प्रभु बैंकको खातामा मेसिनबाटै पैसा जम्मा गर्न सकिने, कसरी गर्ने प्रयोग ?



काठमाडाैं । तपाईं बैंक तथा वित्तीय संस्थामा लामो लाइन लागेर भौचर भरेर पैसा जम्मा गर्दै आउनु भएको थियो होला ? एकातिर समयको खर्च, अर्कोतर्फ लामा–लामा लाइन ।

यसअघिसम्म तपाईंले एटीएमबाट पैसा झिक्नु मात्रै भएको थियो । राख्नका लागि पनि यस्तै मेसिन भइदिओस् भन्ने तपाईंको चाहना पक्कै पनि थियो होला । धेरैको यस्तै चाहना थियो र छ पनि । तपाईंको यही चाहनालाई अब प्रविधिले सम्बोधन गरिदिएको छ ।

तपाईंले आफूसँग भएको पैसा जम्मा गर्न बैंकमै पुग्नुपर्ने बाध्यता समेत हटेर गएको छ । निजी क्षेत्रको अग्रणी प्रभु बैंकले मेसिनबाटै पैसा राख्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । यसको शुरुवातसँगै लामो समयसम्म बैंकको काउण्टरमा लाइन लागेर पैसा जम्मा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको क्यास डिपोजिट मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम) को प्रयोगबाट ग्राहकले काउन्टरमै नगएर नै चाहेको खातामा पैसा जम्मा गर्न सक्ने भएका छन् ।

बैंकले यही साउन २२ गतदेखि आफूले चाहेको बैंकमा मेसिनबाटै पैसा राख्न सक्ने क्यास रिसाइकल मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ । हाल प्रभु बैंकका ग्राहकले मात्रै बैंककै खातामा पैसा जम्मा गर्न सक्ने भएपनि एक महिनाभित्रै अन्तर बैंक डिपोजिटको सुविधा उपलब्ध गराउने तयारीमा रहेको बैंकको चिफ अपरेटिङ अफिसर रश्मी पन्तले जानकारी दिइन् ।

नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) मा आवद्ध सबै बैंकहरुलाई सीआरएममा आवद्ध गराएर अन्तर बैंक क्यास डिपोजिटको सुविधा दिइने उनको भनाइ छ ।

रश्मी पन्त, चिफ अपरेटिङ अफिसर, प्रभु बैंक

‘हामीले विगत १ वर्षअघिदेखि नै एनसीएचएलमा यसको परीक्षण गराइरहेका थियौं भने विगत २/३ महिना बैंककै स्टाफबाट कारोबार गरायौं,’ पन्तले क्लिकमाण्डूसँग भनिन्, ‘परीक्षण सफल भएपछि ग्राहकको सुविधाका लागि पनि शुरु गरिएको हो । हाल प्रभु बैंककै ग्राहकले आफनो खातामा मेसिनमार्फत् क्यास डिपोजिट गर्न सक्नु हुन्छ तर, एक महिनाभित्रै नेप्समा आवद्ध सबै बैंकमा अन्तर बैंक कारोबार हुने व्यवस्था हुन्छ ।’
जसरीे नेटवर्कभित्रका जुनसुकै बैंकको एटीएमबाट पनि अन्य बैंकको एटीएम प्रयोग गरी पैसा झिक्न सकिन्छ । त्यसैगरी, नेप्स नेटवर्कभित्र भएका बैंकहरुको ग्राहकले आवद्ध बैंकहरुको खातामा पैसा जम्मा गर्न सकिने उनको भनाइ छ ।

कोरोना संक्रमणको कारण बैंकको काउन्टरमा हुने भिडमा पनि जोखिम उच्च हुन्छ । अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रयोगमा आइसकेको प्रविधिलाई नेपाल भित्र्याउँदै पैसा भिक्न र डिपोजिट गर्न सकिने सीआरएम मेसिन प्रयोगमा ल्याइएको उनको भनाइ छ ।

झट्ट हेर्दा एटीएम मेशिन जस्तै देखिने उक्त सीआरएम मेशिनले एटीएम र क्यास डिपोजिट काउन्टर दुबैको काम गर्छ । यतिमात्र नभएर डेबिट र क्रेडिट कार्डमार्फत् पनि मोसिनबाट खातामा पैसा जम्मा गर्न सकिने सुविधा छ ।

अहिले थोरै परिमाणमा रकम झिक्नका लागि चेक वा पैसा बोकेर बैंकको काउन्टरमा लाइन बस्ने ग्राहक नगन्य पाइन्छ । तर ५/१० हजार रुपैयाँ बोकेर घण्टौं लाइनमा बसेर डिपोजिट गर्ने ग्राहक भने सबै बैंक तथा वित्तीय संस्थाका क्यास काउन्टरमा दैनिक हुन्छन् नै ।

योसँगै प्रभु बैंकका सेवाग्राहीले पैसा जम्मा गर्न बैंकमा फारम भरेर लामो लाइन बसेर समय खर्चिनु पर्ने बाध्यता हटेर गएको छ । तत्काल एक पटकमा ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ग्राहकले पैसा डिपोजिट गर्न सक्नेछन् । मेशिनको क्षमता भने १० लाख रुपैयाँसम्मको रहेको उनले जानकारी दिइन् । तर उक्त मेशिनमा भने ५ सय र १ हजार दरका नोटमात्र डिपोजिट गर्न सकिन्छ ।

