बैंक/वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकुवाका लागि कार्यविधि बन्दै



काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थालाई घरजग्गा रोक्का तथा फुकवाको लागि निर्देशिका संशोधन गरेसँगै आन्तरिक कार्यको लागि कार्यविधि बनाउने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा एकरुपता ल्याउनका लागि बैंक तथा वित्तीय संस्थालाई रोक्का तथा फुकुवाको लागि छुट्टै कार्यविधि बनाउने भएको हो ।

बैंक तथा वित्तीय संस्थालाई भू–सेवा केन्द्र सञ्चालनको अनुमति दिन विभागले भू–सेवा केन्द्र सञ्चालन निर्देशिकालाई संशोधन गरेको थियो । विभागले ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६’ लाई बैंक तथा वित्तिय तथा सहकारी संस्थालाई भू–सेवा केन्द्र सञ्चालनका लागि अनुमति दिन निर्देशिका संशोधन गरेको हो ।

विभागले संशोधन गरेको निर्देशिका अनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राख्ने प्रक्रियाको लागि मात्रै भू–सेवा केन्द्र सञ्चालन पाउने गरी निर्देशिका संशोधन गरिएको छ ।

जसमा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न स्वीकृत लिएका वाणिज्य, बैंक विकास बैंक, फाइनान्स र माक्रोफाइनान्सले अनलाइनबाट धितोबन्धक रोक्का, फुकुवाको निवेदन फाराम भरी भू–सूचना प्रणालीमा दर्ता पहुँच भएको हुनुपर्नेछ ।

यसअघि कुनै पनि बैंक तथा वित्तीय संस्थालाई रोक्का तथा फुकुवा गर्न सक्ने व्यवस्था थिएन । तर, आगामी दिनमा सो क्षेत्रलाई पनि घरजग्गाको रोक्का तथा फुकुवा गर्न सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ ।

सोही अनुसार विभागले बैंक तथा वित्तीय संस्थालाई अनुमति दिनको लागि आन्तरिक कार्यविधि बनाइरहेको विभागको महानिर्देशक शेषनारायण पौडेलले बताए । विभागले घरजग्गाको कामलाई अझ सहज बनाउनको लागि बैंक तथा वित्तीय संस्थालाई रोक्का तथा फुकुवागर्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।

उनका अनुसार निर्देशिकामा समेट्ने उल्लेख गरेपनि आगामी दिनमा कसरी सेवा प्रवाह गर्ने र सेवालाई एकरुपता ल्याउनको लागि कार्यविधि तयार गरेको हो ।

‘निर्देशिका संशोधन गरेको हुनाले विभागले सेवा प्रवाह गर्ने सफ्टवेयरहरू पनि संशोधन गरेको छ,’ उनले भने, ‘तर, निर्देशिकामा मात्रै नभएर आगामी विवाद नआउनेगरी एक रुपमा ल्याउनका लागि सबै कार्यालयलाई सर्कुलेट गरेर आन्तरिक कार्यविधि बनाउँदै छौं ।’

उक्त कार्यविधि बनाएर सकेसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाले रोक्का तथा फुकुवाको कार्य छिट्टै नै सञ्चालनमा ल्याउने बताए । विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाको एशोसिएशनहरूसँग पनि छलफल गरिसकेको छ ।

मालपोत कार्यालयमा सबैभन्दा बढी रोक्का र फुकुवाको काम हुँदै आएको छ । त्यसैले मालपोत कार्यालयमा अधिकांश भिड रोक्का र फुकुवा गर्ने सेवाग्राही भएकाले भिड कम गर्न सो व्यवस्था गरेको पौडेलको भनाइ छ ।

विभागले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट शुरु हुने जनाएको छ । काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूमा सबैभन्दा बढी जग्गा तथा घर बन्धक राखेर ऋण लिनेको संख्या धेरै हुने गर्दछ । साथै, उक्त बन्धक राखेको घरजग्गाको रोक्का तथा फुकुवाको संख्या अधिक भएकाले पहिलो चरणमा काठमाडौंमा सो व्यवस्था अबलम्बन गर्ने भएको छ ।

‘उपत्यमा सबैभन्दा बढी रोक्का र फुकुवा गर्ने हुन्छ । त्यसैले पहिलो चरणमा उपत्यकाका बैंक तथा वित्तीय संस्थलाई अनुमति दिने भएको छ,’ उनले भने, ‘आगामी अन्य ठूला–ठूला सहरहरूमा उक्त सेवा सञ्चालनमा ल्याउनेछौं ।

विभागले बैंक तथा वित्तीय संस्थाले रोक्का तथा फुकुवाको कार्य सञ्चालनमा ल्याउने वित्तिकै करिब ५० प्रतिशत भिडभाड दाबी गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थालाई पनि सो व्यवस्थाले झन सहज बनाउने विभागको विश्वास छ ।


क्लिकमान्डु