वाणिज्य बैंकहरुको खराब कर्जा ५० अर्बबढी, सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा



काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा ५० अर्ब रुपैयाँ बढी पुगेको छ । ऋणीले समयमै कर्जा नतिर्दा खराब कर्जा एक वर्षमा वाणिज्य बैंकहरुमा २८ करोड ३५ लाख रुपैयाँ थप भएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.७३ प्रतिशत अर्थात् ४९ अर्ब ९२ करोड १० लाख रुपैयाँ थियो ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.३६ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ खराब कर्जा छ ।

अघिल्लो आवको तुलनामा गत आवमा वाणिज्य बैंकहरुको औषतमा खराब कर्जा अनुपात ०.३७ प्रतिशत बिन्दुले घटेपनि खराब कर्जाकोपरिमाण भने २८ करोड ३५ लाख रुपैयाँले थप भएको छ ।

खराब कर्जाको व्यवस्था
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौता अनुसार कर्जा प्रवाह गर्छन् । सम्झौता अनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरेउक्त ऋणलाई खराब कर्जामा राख्नु पर्ने हुन्छ ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएमा त्यसमा जोखिम भएको मानिन्छ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघि एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो ।

जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । जसलाई राष्ट्र बैंकले हाल ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत कायम गरेको छ ।

१ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यदी ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ । साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकहरुमा खराब
नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा थोरै एभरेष्ट बैंकमा छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये सो अवधिमा ५ वटामा ३ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म, १५ वटा बैंकमा १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म र ७ वटामा १ अर्ब रुपैयाँभन्दा थोरै खराब कर्जा छ ।

यसैगरी, अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी खराब कर्जा अनुपात प्रभु बैंकले घटाएको छ । तर, सो अवधिमा ५ वटा वाणिज्य बैंकको भने खराब कर्जा ०.१० प्रतिशत बिन्दुदेखि १.२२ प्रतिशत बिन्दुसम्मले थप भएको छ ।

खराब कर्जा अनुपात बढ्नेमा सिटिजन्स बैंकको १.२२, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.५२, लक्ष्मी बैंकले ०.१७, मेगा बैंकले ०.११, र माछापुच्छ«े बैंकले ०.१० प्रतिशत बिन्दुले अघिल्लो आवको भन्दा गत आवमा खराब कर्जा अनुपात बढाएको छ ।

कुनमा कति खराब कर्जा ?
गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जाको आधारमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकमा छ । साथै, खराब कर्जा बढी हुने दास्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक र तेस्रोमा एनएमबी बैंकमा खराब कर्जाको परिमाण बढी छ ।

राष्ट्रिय वाणिज्य बैंकमा ३.०७ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेण्ट बैंकमा २.४६ प्रतिशत अर्थात् ३ अर्ब ९८ करोड र एनएमबी बैंकमा २.२७ प्रतिशत अर्थात् ३ अर्ब ५४ करोड रुपैयाँ खराब कर्जा छ ।

यसैगरी गत आवको असार मसान्तसम्म प्रवाहित कर्जामा ग्लोबल आइएमई बैंकमा १.४२ प्रतिशत अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ, सिटिजन्समा २.७७ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड, नेपाल बैंकमा २.१० प्रतिशत अर्थात् २ अर्ब ९६ करोड र कृषि विकास बैंकमा १.८४ प्रतिशत अर्थात् २ अर्ब ८१ करोड रुपैयाँ खराब कर्जा रहेको छ ।

साथै, प्रभु बैंकमा १.६८ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड, सिद्धाथमा १.१६ प्रतिशत अर्थात् १ अर्ब ९० करोड, मेगामा १.२६ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड, एनसीसीमा १.७८ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड, प्राइममा १.१९ प्रतिशत अर्थात् १ अर्ब ६८ करोड र बैंक अफ काठमाण्डूमा १.६७ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड रुपैयाँ खराब कर्जा रहेको छ ।

समीक्षा अवधिमा नबिल बैंकमा ०.७८ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड, सेञ्चुरीमा १.९५ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड, कुमारीमा १.०८ प्रतिशत अर्थात् १ अर्ब ५४ करोड, सनराइजमा १.३८ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड, लक्ष्मीमा १.२१ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड र एनआएसी एशिया बैंकमा ०.४६ प्रतिशत अर्थात् १ अर्ब २१ करोड रुपैयाँ खराब कर्जा रहेको छ ।

यस्तै, गत आवको असार मसान्तसम्म प्रवाहित कर्जामा नेपाल बंगलादेश बैंकको १.५५ प्रतिशत अर्थात् १ अर्ब १५ करोड, सिभिल बैंकको १.०५ प्रतिशत अर्थात् ८६ करोड ८९ लाख, माछापुच्छ्रे बैंकको ०.६२ प्रतिशत अर्थात् ७२ करोड ७१ लाख र स्ट्याण्डर्ड चार्टर्डको ०.९६ प्रतिशत अर्थात् ६८ करोड ६१ लाख रुपैयाँ खराब कर्जा छ ।

साथै, सो अवधिमा हिमालयन बैंकको ०.४८ प्रतिशत अर्थात् ६३ करोड ४० लाख, नेपाल एसबीआइमा ०.२३ प्रतिशत अर्थात् २३ करोड ३२ लाख, सानिमा बैंकमा ०.१६ प्रतिशत अर्थात् १९ करोड ६९ लाख रुपैयाँ र एभरेष्ट बैंकमा ०.१२ प्रतिशत अर्थात् १६ करोड २२ लाख रुपैयाँ खराब कर्जा छ ।


क्लिकमान्डु