ छ । सामान्य अवस्थाको तुलनामा दोब्बरले बिक्री हुने उक्त समयमै चिनी ल्याउन नसक्दा उपभोक्ताहरू मारमा पर्ने चिन्ता व्यक्त गरे ।

मूल्य बढ्ने
बजारमा चिनी मूल्य सन्तुलन राख्नका लागि आपूर्ति गर्दै आएको कर्पोरेशनले चिनी ल्याउन अनुमति नपाएपछि बजारमा निजी उद्योगीहरूले चिनीको मूल्य बढाउन थालेको छ ।

देशमा वार्षिक रुपमा करिब २ लाख ५० हजार टन चिनीको खपत हुन्छ । यो वर्ष १ लाख ५ हजार टन मात्रै स्वदेशी चिनी उत्पादन भएको उद्योगीहरूले जनाएका छन् ।

एकातिर यो वर्ष उखु उत्पादन कम भएको छ भने अर्कोतर्फ सरकारी कम्पनीले बजार आपूर्तीका लागि अनुमति पाएका छैनन् । यसले गर्दा चाडपर्वमा मूल्य बढ्ने सरोकारवालाहरूको अनुमान छ । हाल बजारमा चिनीको मूल्य ९० देखि ९५ रुपैयाँसम्म बिक्री भइरहेको खुद्रा व्यापार संघका सचिव सिद्धिकुमार कोइराला बताउँछन् । हाल चिनीको मूल्यमा सन्तुलनमा रहेपनि चाडपर्वमा भने बढ्ने उनको अनुमान छ ।

बजारमा अहिले अवस्था सामान्य भएपनि आगामी दिनमा चिनी ल्याउन नसकेकामा निकै बढ्ने कर्पोरेशनका बजार प्रबन्धक प्रधानको बुझाइ छ ।
‘हरेक वर्ष कर्पोरेशनसँग मौज्दात सकिँदै जाँदा निजी क्षेत्रका व्यवसायीले मूल्य बढाउँदै आएका छन्,’ उनले भने, ‘यो वर्ष पनि चिनीको अभाव देखाउँदै मूल्य बढाउने प्रवृत्ति देखिन्छ । त्यस्तै कर्पोरेशनको मौज्दात सकिने वित्तिकै चिनीको मूल्य एक सयभन्दा माथिमा बिक्री हुने उनको अनुमान छ ।

यता अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले भने अब चिनी आयातका लागि स्वीकृति दिने तयारी भइरहेको जानकारी दिए । विगतका दिनमा मन्त्री नहुँदा स्वीकृति दिन केही ढिला भएको हो । तर, अब केही दिनमै स्वीकृति दिने उनको भनाइ छ ।


क्लिकमान्डु