‘एक महिनाभित्रै राष्ट्र बैंकले जारी गरेका सबैदरका नोटहरु जम्मा गर्न सकिने र रकमको सीमा समेत बढाउने तयारी भइरहेको छ,’ उनले थपिन्, ‘सबै दरका नोट जम्मा गर्न पाउने सुविधा थप भएपछि १ वर्षभित्रैमा राजधानी बाहेकका ग्राहकको बढी भिड हुने शाखामा मेसिन राख्ने तयारी गरेका छौँ,’ पन्तले भनिन्, ‘डिजिटल प्रविधिले फड्को मार्दै गएको अहिलेको अवस्थामा बैंकले शुरु गरेको मेसिनबाटै क्यास डिपोजिटले युवा पुस्तालाई बढी आकर्षित गरेको छ ।’

विषेश गरी सेयर बजारमा लगानी गर्ने साना लगानीकर्ताहरु र युवा पुस्ताले उक्त मेसिन प्रयोगमा बढी चासो देखाएको उनले जानकारी दिइन् ।

‘कतिपय सेयर लगानीकर्ता १०/१५ हजार रुपैयाँ डिपोजिट गर्न घण्टौ लाइन बस्नु पर्छ, त्यस्ता लगानीकर्ता र युवा पुस्ताका विद्यार्थीहरुले सानो परिमाणमा रकम जम्मा गर्नका लागि काउन्टरमा धेरै समय खर्चिनु भन्दा मेसिनको प्रयोगमा आकर्षित भएका देखिन्छ,’ पन्तले भनिन् ।

क्यास डिपोजिट मेसिनको प्रयोग
क्यास डिपोजिट मेसिन क्यास रिसाइकल मेशिन (सीआरएम) एटिएम जस्तै छ । जसको मद्दतले कुनै पनि बैंकको खाताबाट तत्काल पैसा निकाले झैं तत्काल पैसा जम्मा गर्न सकिन्छ ।

रकम जम्मा गर्दा ग्राहकले पैसा जम्मा गर्न चाहेको खाता नम्बर टाइप गरेपछि पैसा डिपोजिट गर्ने बक्स ओपन हुन्छ । जसमा ५ सय र १ हजार दरका १ लाख रुपैयाँसम्म एक पटकमा रकम राख्न सकिन्छ । रकम राखेपनि पैसा र खाता नम्बर स्क्रिनमा देखिन्छ । त्यो सही या गलत भएको यकिन ग्राहकले आफै गर्नुपर्छ ।

बक्समा राखिएको रकम रियल टाइम नै खातामा जम्मा हुन्छ भने खातामा रकम जम्मा भएपछि खातावालाको मोबाइलमा नोटिफिकेशन आउँछ र मेसिनबाट भौचर प्रिन्ट हुन्छ ।

कार्डबाट पनि पैसा जम्मा सकिन्छ
मेसिनबाट डेबिट र क्रेडिट कार्डको माध्यमबाट पनि पैसा जम्मा गर्न सकिने सुविधा छ । उक्त मेशिनमा आफ्नो डेबिट र क्रेडिट कार्डको नम्बर राख्नु पर्ने हुन्छ । त्यसपछि पैसा जम्मा गर्नु चाहेको खाता नम्बर र रकमको परिमाण उल्लेख गर्नु पर्ने हुन्छ । मेशिनमा राखिएको कार्डको नम्बर, पैसा जम्मा गर्न चाहेको खाता नम्बर र रकम रिचेकका लागि मेसिनले अनुरोध गर्छ । विवरण ठीक भएमा ग्राहकले कन्र्फम गरेर डिपोजिट मेशिनको मद्दतले अन्य खातामा पैसा राख्न सक्छन् ।
मेसिमा रकम राख्न निक्षेपकर्ता आफैले सक्ने भएकाले यसलाई सेल्फ सर्भिस डिपोजिट पनि भनिने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको २ वर्ष अघिको लक्ष्य प्रभुले पूरा गर्यो
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालको सपना प्रभु बैंकले साकार गरेको छ । बैंकले मेसिनबाटै पैसा डिपोजिट गर्न सकिने प्रविधि नेपाल भित्र्याई प्रयोगमा ल्याएर उनको सपना २ वर्षपछि साकार गरेको हो ।

आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गर्दै डा. नेपालले भनेका थिए ‘एटीएम मेसिनबाट पैसा झिक्न त हामी सबै अभ्यस्त छौं तर, यस्तै खालको मेशिनबाट बैंकमा पैसा जम्मा गर्न पनि सकिन्छ भन्ने चाहीँ कमैलाई थाहा छ । अब नेपालमा पनि यस्तो मेशिन प्रयोगमा ल्याउन लागिएको छ ।’

तत्कालिन गभर्नर नेपालले उक्त आवको मौद्रिक नीतिमा क्यास डिपोजिट मेसिन (सीडीएम) मार्फत खातामा निक्षेप जम्मा गर्न सकिने व्यवस्था मिलाइने उल्लेख गरेका थिए । उनको उक्त लक्ष्यलाई प्रभु बैंकले विगत १ वर्षअघिदेखि प्रयास गरी यही साउन २२ गतेदेखि सफल बनाएको हो ।


क्लिकमान्डु