बैंकहरुको प्रतिफल क्षमता १०.२० रुपैयाँले बढ्यो, औषतमा प्रतिसेयर आम्दानी २० रुपैयाँ



काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) कुल १० रुपैयाँ २० पैसाले बढेको छ ।

अघिल्लो आवमा २७ वटा वाणिज्य बैंकहरुको कुल इपीएस ५ सय ३० रुपैयाँ ७० पैसा थियो । जुन गत आवमा आइपुग्दा १० रुपैयाँ २० पैसाले बढेर ५ सय ४० रुपैयाँ ९० पैसा कायम भएको छ ।

साथै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा औषतमा वाणिज्य बैंकहरुको इपीएस ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको औषत इपीएस अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ ६६ पैसा थियो । जुन गत आवमा आइपुग्दा २० रुपैयाँ ०३ पैसा कायम भएको छ ।

सो अवधिमा १७ वटा वाणिज्य बैंकको इपीएस ०.१४ प्रतिशतदेखि ६९.६२ प्रतिशतसम्मले बढेको छ । तर, सोही अवधिमा १० वटा वाणिज्य बैंकको इपीएस भने २.५४ प्रतिशतदेखि ४१.२७ प्रतिशतसम्मले घटेको छ ।

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो लगानीकर्ताका लागि दिइने प्रतिफलको आधार हो ।

कुन बैंकको इपीएस कतिले बढ्यो या घट्यो ?
अघिल्लो आवको तुलनामा १७ वटा वाणिज्य बैंकले प्रतिसेयर आम्दानी गत आवमा बढेको छ । जसमा सबैभन्दा बढी नेपाल बंगलादेश सबैभन्दा कम लक्ष्मी बैंकको इपीएस बढेको छ ।

बंगलादेश बैंकको इपीएस ६९.६२ प्रतिशतले बढ्दा लक्ष्मी बैंकको ०.१४ प्रतिशतले बढेको हो । यस बाहेक ११ वटा बैंकको १० प्रतिशतदेखि ५३.११ प्रतिशतसम्म र ५ वटा बैंकको ५ प्रतिशतभन्दा कमले इपीएस अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा १० वटा बैंकको इपीएस घटेको छ । जसमा सबैभन्दा बढी नेपाल एसबीआई बैंकको र सबैभन्दा कमले कृषि विकास बैंकको इपीएस घटेको छ । नेपाल एसबीआई बैंकको इपीएस ४१.२७ प्रतिशतले घट्दा कृषि विकास बैंकको २.५४ प्रतिशतले घटेको छ ।

यसैगरी, गत आवमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी इपीएस राष्ट्रिय वाणिज्य बैंकको र सबैभन्दा कम सिभिल बैंकको रहेको छ । सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको ४१ रुपैयाँ ३२ पैसा र सिभिल बैंकको ६ रुपैयाँ ४७ पैसा इपीएस छ । साथै, सो बाहेकका बैंकहरुमा ११ वटा बैंकको २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म, १३ वटा बैंकको १० रुपैयाँदेखि माथि २० रुपैयाँसम्म र २ वटा बैंकको १० रुपैयाँभन्दा कम इपीएस रहेको छ ।

f


पुष्प दुलाल