बैंकका कर्मचारीको बोनस १ अर्ब ६७ करोड, कुन बैंकको कति ?



काठमाडौं । कोरोना कहरबीच पनि वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस २० प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा कर्मचारीले पाउने बोनस गत आवमा १ अर्ब ६७ करोड ९२ लाख रुपैयाँले थप भएको हो ।

सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षकोे नाफाबाट कर्मचारीका लागि १० अर्ब १० करोड ७३ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याइसकेका छन् । अघिल्लो आवको नाफाबाट वाणिज्य बैंकहरुले कर्मचारीलाई आर्जित नाफाबाट ८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ बोनसका लागि छुट्याएका थिए ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये अघिल्लो आवको तुलनामा २१ वटा बैंकले गत आवमा कर्मचारीलाई वितरण गर्ने बोनसमा वृद्धि गरेका छन् । तर, ६ वटा बैंकले भने कर्मचारीलाई छुट्याउने बोनस अघिल्लो आवकोे तुलनामा गत आवमा घटाएका छन् ।

कर्मचारीले पाउने बोनस बढाउने नेपाल बंगलादेश बैंक सबैभन्दा अघि छ । बैंकले अघिल्लो आवको तुलना तुलनामा गत आवमा बोनस रकम ८०.५४ प्रतिशतले बढाएको छ । सो अवधिमा सबैभन्दा कम एनआइसी एशिया बैंकले कर्मचारीले पाउने बोनस रकम ५.७० प्रतिशतले वृद्धि गरेको छ ।

साथै, ६ वटा वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस रकम भने घटेको छ । अघिल्लो आवकोे तुलनामा गत आवमा कर्मचारीले पाउने बोनस रकम घटाउनेमा सिभिल, राष्ट्रिय वाणिज्य, सेञ्चुरी, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआइ बैंक छन् । यी बैंकले कर्मचारीलाई दिने बोनस रकम अघिल्लो आवको तुलनामा ११.८९ प्रतिशतदेखि ३९.०९ प्रतिशतसम्मले गत आवमा घटाएका हुन् ।

कोरोनाको कहरमा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्दा अधिकांश संघसंस्था तथा रोजगार प्रतिष्ठानको नाफा घटेको छ । तर बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा वाणिज्य बैंकहरुको खुद नाफा भने २०.०२ प्रतिशतले वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कर्मचारीले पाउने बोनस रकम समेत वृद्धि भएको हो ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । कर्मचारीले बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस वापत पाउँछन् । साथै, बोनस ऐनअनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ ।

केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैंमा र वार्षिक साधारणसभामा किस्ता/किस्ता गरेर वितरण गर्छन् ।

कर्मचारीको बोनस कुन बैंकको कति ?
गत आवमा आर्जन गरेको नाफाबाट बैंकहरुले कर्मचारीका लागि न्यूनतम ८ करोड ६० लाख रुपैयाँदेखि ७१ करोड ४७ लाख रुपैयाँसम्म बोनसका लागि छुट्याएका छन् ।

जसमा सबैभन्दा बढी नबिल बैंकले ७१ करोड ४७ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ८ करोड ६० लाख रुपैयाँ छुट्याएको हो ।
यसैगरी, गत आवमा आर्जित नाफाबाट कर्मचारीलाई दिने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंकले ६५ करोड २५ लाख रुपैयाँ र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ६१ करोड ३ लाख रुपैयाँ बोनश छुट्याएको छ ।

यसैगरी, अघिल्लो आवको तुलनामा गत आवमा कर्मचारीलाई छुट्याउने बोनसमा ४ वटा बैंकले ५० प्रतिशतभन्दा बढी, १० वटा बैंकले २० देखि ५० प्रतिशतसम्म बोनस रकम वृद्धि गरेका छन् । साथै, ४ वटा बैंकले १० देखि २० प्रतिशतसम्म र ३ वटा बैंकले १० प्रतिशतभन्दा कमले कर्मचारी बोनस रकम वृद्धि गरेका छन् । साथै ६ वटा बैंकको भने बोनस घटेको छ ।


क्लिकमान्डु