दुबै सदनको चालु अधिवेशन अन्त्य, संसदमा पेश भइसकेको बजेट अध्यादेश अब के हुन्छ ?



काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारबाट दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन् । संसद अधिवेशन अन्त्य भएसँगै सरकारले चालु आर्थिक वर्षको बजेटलाई कसरी पूर्णता दिन्छ र कार्यान्वयन हुन्छ भन्ने विषयमा थप अस्पष्टता देखिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो हप्ता देशको वर्तमान आर्थिक स्थितीबारे जानकारीपत्र (आर्थिक श्वेतपत्र) संसदमा प्रस्तुत गर्दैै प्रतिस्थापन विधेयकबाट चाँडै बजेट संशोधन गर्ने बताएका थिए ।

अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसद पुनस्र्थापना र नयाँ सरकार गठन भएसँगै साउन ३ गते संसदमा पेश भएको थियो । बजेटसम्बन्धी अध्यादेशहरु संसदमा पेश भएपनि हालसम्म १ दिनपनि छलफल भएको थिएन ।

संविधानबमोजिम संसदमा पेश भइसकेको अध्यादेश ६० दिनभित्र पारित नभएमा स्वतः खारेज हुन्छ । यसरी हेर्दा सरकारले संसद अधिवेशन अन्त्य गरेर ६० दिन समय गुजार्ने र नयाँ बजेट ल्याउनका लागि प्रकृया थाल्ने रणनीति लिएको देखिएको छ ।

नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था गरिएको छ । उक्त धारामा व्यवस्था व्यवस्थाअनुसार अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गर्नुपर्छ र दुवै सदनले स्वीकार नगरेमा त्यो निश्कृय हुन्छ । त्यस्तै, अध्यादेश संसदमा पेश भएको ६० दिनभित्र स्वीकृत नभएमा पनि खारेज हुन्छ ।

सरकारले साउन ३ गते विनियोजन अध्यादेश र आर्थिक अध्यादेश संसदमा पेश गरिसकेको छ । यी दुवै अध्यादेशहरु आगामी भदौ ३१ गतेभित्रमा (पेश भएको ६० दिन) पारित भइसक्नुपर्छ । तर सरकारले संसद अधिवेशन अन्त्य गरेर यी अध्यादेशहरु पारित गर्न नखोजेको जस्तो देखिन्छ । अध्यादेशहरु खारेज भएसँगै सरकारलाई पूरक बजेट ल्याउन पनि बाटो खुल्ने भएकाले यो रणनीति अपनाएको हुनसक्ने बुझ्न कठिन छैन ।

पूर्वअर्थसचिव रामेश्वर खनालले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयले राजनीतिक दलहरुमा संसद माथिको विश्वास घट्दै गएको र सरकारले केही समय अघिमात्र जारी गरेको आर्थिक स्वेतपत्रको बिचल्ली भएको प्रतिक्रिया दिएका छन् ।

‘अधिवेशन अन्त्य गरिएछ । संसदमाथि विश्वास भए पो । त्यत्रा विधेयक थन्किए,’ उनले सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘श्वेतपत्रको बिचल्ली, अधिवेशन अन्त्य ।’


क्लिकमान्डु