प्राधिकरणको नाफा ६८.९४% ले घट्यो, दीर्घकालीन ऋणको ब्याज मात्रै ५ अर्ब



काठमाडौं । अघिल्लो वर्ष झण्डै ११ अर्ब ६८ करोड बराबरको नाफा कमाएको प्राधिकरण ३ अर्ब ५१ करोडमा सीमित भएको छ ।
एक वर्षको बीचमा प्राधिकरणको नेतृत्वले ध्यान दिन नसक्दा नाफामा ठूलो मात्रामा गिरावट आएको भन्दै वार्षिकोत्सवको अवसरमा नेतृत्वको आलोचना समेत भयो ।

आव २०७६/७७ मा ११ अर्ब ६८ करोड बराबरको नाफा गरेको प्राधिकरणले आव २०७७/७८ मा मात्रै ३ अर्ब ५१ करोड नाफा गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा प्राधिकरणको नाफा ६८.९४ प्रतिशतले घटेको छ ।

एकातिर नाफा घटेको छ भने अर्कोतर्फ चुहावट बढेको छ । १ प्रतिशत चुहावट बढ्दा झण्डै ७० करोड बढीको नोक्सानी हुने जानकारहरुको भनाइ छ । यस आधारमा आव २०७७/७८ मा चुहावट मात्रै २ प्रतिशतले बढेको छ । यस आधारमा १ अर्ब ४० करोड बराबरको बिजुली चुहिएर खेर गएको छ ।

यस्तै, देशभित्रका आयोजनाको बिजुली उत्पादन जानाजान घटाइएको छ । माथिल्लो त्रिशुली थ्री ए जस्ता आयोजना लामो समयदेखि बन्द गरेर राखिएको छ । मर्मतको नाममा आयोजना बन्द भएपछि प्राधिकरणको नाफा समेत घटेको छ । एकातिर आयोजना बन्द गर्ने र अर्कोतर्फ भारतबाट बिजुली बढी आयात गर्ने प्रवृत्ति पनि बढेको छ ।

प्राधिकरणको विवरणअनुसार आव २०७६/७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारण देखाएर आवमा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत खरिद गरिएको छ । यस आधारमा झण्डै २३ अर्ब बराबरको बिजुली भारतबाट आयात भएको छ । प्रसारण लाइनको अभावमा निर्माण सम्पन्न भएका आयोजनाले बिजुली जोडन पाएका छैनन् । अर्कोतर्फ भारतबाट बिजुली आयात गर्दा दोहोरो घाटा लागेको छ ।

२०७७ भदौ मसान्तसम्म प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ थिए । उनको कार्यकाल सकिएर बाहिरिए लगत्तै प्राधिकरणको समग्र सिष्टम सही र वस्तुनिष्ठ ढंगले चल्न नसकेको वाषिकोत्सव समारोहमा समेत प्रकट भयो । ऊर्जा मन्त्री पम्फा भुसालले प्रणालीको गति र मति राम्रो नदेखिएपछि आफूले राइट म्यान राइट प्लेसको अवधारणाअनुसार नै पुनः कुलमान घिसिङलाई कार्यकारी निर्देशन बनाएको प्रष्टिकरण दिइन् ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत छ । विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको प्राधिकरणले जनाएको छ । आव २०७६/७७ को तुलनामा विद्युत आयात बढ्न गएकोले आव २०७७÷७८ मा विद्युत् खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ ।

आव २०७७/७८ मा दीर्घकालीन ऋणको व्याज ५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले बृद्धि भई ५ अर्व ३४ करोड पुगेको छ । विदेशी मुद्रा विनिमयतर्फ अघिल्लो वर्ष २२ करोड ८० लाख नोक्सानी व्यहोरेकोमा आव२०७७÷७८ १७ करोड ७८ लाख आम्दानी गरेको छ ।

पूँजीगत कार्यको लगानीमा २६ अर्व ६४ करोडले थप भई आव २०७७÷७८ सम्मको कुल पूँजीगत लगानी रु १ खर्व ४० अर्व ९४ करोड पुगेको छ । उपदान, निवृत्तिभरण, औषधि उपचार खर्च, संचित बिदा जस्ता कर्मचारीको दीर्घकालीन दायित्वको लागि ४ अर्व छुट्टयाइएको छ ।


पुष्प दुलाल